जलजलेबाट काठमाडौंतिर पाइला सोझ्याउने तरखर गरिरहँदा क्षितिजभित्रबाट भर्खरभर्खर बर्काे उघारेर खोकिलामा उज्यालो च्यापेकी धरती मुस्कुराइरहेको अनुभूति हुन्छ । पूर्वी क्षितिज राताम्मे देखिए पनि धराको पोल्टामा घामका छिटा अझै खसिसकेका छैनन् । नजिकैका सिमल र बाँसका झाङमा चिरबिराइरहेका चराहरूका आवाजले धेरैका निद्रा खलबल्याइसकेको अनुमान गर्न कठिन पर्दैन ।
दूरदराजका मानव बस्तीबाट आएका बेलगामी स्वरहरूले समयलाई गतिशील तुल्याउन भरमग्दुर प्रयत्न गरिरहेको आभास हुन्छ । उदयपुरको आकाश र धरतीसँग बेलामौकामा आँखा जुधिरहेछन् । तथापि, न ऊ न त हामी नै परिचय साटासाटको मुडमा छौँ । बेलामौकामा नयनहरू एकापसमा जुध्न भने छाडेका छैनन् ।
यथास्थानमा तम्तयार छौँ हामी । अघि नै देखि गाडीको प्रतीक्षा भइरहेछ । हिजै टुंगो लागिसकेका कारण समयमै आइपुग्नेमा विश्वस्त छौँ । तर, समयले नेटो काटिसक्दा पनि ऊ आइपुगेको छैन । मन अमिल्याएर जलजलेको आकाशमुनि आफूलाई भुल्याइरहेछौँ । उसले समयको ख्याल गरिदिएको भए यतिखेर अघि नै लागिसकेका हुने थियौँ गन्तव्यतिर । तर, समय पार भइसक्दा पनि व्यग्र प्रतीक्षामा उभिएको उभियै छाैँ । बाटोतिरै एकाकार भएका छन् आँखा ।
हामी अर्थात् नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, वियोगी बुढाथोकी, नवराज पुडासैनी, लक्ष्मी भट्टराई र म अर्थात् नवराज रिजाल । आज उदयपुरमा पाइला राखेको तेस्रो दिन । स्थानीय साहित्यिक पत्रिका उदयमञ्जरी र संगम अभियानले आमन्त्रण पस्क्यो । अर्थात्, उदयपुरमा निम्त्यायो । यतिखेर निम्ता मानेर उदयपुर छाड्ने तरखर भइरहेछ । स्थानीय आयोजकहरूसँग हिजै बिदाबारी भइसकेका छाैँ ।
सदरमुकाम गाईघाट बजारबाट झन्डै सात किलोमिटरको दूरीमा छ यो स्थान । आतिथ्यता उदयपुर सिमेन्ट उद्योगले पस्क्यो । बसाइको क्रममा उद्योगसम्बन्धी प्रत्येक जिज्ञासाका एक–एक उत्तर पस्के प्रमुख सुरेन्द्र पौडेलले । केही गरौँ र गरे सकिन्छ भन्ने सोचका उनले आफू आएपछि उद्योगलाई नयाँ दिशा पनि दिए । सबैतिरबाट आफ्नो जिम्मेवारी यथासमयमा पूरा गरिदिने हो भने हरेक काम सफलताका साथ पूरा हुन्छन् वा लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण यो पनि हो भन्ने निष्कर्ष हाम्रो टोली एकसाथ निकाल्छ ।
उद्योगले गरेको प्रगति पत्रपत्रिकामा पढेको आधारमा उनले भने, “सकारात्मक सोच र चिन्तनले अगाडि बढ्दा काम गर्न सकिँदो रहेछ । मैले मिहिनेत गरेँ । साथीहरूले सघाउनुभयो । चुहावट रोक्यौँ । जथाभावी खर्च गर्न दिएनौँ । त्यसैले आजको स्थितिमा आयौँ । परिस्थिति बुझेर पाइला बढाउने हो भने सफलता पाइँदो रहेछ ।”
अकस्मात् मन तरंगमा लडीबुडी गर्न थाल्छ । सबैले यथास्थानबाट इमानदारीपूर्वक काम गरिदिने हो भने किन जान्थे र हाम्रा उद्योगधन्दा घाटामा ? योजनाबद्ध रूपमा घाटामा लैजाने अनि बेच्ने नियतले काम हुने गरेको छ हामीकहाँ । सरकारले चलाउँदा सधैँ घाटाको घाटामै जाने तर निजीलाई बिक्री गरेपछि नाफामा जाने कुराले बदमासीको संकेत गर्छ ।
खराब आचरण र कुनियतका कारण उद्योगधन्दाले प्रगति गर्न नसकेका हुन् । मूल धमिलो भएपछि खोलानाला सङ्लो हुने कुरै भएन । व्यक्तिवादी सोचले मनमस्तिष्कमा डेरा जमाएपछि हुने परिणति त्यस्तै हुन्छ । असल सोचले काम गर्न छाडेपछि विचार भाैँतारिन्छ, मूल्य–मान्यता कहिल्यै गतिशील बन्न सक्दैनन् ।
प्रत्येकको जीवनमा सकारात्मक चिन्तनको मुख्य भूमिका हुन्छ । न कसैलाई बाटो देखाउँछ न त विश्वासको पोखरीमा पौडन प्रेरित गर्दछ । संसारमै सकारात्मक सोच बोक्नेहरूको संख्या सानो छ । अर्थात्, धेरैतिर नकारपन्थीहरूको बहुलता छ । हामी पनि त्यही खोकिलोभित्र पर्छाैँ । ठिक उल्टो छ परिस्थिति । यसैले हाम्रा पाइला अपेक्षित अगाडि बढ्न नसकेका हुन् ।
तीन–तीन प्रधानमन्त्रीसँग समन्वय गर्दै के कसरी काम गरे, त्यो पनि सुनाए उनले । अन्यत्र कामविशेषले पुगेकाहरू समेत अतिथिगृहमा बस्न किन र कसरी आउँथे अनि त्यो प्रचलन हटाउन के–के गर्नुपर्यो, बेलिबिस्तार लगाउन पनि चुकेनन् ।
