site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन व्यवसायी भन्छन्– समयमै सचेत बनौं
फाइल तस्बिर

काठमाडौं । दक्षिण अफ्रिकालगायत अफ्रिकी मुलुकहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि त्यसले विश्वलाई त्रसित बनाएको छ । सन् २०१९ मा चीनबाट फैलिएको कोरोना संक्रमणले विश्वको अर्थतन्त्रमा ठूलो असर पार्यो ।  पछिल्ला दिनमा यसको संक्रमण दर घट्दै गएको विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको थियो । तर, पुनः नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकालगायत देशमा देखिएपछि विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ ।
 
नेपाल सरकारले पनि दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएपछि समयमा यसबारे जानकारी दिन र सुरक्षा उपाय अवलम्बन गर्न पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् ।
 
नयाँ भेरियन्ट ओमिक्रोन कस्तो खालको हो र यसले कत्तिको असर पारेको छ भन्ने विषयमा समयमा जानकारी गराएर सचेत बन्नुपर्ने व्यवसायी बताउँछन् । होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह पर्यटन क्षेत्र साना–साना घटनाले पनि प्रभावित हुने भएकाले तेस्रो भेरियन्टले नेपाल मात्रै नभई विश्वलाई नै आक्रान्त पार्न सक्ने बताउँछन् । तर, यो कस्तो खालको भेरियन्ट हो, कत्तिको असर पारिरहेको छ भन्ने विस्तृत जानकारी नआएकाले यसको अवस्था र असर कस्तो हो भन्ने विषयमा स्पष्ट पार्नुपर्ने उनले बताए । “अहिले देखिएको ओमिक्रोन भेरियन्टको इपीसेन्टर जहाँ हो, त्यहाँ संक्रमितहरु अस्पताल भर्ना नै हुनुपरेको छैन भन्ने समाचारहरु पनि आइरहेका छन्, यस्ता विषयमा सरकारले जतिसक्दो छिटो यसको अवस्थाको बारेमा जानकारी गराउनुपर्छ । यसबाट यसरी बच्नुपर्छ भन्ने विषयमा सम्बन्धित निकायले जति सक्दो छिटो भनिदिनुपर्छ । नत्र, मानिसहरुमा ‘स्पेकुलेसन’ हुन्छ । त्यसले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई प्रभावित पार्छ,” उनले भने । 

उनले यदि यो भेरियन्ट नेपालमा पनि फैलियो भने यसबाट सुरक्षित हुने उपाय कसरी अपनाउने भन्ने विषयमा पनि नियामक निकायले अहिलेदेखि नै सजगता अपनाउनुपर्ने पनि बताए । “होटेल, रेष्टुरेन्टले पहिलेदेखि नै सुरक्षाका मापदण्ड पालना गरिरहेकै छन्, त्यसैलाई अझै कडाइका साथ पालना गर्नुपर्छ । हामी व्यवसायीहरु पनि सुरक्षा मापदण्डप्रति प्रतिबद्ध हुनुपर्छ” उनले भने, “त्यसैले यसको अवस्था के हो भन्ने सूचना सम्बन्धित निकायले भनिदिनुपर्यो । त्यसबाट बच्नका लागि मापदण्ड पूर्ण पालनासँगै कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न सहज हुन्छ ।” 

उनका अनुसार अलिहे कोभिड–१९ विरुद्ध पूर्ण मात्रा खोप लगाइसकेकाहरु बाहिर निस्कन थालेका छन् । चितवन, पोखरा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय क्षेत्रमा राम्रै चहलपहल रहेको उनले बताए । तर, यो चहलपहल शुक्रबार र शनिबारको दिनमा मात्रै छ । तेस्रो भेरियन्टको विषयमा समयमै सही सूचना नदिने हो भने आन्तरिक बजार पनि प्रभावित हुन सक्ने उनको भनाइ छ । 

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी नयाँ भेरियन्ट पर्यटन क्षेत्रलाई नै प्रभावित गर्ने खालको हो भने समयमै सचेत बन्नुपर्ने बताउँछन् । “फेरी पनि पर्यटन उद्योग समस्यामा पर्यो भने यो क्षेत्र ध्वस्त हुन्छ । त्यसैले सरकार नै होसियार हुनुपर्ने देखिन्छ” उनले भने, “भारततर्फ खुला सिमाना भएका कारणले समस्या आउँछ की भन्ने पनि छ । त्यसैले सिमाना एवं उडानलगायत विषयमा सरकारले समयमै निर्णय गर्नुपर्छ । नियन्त्रण र अनुगमन गर्ने संयन्त्र सरकार नै भएकाले हामीसँग विकल्प छैन । सरकारले समयमै होसियार हुन जरुरी छ ।” 
 
