काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरे पनि मिलानले गए राति फियोरेन्टिनालाई ४–३ को नतिजा सुम्पिँदा इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
फियोरेन्टिना भ्रमणमा निस्केको मिलानले ६० मिनेट नबित्दै तीन गोल खाइसकेको थियो । घरेलु टोली फियोरेन्टिनाले १५औँ मिनेटमा अलफ्रेड डुनकानको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा रिकार्डो सापोनाराले अग्रता दोब्बर बनाए । ६०औँ मिनेटमा डुसान भ्लाहोभिचले तेस्रो गोल गरेका थिए ।
६२औँ मिनेटमा इब्राहिमोभिचको गोलबाट मिलानले पुनरागमनको प्रयास गरेको थियो । त्यसको पाँच मिनेट नबित्दै इब्राहिमोभिचले अर्को गोल गर्दै अन्तर कम गरेका थिए । तर, ८५औँ मिनेटमा फियोरेन्टिनाका भ्लाहोभिचले व्यक्तिगत दोस्रो गोल थपेपछि फियोरेन्टिना सहज स्थितिमा पुगेको थियो । इन्ज्युरी सयममा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरे पनि मिलानलाई पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो ।
पराजित मिलान १३ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको नापोलीसँग अंक बराबरी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा सात अंकले माथि हो । यद्यपि, मिलानले एक खेल बढी खेलेको छ । विजयी फयोरेन्टिना २१ अंकका साथ छैटौँ स्थानमा छ ।
युभेन्टस २–० लाजियो
गए राति नै युभेन्टसले लाजियोमाथि २–० को विजय हासिल गरेको छ । लाजियो भ्रमणमा युभेन्टसको जितका लागि दुवै गोल लियोनार्दो बोनुचीले गरे । २३औँ मिनेटमा पहिलो गोल गरेका बोनुचीले ८३औँ मिनेटमा पेनाल्टीमा अर्को गोल थपेका थिए ।
जितपछि १३ खेलबाट २१ अंक जोडेको युभेन्टस सातौँ स्थानमा उक्लिएको छ । समान २१ अंकको लाजियो पाँचौँ स्थानमा छ ।
गए राति नै एटलान्टाले स्पेजियामाथि ५–२ को विजय हासिल गर्यो । जितपछि १३ खेलबाट २५ अंक जोडेको एटलान्टा चौथो स्थानमा छ । पराजित स्पेजिया ११ अंकका साथ १६औँ स्थानमा छ ।