साँच्चै सकारात्मक सोच र केही गरौँ भन्ने विचारका रहेछन् उनी । सबैले यसैगरी इमानदारीका साथ काम गरिदिने हो भने कस्तो हुन्थ्यो होला ? मनमा प्रश्नहरू उब्जे । “अझै राम्रो गर्ने सोचमा छौँ,” उनले हाँस्दै थपे । “राम्रोका लागि धेरैको हात र साथ चाहिन्छ । त्यो मैले पाएको छु,” सुनाए ।
२०७४ फागुन २४ अर्थात् अस्तिको मध्य दिनदेखि हिजो बेलुकासम्म हाम्रो समय व्यस्ततामै बित्यो । नेपाल साहित्यिक पत्रकार संघ उदयपुर शाखाको गठनदेखि दुई स्थानीय कलेज त्रियुगा–जनता र बरुवा तथा संगम पुस्तकालयका कार्यक्रमहरूले व्यस्त बनाएका हुन् हामीलाई ।
अनि, उदयपुरे स्रष्टाहरू राममणि पोखरेल, माधवप्रसाद पोखरेल ‘गोज्याङ्ग्रे’, पुण्य कार्की र दुर्गा काफ्लेका परिवारका सदस्यहरूसँग उहाँहरूकै घरमा भेटघाट र भलाकुसारीमा सरिक हुँदै रमाउन तथा आत्मीयता साट्न भ्यायो, हाम्रो टोलीले । विगत–वर्तमान पढ्ने सिलसिलामा विचार र विश्वासमा आस्थाको फूल रोपेर मुस्कुरायौँ । आस्था, अठोट र चिन्तन मज्जैले देखायो ।
न पहाड न त तराई, दुवैको सान्निध्य पाएको रहेछ गाईघाटले । मानिसहरूको मिश्रित बसोबास । खानपान, हिँड्डुल, उठबस र रहनसहनमा समेत सम्मिश्रण । योजनासहितको बस्ती र चौँडा सडकले महानगरपालिका र उपमहानगरपालिका भइसकेका देशका कतिपय स्वनामधन्य स्थानहरूले समेत गाईघाटसँग सिक्ने कुराहरू धेरै रहेछन् भन्ने लाग्छ ।
गाईघाटको बस्ती विकासले नगरविकासमा कहिल्यै अवरोध पुर्याउँदैन । आहा ! महानगर र उपमहानगर आँखामा क्रमशः उपस्थित बन्दै जान्छन् । छातीभित्र प्रतिबिम्बित चित्रहरूलाई क्रमशः मेटाउँदै जान्छु ।
साहित्यकार राममणि पोखरेलका भनाइमा गाईघाट त्रियुगा नगरपालिकाभित्रको सहर हो । रौतापोखरी मुहान भएको त्रियुगा नदीको नाममा नामांकन गरिएको हो नगरपालिका । २०२८ देखि गाईघाटले उदयपुरको सदरमुकाम बन्ने अवसर भेटेछ । त्यसभन्दा अघि सदरमुकाम उदयपुरगढी रहेछ ।
पृथ्वीनारायणको एकीकरणअघि उदयपुर चौदण्डी राज्यको सीमानाभित्र पर्दो रहेछ । एकीकरण अभियानमा विजयपुरअगावै चौदण्डी एकीकृत भएछ । धरानलाई हेटौँडासँग जोड्ने अभियानमा रहेको मदन भण्डारी वैकल्पिक मार्गले गाईघाटलाई आफूमा समाहित गरेको छ । नेपालको संविधान २०७२ को परिकल्पनाअनुसार प्रदेश–१ मा रहेकोे उदयपुर पञ्चायतकालमा सगरमाथा अञ्चलका जिल्लाहरूमध्ये एक रहेछ ।
“लौ आइपुग्यो गाडी, पहिले हुटमा आ–आफ्ना झोला राखौँ,” मोहन दाइको आवाजले मेरो कल्पनाको तरंग झ्वाट्ट चुँडिन्छ । झल्याँस्स हुन्छु । साँच्चै विचारको तानमा लडीबुडी खेलिरहेको पो रहेछु त म । गाडी अगाडि उभिइसकेछ । ड्राइभर हुटमा झोला मिलाउँदै छन् । साथीहरू कोही बसिसक्नुभएको छ त कोही बस्ने सुरसारमा हुनुहुन्छ ।
हिजोअस्तिको कुरामा चुर्लुम्म डुबेको रहेछु । उदयपुरको सेरोफेरो तथा विगत र वर्तमानबारे कुराकानी भएका थिए । मेरो जिज्ञासा राममणिजीले मेटाइदिनुभएको थियो । जिज्ञासाले उत्तर पाएकामा खुसी थिएँ । गाडी कुर्दाकुर्दैको क्षणमा समेत ती तरंगित बनेर आएछन् । गाडी गुड्नै लाग्दा गाईघाटतिर फर्केर उसलाई बाइबाई गर्छु । मेरो हात हल्लिरहँदा ठाडो पुच्छर लगाएर गाडी कदमाहातिर कुद्न थाली पो हाल्छ त ।
गतिशील प्राणी हो मानिस । त्यसकै कारणले आजको स्थितिसम्म आइपुगेका हौँ । गतिशील हुँदैनथ्यो भने ऊ जस्ताको त्यस्तै रहिरहन्थ्यो । संसारमा उसको आजको रजगज देख्न सकिँदैनथ्यो । विश्व आज जे जसरी जहाँ पुगेको छ, त्यो सबै मानिसकै कारणले हो । हुन त उसको अवस्था सबैतिर एकैनासको छैन । कोही अगाडि बढिसकेका पनि छन् त कोही पछाडि छाडिएका छन् ।
कोही बीचमा छन् । कोही अझै पछाडि छन् । कोही लडेका छन् । कोही उठेका छन् । कोही भर्खर तंग्रिएर हिँड्ने सुरसारमा छन् । क्रम चलिरहेछ । सबैको गति एकै खालको नभएकाले यस्तो भएको हो । सबैको अवस्था एउटै हुन पनि सक्तैन । जीवनलाई बुझ्ने, पढ्ने र परिभाषित गर्ने प्रक्रिया समेत अलगअलग छन् । एउटै हुन्थ्यो भने संसारको रूपरङ पनि पृथक् हुन्थ्यो होला ।