उनले पर्यटकलाई नेपाल प्रवेश नै गर्न नदिने वातावरण भने सिर्जना हुन दिन नहुनेमा जोड दिए । “त्यसले अर्को सन्देश दिन्छ तर यसबाट बच्नका लागि कस्तो खालको सुरक्षाको पालना गर्नुपर्ने हो, स्वास्थ्य मन्त्रालयले त्यसलाई अगाडि बढाउनुपर्छ ।” 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष अच्यूत गुरागाईं भने पर्यटन क्षेत्रलाई बचाउने हो भने नियमित उडान रोक्न नहुने र पूर्ण मात्रामा खोप लगाएकालाई आउन दिनुपर्ने बताउँछन् । नियमित उडान बन्द गर्नेतर्फ लाग्ने हो भने पर्यटन क्षेत्र ‘खतम’ हुने उनले बताए । “तर, सुरक्षाका उपाय भने अवलम्बन गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले जारी गर्ने नयाँ स्वास्थ्य सुरक्षा उपायको पूर्ण पालना गर्नुपर्छ ।” 

उनले नियमित उडान हटाएर पुनः चार्टर्ड उडानको नाममा ‘लुट’ हुन सक्ने भन्दै सचेत बन्न पनि आग्रह गरे । “यात्रुको संख्या कम छ भने त्यही अनुसार नियमित उडान संख्या घटाउँदा हुन्छ तर उडान नै रोक्न भने हुँदैन । सेड्यूअल फ्लाइट बन्द गरेर फेरी चार्टड उडानको नाममा ‘लुट’ गर्न दिन हुँदैन” उनले भने ।  

कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएकालाई पनि नयाँ भेरियन्टको संक्रमण हुन सक्ने भएकाले पूर्ण मात्राको खोप लगाएकालाई ‘बुस्टर डोज’ लगाउन उनको माग छ । 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी तेस्रो भेरियन्टले जोखिम बढाएको बताए । यसबाट बच्नका लागि सुरक्षाका मापदण्ड पालनामा कडाई नै हुनुपर्ने उनले बताए । “अफ्रिकी मुलुकहरुबाट आउने उडानलाई धेरै देशहरुले रोकिसेकका छन् । हामीले पनि घोषणा त गरेका छौं तर प्रभावकारी रुपमा पालना भएको छैन । प्रभावकारी पालना हुनुपर्छ,” उनले भने, “कोरोना संक्रमतिको संख्या घट्नु भनेको हट्नु हो जस्तो लिइरहेका छौं, त्यसरी लिन हुँदैन । सुरक्षाका मापदण्डहरुलाई कडाइका साथ पालना गर्नुपर्छ ।”

अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन नदिन र सुरक्षाको मापदण्ड पालना गर्दै विदेशी पर्यटक आउन दिन हाम्रो मुलुकले स्वास्थ्य मापदण्ड पालना गराएको विषयमा पर्यटक स्रोत मुलुकहरुलाई जानकारी गराउनुपर्ने उनले बताए । “हाम्रो संचार प्रभावकारी हुन सकिरहेको छैन । प्रभावकारी रुपमा सूचना प्रवाह नगर्दा त्यहाँ हाम्रोबारे राम्रो सूचना छैन । सुरक्षित छैन भन्ने सन्देश जान सक्छ, त्यसैले पनि प्रभावकारी रुपमा जानकारी गराइरहनुपर्छ ।” 

आगामी दिनमा नयाँ भेरियन्टबाट बच्दै पर्यटन क्षेत्रमा चलायमान बनाइराख्न मापदण्डको कडा पालनासहित त्यसको विषयमा पर्यटन स्रोत मुलुकहरुलाई प्रभावकारी रुपमा जानकारी दिने, खोप कार्यक्रम अगाडि बढाउने र यही संकटको बेलामा पनि कहाँबाट पर्यटक ल्याउन सक्छौं भन्ने रणनीति बनाएर काम गर्नुपर्ने उनले बताए । “यी विषयहरुमा ध्यान दिने हो भने केही न केही मात्रामा पर्यटनलाई चलायमान बनाउन सकिन्छ,” उनले भने ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro