नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी अपेक्षाकृत उत्साहवर्धक देखिए पनि देशको प्रधानमन्त्री रहेका पार्टी सभापति र गृहमन्त्री रहेका प्रभावशाली नेताकै गृह जिल्लामा भने महाधिवेशनको तयारी विवाद मुक्त हुनसकेन । दुवै जिल्लाका असन्तुष्ट नेता कार्यकर्ताले पार्टीको आन्तरिक निर्वाचनमा हस्तक्षेप गरिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डँडेलधुराका निवर्तमान सभापतिलगायतका नेता कार्यकर्ता पार्टी मुख्यालयमा रिले अनशनमा छन् । गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा पार्टी अधिवेशनका क्रममा प्रहरीले हस्तक्षेप गरेको समाचार सार्वजनिक भइसकेको छ ।
एकातिर कांग्रेसको विभिन्न तहमा नयाँ युवा अनुहारको उत्साहवर्धक उपस्थिति देखिएको छ । युवा अनुहारप्रति सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा निकै आकर्षण व्यक्त गरिएको छ । अर्कातिर सभापति र गृहमन्त्रीकै जिल्लामा भने लाजमर्दो हस्तक्षेप भएको छ ।
गृहमन्त्रीको निर्वाचन क्षेत्रमा त संस्थापन इतर समूहले असुरक्षाको विषय उठाएपछि सोमवार मतदान नै स्थगित गरियो । देशको शान्तिसुरक्षाको जिम्मा लिएका गृहमन्त्रीप्रति आफ्नै पार्टीका नेता कार्यकर्ताले यसरी अविश्वास चिन्ताको विषय हो ।
यस्ता सानातिना घटनाबाट पनि पार्टीको छवि त धमिलिन्छ नै महाधिवेशन नै पनि निष्पक्ष र धाँधलीरहित हुनेमा शङ्का उत्पन्न हुन्छ । नेपाली कांग्रेसजस्तो गौरवशाली इतिहास भएका दलका नेताहरूका लागि यस्तो विवादमा पर्नु शोभनीय होइन ।
पार्टीको तल्ला अधिवेशनमै यसरी हस्तक्षेप भएको हो भने महाधिवेशनमा सत्ताको चरम दुरुपयोग हुने सन्देह उत्पन्न हुन्छ । त्यसले स्थानीय तह र संसदीय निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने जोखिम बढाउँछ । यसैले कुनै पनि तहको वा संस्थाको चुनावमा राज्यको हस्तक्षेप नहुने प्रत्याभूति आवश्यक हुन्छ ।
केही नेता कार्यकर्तालाई प्रक्रियामा सहभागी हुनैबाट वञ्चित गरेर हासिल गरेको जितले क्षणिक सन्तुष्टि दिए पनि संस्था वा व्यक्ति कसैको दीर्घकालीन हित हुँदैन । यसैले प्रधानमन्त्री देउवाले स्थितिको समग्र जानकारी लिएर पार्टीको आन्तरिक राजनीतिमा सत्ताको दुरुपयोग नगरिने सुनिश्चित गर्नुपर्छ । आफ्नै पार्टीका कार्यकर्तालाई आश्वस्त पार्न नसके अरूले पनि विश्वास गर्नेछैनन् ।