संसारका सबैको चाहना निश्चित गन्तव्य नै हो । आर्थिक, सामाजिक अवस्था जेजस्तो रहे पनि जम्मैको चाहनाभित्र सुख, समृद्धि, उन्नति र प्रगति नै छ । त्यसैका निम्ति बाटिएका हुन् आपसी ईष्र्या, द्वन्द्व र प्रतिस्पर्धा समेत । त्यो एउटा दौड हो । भिडमा सहभागी छन् सम्पूर्ण मानिस । हिँडेकाहरू गन्तव्यमा पुग्न सक्छन् नै भन्ने पनि छैन, तर दौड चलिरहेछ । सामेली मात्रले पनि गतिशीलताको अर्थबोध हुन्छ । म्याराथनमा दौडनेहरू सबैले कसरी चुम्न सक्थे र सफलता ? तथापि, सबैको मनमा ढुकढुकीका रूपमा त्यो रहिरहेको हुन्छ । ती सामेल भएर आफ्नो औचित्य पूर्ण गर्न प्रयास गर्दछन् ।
“कद्माहा आइपुगियो हजुर” चालक सूचना पस्कन्छन् । आँखा कदमाहाको सेरोफेरेभित्र पोखिन्छन् । उत्तरबाट दक्षिणतर्फ आइरहेका हामी चढेको गाडी पश्चिम फर्केर गति समात्छ । अलिकति जानकारी समेल्छु– सप्तरीमा पर्दाे रहेछ यो स्थान ।
गाडी महेन्द्र राजमार्गमा हिँडिरहेछ । छेउछाउका दृश्यले बेलामौकामा घच्घच्याए पनि सधैँ साथ दिन सकिरहेका छैनन् । मेरो जिज्ञासामा चालक अगाडि भन्छन्, “पूर्वतर्फ कटौना, कटरवाना र कल्याणपुरपछि रूपनी आउँछ र त्यहीँबाट छुट्टिन्छ राजविराज जाने बाटो ।”
कद्माहाबाट महेन्द्र राजमार्गको पश्चिमतिर कुदिरहेछ चालक दलका दुई र हामी सातजना बोकेको टाटासुमो । आँखाले बाटामा लहान, कार्कीबजार, गोलबजार र चहरुवा पढ्दापढ्दै चालक संकेत गर्छन्, “सिराहा सदरमुकाम जाने बाटो यही हो हजुर ।”
मिर्चैयामा एक छिन थकाइ मार्छ गाडी । राजमार्गबाटै अलिकति पढ्न मन लाग्छ उसलाई । झ्वाट्ट सम्झनामा आउँदैन साथीहरूका नाम । स्मृति बिम्बमा पुगेर खोज्ने प्रयास गर्छु । बल्लतल्ल एक दशक सँगै काम गरेका बालेश्वर साहको नाम आउँछ । सिराहाको सन्हैठा निवासी हुन् उनी । उनका चार सन्तानलाई शिक्षादीक्षा दिएको छु मैले । यति मात्र हैन, दुई भाइहरू समेत दीक्षित भएका छन् । यतिखेर यहाँ छैनन् । भेट हुन पनि सक्दैन । आफू यता आएको जानकारी गराएको छैन ।
मिर्चैयाबाटै सुरु हुँदो रहेछ सगरमाथा राजमार्ग । त्यसले कटारीबजार हुँदै ओखलढुंगा, सोलुखुम्बु तथा खोटाङ जिल्लालाई जोड्दो रहेछ । तराई–पहाड जोड्ने यस मार्गकोे निर्माणले यो भेगका जनताको जीवनस्तरमा ठूलो प्रभाव पारेको अनुभूत हुन्छ ।
मस्तिष्कभित्र यति कुरा खेलिरहँदा हामी चढेको गाडी थकाइ मार्ने काम सकेर कुद्न थालिसकेको छ । म सम्झनाको तरंगमा रमाउँदै राजमार्ग छेउछाउका स्थानहरूलाई आँखामा पुनः कैद गरिरहेछु ।
बाटोको दुवैतिरको यात्रामा गुडिरहेछन् सयौँ गाडी । त्यहाँ यात्रा गर्ने यात्रुहरूको गणना हजारौँको संख्यामा गर्न सकिन्छ । सबै गन्तव्य पुग्ने चटारोमा छन् । यात्रीहरूलाई निश्चित स्थानसम्म पुग्न गाडीहरू सघाइरहेछन् । धेरैभन्दा धेरैको अधिकांश समय जाने–आउने सिलसिलामै बितिरहेछ । जम्मैका लक्ष्य छन् । गन्तव्य छन् । विश्वास छन् । आस्था छन् । अठोट छन् । जिज्ञासाहरू छन् ।
यस्तैयस्तैमा बितिरहेछ तिनीहरूको समय । तपाईं र म समेत टाढा छैनौँ । हिँडेकाहरू तोकिएका ठाउँसम्म सबै पुग्न सक्दैनन् । तथापि, हिँडाइ अर्थात् गति रोकिएको छैन । जब गति रोकिनेछ, तब संसारको प्रगति पनि रोकिने कुरा निश्चितजस्तै छ । पुरानो संसारको कल्पना आज गर्न सकिन्न भन्ने मेरो मान्यता छ । तपाईं चुनौती दिन त सक्नुहोला, तर म कुनै पनि हालतमा सक्दिनँ ।
खुला आकासमुनि निर्बाध गुडिरहेका गाडीभित्रबाट देखिने दृश्य, परिदृश्य र आवाजले तन्द्रा बिथोल्न सक्दैन । त्यसैले अलिकति गफिइ पनि रहेछौँ । तत्–तत् स्थानका नाम क्रमशः कैद भइरहेछन् आँखामा । बन्दीपुर, कमलानदी, धारापानी, गोदार, ढल्केवर, लालगढ, रतुवाजस्ता नामहरू संकलित बन्दै जान्छन् । नामको आफ्नै महत्त्व छ ।
कामको विशिष्ट औचित्य छ र गतिशीलताको विशेष उचाइ छ । सबैलाई एउटै डालोमा खाँदेर यथार्थबोध गर्न सकिँदैन । अचम्मको छ सांसारिक रीतिथिति । यस सम्बन्धमा प्रशस्त खोज नभएका पनि होइनन्, तर यही मात्र हो भनेर कसैले ठोकुवा गर्न सकेका छैनन् ।
कल्पना र विचार एउटा कुरा हुन् । त्यसको खण्डनमण्डन पनि भएको छ । विचारलाई तर्कले काटेको छ । आस्थालाई अठोटले छोपेको छ र चिन्तनलाई मननले ढाकेको छ । हामी विचार र विश्वासमा हराइरहेछाैँ ।
“बर्दिबासनिकट छौँ हामी” रोचक दाइ सूचित गर्नुहुन्छ । छरपस्ट बन्छन् आँखा वरिपरिका परिवेश पढ्न ।
