विपन्नहरूका लागि हिउँद सङ्कट बनेर आउँछ । संसारको सबैजसो हावापानी पाइने नेपालका गरिबहरू जहाँ बस्ने भए पनि हिउँदको जाडोमा ज्यान गुमाउने जोखिममा हुन्छन् ।
यो वर्ष चिसो अपेक्षाकृत छिटै बढ्न थालेको छ । कात्तिक लाग्दा नलाग्दै काठमाडौंमा बढेको चिसोसँग जोगिन मौसम र जनस्वास्थ्यविद्हरूको सर्वसाधारणलाई सावधानी अपनाउन सल्लाह दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार विगत १० दिनमा काठमाडौंको तापक्रम ह्वात्तै घटेको छ । तराईको तापक्रम यसरी ह्वात्तै नघटे पनि आउने केही दिनमा कम हुँदै जाने निश्चितै छ ।
चिसोसँगै देशका अधिकांश भागमा प्रदूषण पनि बढ्छ । फलस्वरूप, बालबालिका, बूढापाका र बिरामीहरूका लागि चिसो र प्रदूषणको कहरले ज्यानै जाने अवस्थामा उत्पन्न हुनपुग्छ ।
सबैभन्दा चिसो हिमाली भेगमा भए पनि प्रदूषणको कमी, दिनभर घाम लाग्ने र चिसोमा बाँच्ने अभ्यासका कारण त्यहाँको जनजीवन कम जोखिममा हुन्छ । कतिपय बस्तीमा त अझै चिसो छल्न पहाडी भेगमा झर्ने चलन पनि छ ।
बाक्लो जनसंख्या भएका पहाड र तराईका बस्तीहरूमा भने प्रदूषणसमेतका कारण हिउँदमा गरिब र कमजोरको ज्यानै जान्छ । लामो समयसम्म घामको मुखै नदेखिने र पोसिलो खानेकुराको अभावको असर तराईमा बर्सेनि देखिने गरेको छ ।
हिउँदमा पानी परेन र प्रदूषण बढ्यो भने तराईमा शीतलहरको कहर चर्को हुन्छ । कमजोरहरूको ज्यान यही शीतलहरबाट कठ्याङ्ग्रिएर जाने हो । यसैले बेलैमा पोसिलो खानेकुरा र न्यानो लुगाको व्यवस्था गर्नसके तिनको अकाल मृत्यु टार्न सकिन्छ ।
नागरिकको जिउधनको रक्षा राज्यको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्य हो । राज्य सञ्चालनका लागि जनताले चुनेर बनाएर तीन तहका सरकारले शीतलहरका कारण हुने अकाल मृत्युबाट जोगाउने जिम्मेवारी वहन गर्नुपर्छ ।
सरकारहरू विशेषगरी स्थानीय तहसँग अब त गुजारा चलाउनै राज्यले सहयोग गर्नुपर्ने विपन्न नागरिकको सूची हुनुपर्ने हो । त्यस्ता विपन्नहरूमाथि शीतलहरको कहर नबज्रदैँ सहयोग तयारी गर्न स्थानीय तहले अग्रसरता लिनुपर्छ ।
शीतलहर नियमित विपत्ति बनिसकेकाले यसबाट जोगिन पनि पूर्व तयारी गर्नु आवश्यक हुन्छ । यो वर्ष कुनै नागरिकले शीतलहरका कारण कठ्याङ्ग्रिएर ज्यान दिनु नपरोस् । स्थानीय तहका विशेषगरी तराईका जनप्रतिनिधि यसमा बेलैमा गम्भीर बनून् !