“आइसक्यो नि” नगेन्द्र दाइ हाँस्दै थप्नुहुन्छ । यसो भन्दाभन्दै रोकिन्छ गाडी । साँच्चै बर्दिवास त हामीलाई पर्खी पो रहेको रहेछ त । मज्जैले हेरेँ उसलाई । यसो भनौँ, धित मर्ने गरी । आँखा एकापसमा जुधे । न उसले बोलायो न त मैले नै मुख खोल्न सकेँ । महेन्द्र राजमार्गलाई बाइबाई गरेंँ बर्दिबासबाट । ऊ पश्चिम अर्थात् पथलैयातिर लाग्यो । म चढेको सुमो बीपी राजमार्गको फेर समात्दै काठमाडौंतिर हान्नियो ।
बाइबाईको प्रत्युत्तरमा उसले भन्यो, “म नेपाल र नेपालीको असल साथी हुँ अर्थात् मैले धेरै देशवासीलाई मेरो ढाडबाट हिँडाएर निर्दिष्ट स्थानमा पुर्याएको छु ।”
“लामो हुनुको नातामा स्वाभाविक हो,” मैले प्रत्युत्तरमा भनेँ । यसपटक ऊ बोलेन । मैले पुनः बाइबाई गरेँ । यतिखेरसम्म गाडीले गति लिइसकेको छ । मेरो मन बिहानैदेखि हिँडिरहेको बाटोमा हराइरहेछ ।
बाटो र जीवनबीच घनिष्ठ सम्बन्ध छ । जीवन बाटो खोज्छ र बाटो जीवनलाई सुन्दरताको पाटोतिर डोर्याइरहन्छ । हामी यही बाटोबाट अस्ति गएका थियौँ । आज फर्किरहेछाँै । मान्छे हिँड्छ अर्थात् जीवन हिँड्छ, बाटो हिँड्दैन । उसैको सहारामा संसार गतिशील बन्छ, तथापि हामी आफू हिँडेको बाटो भुल्छौँ, तर यात्रा बिर्सन सक्दैनौँ ।
कसैले बाटो नभुल्ने हो भने संसार कस्तो होला ? प्रश्न जन्माउन खोज्छ मन । बाटो भुल्नेहरूको संख्या ठूलो छ । न तिनीहरूको गणना गर्न सकिन्छ न त बाटो सोझ्याउन नै । संसारमा धेरै छन् त्यस्ताहरू । हाम्रोमा त झन् कति छन् कति । सबैतिर बाटो भुल्नेहरूकै रजाइँ चलिरहेछ । अचम्म छ ! भुल्नेहरूले नभुल्नेहरूलाई कज्याइरहेछन्, सिकाइरहेछन् र सन्देश बाँडेर कुहिराको काग बनाइरहेछन् । यसैले त हो नि, परिवेश धुमिलधुमिल बनिरहेको । तथापि, बाटाहरू कृतघ्न बनिसकेका छैनन् ।
फागुन महिना, मौसम रापिलो भए पनि मलिनु छ घाम । आकाशमा कतैकतै बादलका टुक्राटुक्री देख्न सकिन्छ । निर्जन जंगलमा हिँडिरहेको गाडीभित्र सवार छौँ हामी । बेलामौकामा आउने चराचुरुंगीका आवाज र यदाकदा देखिने बाँदरहरूले भने समयसमयमा ध्यान भंग गराइरहेछन् । पातलै भए पनि खासखुसमा रमाएको छ मन । भाषा, साहित्य, साहित्यिक–पत्रकारिता, विधागत–लेखन, प्रकाशन र बिक्री–वितरण विषयवस्तु बनिरहेछन् ।
सन्दर्भ–प्रसंगमा टाउको हल्लाउने काम गरिरहेछु । विचारमा, प्रसंगमा र दृष्टान्तमा गहिरा, फराकिला र उच्च उचाइका सन्दर्भहरू आएका छन् । आत्मसात् गरिरहेछु क्रमशः । मेरा अग्रज हुनुहुन्छ दाजुहरू, विस्तारपूर्वक सुनिरहेछु । रचना त उमेरमा मभन्दा पनि जेठो पत्रिका हो । जीवनलाई सिकाइ र बुझाइ मान्दै अग्रजहरूबाट जान्न, बुझ्न, सिक्न र अनुभूति सँगाल्न खोजिरहेछु । यस्ता मौकालाई अवसरका रूपमा विगतदेखि नै लिइरहेछु । अझै लिने अभिलाषा मनमा सँगालिरहेछु । आजलाई मैले त्यही रूपमा लिएकाले अगाडि, अगाडि र अझै अगाडि पुग्ने प्रयास गरिरहेछु ।
बर्दिबासबाट गाडी उत्तरतिर कुद्न थालेदेखि नै लक्ष्मी भट्टराई बढी खुलिरहनुभएको छ । नगेन्द्र दाइ र रोचक दाइको अलि बढी साथ पनि छ । महाकाव्यकार उमानाथ शास्त्री ’सिन्धुलीय’ हुँदै मकवानीबालाको प्रसंग पनि जोडिइरहेछ यथासमयमा । मोहन दाइ, वियोगी दाइ, नवराज पुडासैनी र म स्वयंको जिज्ञासाले अझै सक्रिय तुल्याएको बुझ्ने रहरहरूलाई । उत्तरहरू आइरहेछन् क्रमशः ।
लक्ष्मीजीको सिन्धुलीसँग वैवाहिक र नगेन्द्र दाइ तथा रोचक दाइको रामेछापसँग पुर्ख्यौली साइनो छ । यही सेरोफेरोमा भाषा, साहित्य र राजनीतिले बढी स्थान पाइरहेछन् । कोसी, रोसी, रामेछाप, सिन्धुली, मन्थली र बनेपा, शंकर कोइराला र खैरिनी घाट तथा धुलिखेल पटक–पटक प्रसंगमा जोडिएका छन् ।
बनेपा र धुलिखेल जोडिँदा मोहन दुवाल बढी जोडिने गर्नुभएको छ । यो भेगका पञ्चायती र कांग्रेसी राजनीतिका विभिन्न पात्रहरू पनि सुनाउनुहुन्छ नगेन्द्र दाइ । सबैजना जिज्ञासु तथा असल स्रोता बन्नुलाई गर्व गरिरहेछौँ ।
गल्छी, गौँडा र घुमाउरा पार गर्दै गाडी कुदिरहेछ । दायाँ–बायाँ आँखा लगाउन र विचारविमर्शमा उसको कुनै संलग्नता छैन । हामी उसले नगरेको क्रिया–प्रतिक्रिया गरिरहेछौँ । हाम्रोझैँ उसको पनि दृष्टि छरिने र विचार पोखिने हो भने अनर्थको सम्भावना प्रचुर हुन्छ । त्यसैले बातचितमा संलग्न गराइरहेका छैनाैँ । यसैमा त छ नि सवारहरूको कल्याण ।
ऊ निर्बाध गुडिरहेछ । हामीलाई बाहिरी वातावरण र भित्री परिवेशमा पौडन पूर्ण छुट छ । त्यसको उपयोग गरिरहेछौँ । सबैको मन रमाइरहेछ, हराइरहेछ र विश्वासको पोखरीमा पौडने अठोट बोकेर हिँडिरहेछ । सबले आ–आफ्ना परिधि बुझिदिने हो भने आकाश र विश्वासको धरातल कस्तो हुन्थ्यो होला ? मनमा बारम्बार प्रश्नहरू उठिरहन्छन्, दर्के पानीमा जन्मने फोका जस्तै ।
वर्तमानको स्वागतमा आफूलाई समर्पित गर्दा विगतलाई धारे हात लाउनुपर्छ भन्ने सोचको पक्षपाती होइन म । बाँच्ने उपक्रममा मान्छेहरू विगतप्रति विष वमन गर्दै आफूलाई चोख्याउने प्रयास गरिरहेछन् । हरेक नाचको आफ्नो ताल हुन्छ, नियम हुन्छ र अवस्था पनि हुन्छ । हामी नाफाका निम्ति जसरी पनि नाच्न तयार भइरहेछौँ ।
जीवनको उपलब्धि नाफा र नोक्सानमा जोखतौल गर्न सकिन्न, तथापि आँखा त्यहाँबाट एक पाइलो पनि वर वा पर सर्न सकिरहेका छैनन् । बनाएको बाटोमा हिँड्ने र बाटो बनाउनेको बीच ठूलो विरोधाभास छ । कहिलेकाहीँ त अर्काले बनाएको बाटोबाट हिँड्नेहरू नै अगुवा बनेको अवस्था पनि आउँछ । अरूले बनाएको बाटोबाट हिँड्नेले न अघिको सिंगो संसार देखेको हुन्छ न त पछिको विचारको पर्खाल नै । इसारामा नाच्ने र बाँच्नेहरूसँग अधिक अपेक्षा राखियो भने निश्चित छ, एक न एक दिन अवश्यै भासमा परिन्छ ।
सिन्धुली जिल्ला प्रवेश गरेदेखि नै मनमा विविध प्रश्नहरू उब्जिइरहेछन् । मनको किनारको पर्खाल भत्किएको छ । आस्था आकाशमा उड्न खोजिरहेछ । विश्वासको धरातल क्रमशः गहिरिँदै छ । अलमल्ल बन्न खोजिरहेछ, मनमस्तिष्क । सम्झना विगतको उकालो उक्लिरहेछ । आँखा हिँडिरहेको गाडीबाट विगतमा नेपालले पहिलोपटक अंग्रेजसँग जितेको सिन्धुलीगढीको युद्ध र युद्धमा योगदान गर्ने वीर योद्धाहरूको उपस्थितिको अवशेष बाटोछेउछाउ र जंगलतिर छ कि भनेर खोज्न थाल्छ । तिनै वीर–वीरांगनाको अदम्य साहस, योगदान र कर्तव्यबोधले जीवित तुल्याइरहेछ नेपालीलाई ।
मानिस कामले बाँच्छन्, योगदानले बाँच्छन्, वीरताले बाँच्छन् र कर्तव्यबोधले बाँच्छन् । सयौँ वर्षअघि यो संसारबाट बिदा भएकाहरूलाई पनि आज त्यसैका आधारमा सम्झिइरहेछौँ । उनीहरूको गुणगान गाइरहेछौ । प्रशंसामा रमाइरहेछौँ । त्यसले जीवनका विविधतामा उत्सर्ग र त्याग गर्न प्रेरित गरिरहेछ र हिँड्ने बाटाहरू सधैँ खुला राख्न हौस्याइरहेछ ।
सिन्धुलीगढीको भिडन्तमा दुई पक्षको बीच ठूलो अन्तर थियो । नेपाली योद्धाहरू देशभक्तिपूर्ण भावले लडिरहेका थिए । यता न यथेष्ट हातहतियार थिए न त लडाकुहरूमा युद्धकौशल नै । योद्धाहरू परम्परागत हतियारमै भए पनि साहसका साथ लडेका थिए । विपक्षहरूसँग सबै कुरा थिए । पूरा तयारीका साथ सबक सिकाउन आएका ती युद्धकलामा पारगंत थिए । तर, ती मातृभूमिका लागि लडिरहेका थिएनन् । उद्देश्य साम्राज्य विस्तार थियो । कसैलाई सहयोग गरेर नाफा आर्जन गर्नु वा स्वार्थ भजाउनु प्रमुख ध्येय थियो ।
तर, हाम्राहरू पुर्ख्यौली माटो रक्षाका लागि लडिरहेका थिए । स्वाभिमान र स्वतन्त्रताका निम्ति भिडिरहेका थिए । कुनै निजी स्वार्थ थिएन । एउटा बाटोमा निष्ठाका साथ हिँडिरहेका थिए । आस्था र विश्वास, काँधमा बोकेर पाइला चालिरहेका थिए । फुट, बेमेल, वैमनस्य र स्वार्थजस्ता कुराले पोलेकाले एकताका निम्ति सङ्लो मन र खाली खुट्टाले जीवन रचिरहेका थिए । मनमा संकल्प थियो– एकताको, मेलमिलापको र समृद्धिको ।
एकीकरण अभियानमा यो जितले लडाकुहरूको मनोबल उच्च बनाएको थियो । आस्था र विश्वासका वृक्ष हरेक मनहरूमा उम्रिएका थिए । जनताहरू जागेका थिए । युद्ध जितिएको थियो । हामीसँग के थियो त विजयमाला पहिरिने आधार ? हो, केवल जोस थियो । देशभक्तिको भाव थियो । उत्साह र उत्तरदायित्व थियो । नागरिक हुनुको कर्तव्य बोध थियो । युद्धसामग्री, युद्धकौशल, रणनीति, कूटनीति, शक्ति, सामर्थ्य र हातहतियार जे–जे भए पनि ती हारेका थिए, शर्मनाक हार । हारपछि ती तिल्मिलाएका थिए र भयभीत बनेका थिए ।
बहानाबाजी गरेर हामी र हाम्रालाई होच्याउने प्रपञ्च रचिरहेका थिए । झुटो प्रचार गराएर आफूलाई माथि देखाउने प्रयत्न गरिरहेका थिए । कालान्तरमा त्यस्ता प्रपञ्च सबै हावामा उडे । हाम्रा बहादुर, निर्भीक, कुशल, शूरवीरहरूका पराक्रमले उठ्नै नसक्ने गरी पछारिए । त्यो घाउ निको तुल्याउन ठूलो बलबुद्धि र जुक्ति लगाउँदा समेत पछि पर्नुप¥यो तिनीहरू ।
मन गाडीभित्रैबाट जंगल, भीरपाखा, खोँचका छेउछाउ, उकालीओरालीका अन्तरकुन्तर तथा खाल्डाखुल्डीमा खोजिरहेको छ युद्धका अवशेष । आँखा स्थिर छैनन् । कहिले कता पुग्दथे त कहिले कता । जयप्रकाशका दूतहरू अंग्रेजका पृष्ठपोषक तथा स्वार्थका मालामा आफैलाई बेच्न उद्यतहरू पढ्न खोज्छन् आँखा । एकपटक भए पनि पढ्ने अभिलाषा बोकिरहेको छ मन । कस्ता होलान्, कता होलान्, के गरिरहेका होलान् छातीमा प्रश्नहरू छन् । विचारको पर्खालमा उक्लेर विश्वास र आस्थाको धरहरा ठड्याइरहेको छ ।
हामी सवार गाडीको गति जतिसुकै तेज वा सुस्त भए पनि आँखा बाहिरी संसार पढिरहेछ । मलाई भित्रीभन्दा बाहिरी परिवेशले बेस्सरी तानिरहेको छ । हरियाली क्रमशः पहेलिँदै गइरहेको भए पनि मन हावामा कावा खाँदै रमाइरहेछ ।
उड्ने परिकल्पना बोकेर सदियौँदेखि हिँडिरहेको ऊ यसलाई ठूलो कुरा मानिरहेको छैन । हुनसक्छ, कोही कसैलाई अप्ठेरो र सजिलो जे भए पनि मनलाई समात्ने इच्छाभित्र विचार रोप्दै म गाडीको गतिलाई साथ दिइरहेको छु । यो मेरो नवीन चाह हैन, पुरानै हो । केवल त्यसलाई निरन्तर साथ दिइरहेछु, विगतलाई वर्तमानसँग जोड्दै ।
साँच्चै हाम्रो इतिहासमा निकै ठूलो महत्त्व राख्छ यसले । युद्ध र विजयपछि एकातिर हामीले आधुनिक हतियार प्राप्त गर्याँै भने अर्कातिर फिरंगीहरूका गतिविधिलाई नजिकबाट अवलोकन गर्ने अवसर भेट्याैँ ।
आदरणीय वीर–वीरांगनाले तिनीहरूको युद्धकौशल देख्ने अवसर पाए । पहिलोपटक तिनीहरूसित लडेका हामीले स्मरणीय तरिकाले पराजित गर्याँै । भारतमा शक्ति सञ्चय गरेर त्यहीँका राजा रजौटाहरूलाई वशमा राखी आफूलाई शक्तिशाली र चाहे जे पनि गर्न सक्छाैँभन्ने अभिमान बोकेका ती पछि हट्न बाध्य भए ।
काठमाडौंमा पाइला हाल्नु त कता हो कता, सिन्धुलीगढीको सानो किल्ला नै भेदन गर्न सकेनन् । पराक्रमी र शूरवीर ठानिएका ती नराम्रोसँग झुके । परम्परागत हातहतियारका माध्यमले लडेका हामीले विजयमाला पहिरियाैँ ।
एउटा कुरा फरक थियो, हाम्रा योद्धाहरू एकताको लडाइँमा थिए । विभाजन रेखा मेटाएर एकत्रित हुने उद्देश्य थियो । तसर्थ, सफलता हामीतिर आयो । तर, ती विभाजनको रेखा मजबुत बनाउँदै हाम्रा चिन्तन, विचार, लक्ष्य साँघुर्याउन आएका थिए, त्यसै कारण सफल हुन सकेनन् ।
नागबेली बाटोमा गुडिरहेको गाडीभित्रैबाट बाहिरी संसार चिहाउन थाल्छु । कप्तान किन्लक, होगान, लोगान र नेपाली वीर वीरांगना क्रमशः आइपुग्छन् आँखामा । विकट पहाड, भीर पहरा, झाडी, बुट्यान, खाेँच, ठूलाठूला रूख, तिँदु, चुत्रा र काफलका झाङ झाडी, ऐँसेलु तथा गुँएलो सल्बलाउँछन् छातीमा । सिस्नो, रुदिलो, गन्दे, वनमारा र तितेपातीको उपस्थितिले छरपस्ट बनाउँछ विचारका तरंगहरूलाई ।
कति सहयोग थियो होला हाम्रा योद्धाहरूलाई ? मौरी, झ्याउँकिरी र अन्य किरा फट्याङ्ग्रासमेत पक्षमा थिए । प्रकृतिको साथ त छँदै थियो । त्यसले हौसला, विश्वास र शूरता थपेको थियो । खोलानाला, बाढी, भेललगायत परिवेशले पनि हाम्रालाई साथ दिएका थिए ।
नेपालीको काम जुटाउनु थियो । मिलाउनु अर्थात् जोड्नु थियो । भत्केको टालटुल गर्नु थियो । बिग्रेको सम्हाल्नु थियो र एकगठ तुल्याएर एकाकार बनाई सबल पार्नु थियो । त्यसैले पाइला क्रमशः सफल बनिरहेका थिए ।
मन इतिहासको पानातिर पुग्छ । विक्रम संवत् १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खाली सेनाले दक्षिण मोहडाको ठाडो उकालो र अक्करहरूमा फिरंगी सेनालाई हराएका थिए । त्यसपछि तिनीहरूले ४७ वर्षसम्म हाम्रो देशतिर हेर्न आँटसम्म गर्न सकेनन् ।
कान्तिपुरका राजा जयप्रकाशको निमन्त्रणामा आएका तिनीहरूका साथ हातहतियारले सुसज्जित २४ सयभन्दा बढी लडाकु सैनिक थिए । उनीहरूको एक्लो उद्देश्य गोर्खालीलाई पराजित गर्नु थियो । तर हातहतियारको नाममा खुँडा, खुकुरी, धनुकाँड, घुँयेत्रो र पत्थरकला जानेका अनि सीमित संख्यामा भरुवा बन्दुक बोकेका १२ सय गोर्खालीसँग ती हारेका थिए । यो हारले तिनीहरूको मन नराम्रोसँग झस्किएको थियो ।
हामी नेपाली प्रकृतिपूजक हौँ । हामीले सदियौँदेखि उसको पूजा–आराधना गरिरहेछाैँ । हामी ढुंगाको पूजा गर्छाैँ । माटोको पूजा गर्छाैँ । गोठको पूजा गर्छाैँ । गाईगोरुको पूजा गर्छौँ । कुकुरको पूजा गर्छाैँ । कागको पूजा गर्छाैँ । वरपिपल, शमी र बेलको पूजा गर्छाैँ । सर्पको पूजा गर्छाैँ । पानीको पूजा गर्छाैँ । जमिनको पूजा गर्छाैँ । पाहुनाको पूजा गर्छाैँ । जीवजन्तु र बोटबिरुवा सबैको पूजा गर्छाँै ।
तर, यतिखेर हाम्रा मन बहकिएका छन् । विचार तितरबितरको अवस्थामा छ । आस्थामा धमिरा लाग्न खोजिरहेछन् । विश्वास कुहिने तरखरमा छन् । मूल्य–मान्यता र दृष्टिकोण अन्धविश्वास तथा रूढिमा परिवर्तित गराइँदै छ । सजिलो उपाय हो यो । छानबिन र खोजतलासतिर हामी लाग्न सकिरहेका छैनौँ ।
हामी सजिलो खोजिरहेछौँ । संस्कृतिमा आगो झोस्न परे पनि अप्ठेरो लाग्न छाडेको छ । प्रश्नका साथ खोज्ने, मूल्य–मान्यताको बोध गर्ने चिन्तनलाई क्रमशः तिलाञ्जलि दिइरहेछौँ । मस्तिष्कमा प्रश्न उठ्न छाडेका छन् । विचार गुजुल्टिएर कुना पस्ने परिस्थिति आइसकेको छ । एक्लै नहिँड्ने मानसिकता क्रमशः निर्माण भइरहेछ ।
हिजोको जीवनशैली खोजपूर्ण र ओजपूर्ण थियो । प्रश्न मन–मस्तिष्कमा बारम्बार उपस्थित हुन्थे । तिनले हिँड्न सिकाउँथे । बस्न सिकाउँथे । बोल्न सिकाउँथे । आस्था र विश्वास सिकाउँथे । जीवन–जगत् सिकाउँथे । विचारको पाटो गोडमेल गर्न सिकाउँथे ।
आज हामी बाटो बिराउन खोजिरहेछौँ । सजिलोको नाममा परचक्री बाटो सम्याउन आइरहेछ । उसैको पदचाप पछ्याइरहेछौँ । आफूलाई बिर्सिरहेछौँ । आफ्नोलाई मेटाइरहेछौँ । आदेश दिइरहेछ । हामी अक्षरशः पालना गरिरहेछौँ । हिँड्ने बाटो र पुग्ने गन्तव्यको अलमलमा उत्पन्न हुने अवस्था यही हो ।
आफ्नोपन मेटिएपछि आउने स्थिति यस्तै हुन्छ । भोग्ने अवस्थामा आइपुगेका छौँ । यो परिस्थिति आफूलाई मिटाउन तत्पर रहनुका कारण उत्पन्न भएको हो । किन यस्तो बाटोमा हिँडिरहेछौँ ? बाटो आफैँले बनाउन नसक्ने कस्तो अवस्था हो यो ? मेरो मनमा निकै समयदेखि घोचिरहेछ यो प्रश्नले ।
अलिकति पाखा लागेर विश्राम लिन्छ गाडी । कालाम्मे छ आकाश । पानी चुहिएलाचुहिएलाजस्तो पनि देखिँदै छ । हुरी–बतासको आशंका पनि गर्ने स्थिति छ । सिन्धुलीगढीको अवशेष हेर्न गाडीलाई तलै छाडेर जाने सहमति बन्छ । रोचक दाइ र नगेन्द्र दाइको नजाने संकेतपछि उकालो लाग्छाैँ । अस्तिकै दिनको बनिबनाउ योजना हो यो । निक्कैअघिदेखि सोच थियो त्यहाँ पुग्ने । परिस्थितिले साथ नदिएता पनि मन भने उजुकउजुक भइरहेको थियो ।
माध्यमिक तहको विद्यार्थी हुँदैदेखि त्यो युद्ध, ती योद्धा, तिनीहरूको चातुर्य, साहस, बहादुरी, उत्साह, देशभक्तिपूर्ण भाव, जुक्ति, बुद्धि, शूरता र वीरता मनमा छताछुल्ल पोखिएका थिए । अनि विपक्ष, तिनीहरूका कुटिलता, दम्भ र मिचाहापन बेलाबेलामा आउने गर्थे आँखामा ।
आजै पनि बर्दिबासबाट उकालो लागेदेखि मन विचारको सागरमा हराइरहेको छ । पुराना स्मृति छातीमा क्रमशः आइरहेका छन् । सुनेका कुरालाई पुष्टि गर्ने प्रमाणहरू छन् । विपक्षका कप्तान किनलक, हार्डी, उडम्यान, होगान, लोगान, उमदा र रामदास तथा पक्षका वंशु गुरुङ, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय, रामकृष्ण कुँवरहरू क्रमशः आँखामा उपस्थिति जनाउँछन् ।
स्थानहरू खोज्न र बुझ्न थाल्छन् । विचारविमर्शमा हराउँछु । कल्पनामा डुब्छु र विश्वासमा छरपस्ट बन्छु । आजभन्दा पौने तीन सय वर्षअगाडि लडिएको त्यो युद्ध, त्यति बेलाको परिवेश, मानसिकता र चेतनास्तर तथा वर्तमान परिवेश दुवैको जम्काभेट एक्कासि मनमा हुन्छ । ती घरी मलाई त घरी एकापसमा हेराहेर गर्छन् ।
सम्भवतः ती मबाट दुवै आस्थाको विश्लेषण गराउन खोज्दै छन् । मतिरको हेराइले त्यही पुष्टि गर्न खोजेको आभास हुन्छ । म बोल्ने पक्षमा छैन । यथार्थको अनुमान लगाएर पनि बुझेको न नबुझ्यै गरिरहेछु । वर्तमानले सिकाएको एउटा स्मरणीय पाठ हो यो ।
जंगलको बीचमा छन् गढीका अवशेष । बस्ती विस्थापन भएपछि बुट्यानले आश्रय पाएको छ वरिपरि । बस्तीको नामनिसान देखिँदैन कतै । झलक्क हेर्दा कुनै समयको महत्त्वपूर्ण गढी र एक क्षेत्रको सदरमुकाम समेत थियो भन्न सकिने अवस्थै छैन । सिन्धुलीको मात्र नभई कुनै जमानामा पूरै पूर्व दुई नम्बरको सदरमुकाम थियो यो । दुई नम्बर भन्नाले राणाकालीन एउटा प्रशासनिक एकाइ हो । पछि दुई नम्बरको मुकाम नै रामेछाप स¥यो ।
एउटा कालखण्डमा सिन्धुलीगढीले त्यो सबै हेर्थ्या र दुई नम्बरभित्र सिन्धुली, रामेछाप र दोलखाका प्रशासनिक एकाइहरू समेटिएका थिए । यतिखेर निर्जन छ यो स्थान । सिन्धुलीकै सदरमुकाम समेत सिन्धुलीमाडीमा सरिसकेको छ । गढीको स्याहारसम्भारको जिम्मेवारी कतै कसैले लिएको छैन । एक्लो विधवाजस्तो देखिँदै छ । कसैको आँखामा परिरहेको छैन ।
कुनै बखत शक्तिशाली आक्रमणकारीलाई प्रत्याक्रमण गरेर भाग्न विवश तुल्याउने गढी यतिखेर बेवारिसेजस्तै छ । देश एकीकरण अभियानताका फिरंगीलाई धुलो चटाएर अभियन्ताहरूलाई उत्साहित तुल्याउने यो भूमि सबैको पूजनीय र स्मरणीय हो । तर, सजिलो र सुविधाको नाममा यतिखेर विलुप्तजस्तै छ । थाहा नहुनेहरूको त कुरै भएन, जानकारहरूले भोलिका सन्ततिका निम्ति सुरक्षित राख्न पहल गर्नुपर्ने हो, तर यतिखेरसम्म त्यसले सार्थकता पाइरहेको जस्तो लाग्दैन ।
हाम्रा बारेमा जान्न खोज्नेहरूलाई बुझाउने उत्तर हो यो । पुर्खाको शूरता, वीरता र साहसपूर्ण कदमको चिनारी हो । यी स्थानहरूको सुरक्षाको जिम्मेवारी राज्यले पूर्ण रूपमा लिनु आवश्यक छ । यसले विगतमा राज्यनिर्माण क्रममा के–के गर्यो भन्ने जानकारी एकातिर राख्छ भने अर्काेतिर सन्ततिले पुर्खाको समग्र मूल्यांकन गर्नुपर्छ भन्ने पनि जनाउँछ । हामी त्यता जान सकिरहेका छैनौँ । हरेक शासकहरूलाई वर्तमानले पोल्दो रहेछ ।
त्यही घाउ सुम्सुम्याउँदै ती बाँच्दा रहेछन् । आफूले आफैँलाई सुम्सुम्याउँदै बाँच्ने चिन्तनले अन्यत्र आँखा लाग्नै नदिँदो रहेछ । सायद त्यसैले होला, परिवेश अन्योल र अस्थिरताको बाटोतिर सधैँ हिँडिरहेको छ । यही बीचमा पनि देशमा धेरै परिवर्तन आइसकेका छन् । सत्तामा थरीथरीका विचार र भाव बोक्नेहरू क्रमशः आरोपित बनेका छन्, तर यी र यतातिर कसैको ध्यान पुग्न सकिरहेको छैन । किन ? गढीको अवशेषमा उभिएर आकाशतिर नियाल्दै उसको आसपासको परिवेशलाई प्रश्न पस्कन्छु ।
माडीफाँट, ढुंग्रेबास, एकीकरण अभियान, वीर योद्धाहरू र तिनीहरूले देखेका सपना आँखामा क्रमशः आइरहन्छन् । तिनीहरूका अक्कली, सोच, चिन्तन, आजका हामी र भोलिको भविष्यको चित्र मुटुमा सुटुक्क उपस्थिति जनाउँछन् । न ती मुख फोर्छन् न त म नै त्यता जान सक्छु । असरल्ल परिवेश हेर्दाहेर्दै आँखा क्रमशः रसाउन खोज्छन् । महाभारत हिमशृंखलामा अवस्थित सिन्धुलीगढीको संरक्षणमा स्थानीयस्तरबाट भने केही पहल भएका रहेछन् ।
नेपाल पत्रकार महासंघ सिन्धुली र सिन्धुलीगढी संरक्षण एवं सम्वद्र्धन समितिको पहल सराहनीय र सकारात्मक लाग्छ । धन्यवाद भन्न बिर्सन्नँ । निलो आकाश पूर्ण रूपमा कालो भइसकेको छ । एक–दुई पानीका छिटाले हामीलाई अभिषेक गरिसकेका छन् । साथीहरू र सारथि दुवै हिँड्न तम्तयार छन् । तर, मेरा आँखाको भोक अझै मेटिइसकेको छैन । प्यास जस्ताको त्यस्तै छ । मन विचारको पाटोमा देखिएको परिवेश पढ्न व्यस्त छ । गन्तव्यको आग्रह अझै अर्कै छ । उत्तरविहीन छु । नचाहँदानचाहँदै पनि पाइला मोडिन विवश छन् । पानीको दर्काेबाट बच्न गाडीभित्र पस्नु आवश्यक छ ।
हो, ओतको विकल्प छैन । छिनभरमै गाडी नागबेली बीपी राजमार्गमा गुड्न थाल्छ, तर मन सिन्धुलीगढीको वरिपरि नै घुमिरहन्छ । म उसलाई कुनै विघ्नबाधा दिन चाहन्नँ । छातीमा अनायास बाल्यकालमा सुनेको गीत बज्न थाल्छ । बद्रीविक्रम थापालाई नमन गर्छृु । आँखा बन्द गरेर भावनामा खुसुक्क छिर्छु । गीत बजिरहेछ, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार
मार्यो नि मायाले मार्यो ।
आजकालको जोवनमा हेराैँ सुन्तलीमाई कस्तो पो होला घरबार
मार्यो नि मायाले मार्यो ।