site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीलंकाबाटै फर्काइएका अफगानी परिवारलाई नेपालले अब के गर्छ ?

काठमाडौं । काठमाडौंबाट नियन्त्रणमा लिएर मेक्सिको पठाइएका पाँच अफगान नागरिकलाई श्रीलंकाबाट मंगलबार नेपाल फिर्ता पठाइएको छ । गैरकानुनी रूपमा भारत हुँदै नेपाल पसेका ११ अफगानीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही कात्तिक ८ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका मध्ये पाँचजना एकै परिवारका र अरू ६ जना थिए । पक्राउ परेका दम्पतीमध्ये एकजना सरकारी कर्मचारी र अर्को यूनएनको जागिरे थिए । अन्य उनीहरूकै छोराछोरी थिए ।

Argakhachi Cement Island Ad

उनीहरूले असुरक्षा महसुस भएको भन्दै ज्यान जोगाउन आफूहरू नेपाल पसेको बताएका थिए । अध्यागमन विभागले आवश्यक अनुसन्धानपछि उनीहरूलाई सोमबार मेक्सिको पठाएको थियो । श्रीलंकाको राजधानी कोलोम्बो ट्रान्जिट बनाएर मेक्सिको जाँदै गरेका उनीहरूलाई श्रीलंकाले ट्रान्जिटबाटै नेपाल फिर्ता पठाइदिएको हो ।

उनीहरूलाई नेपाल फिर्ता पठाएपछि अब के गर्ने भन्नेबारे विभाग अन्योलमा छ । विभागका प्रवक्ता झंकनाथ ढकाल अध्यागमन कानुनानुसार थप प्रक्रिया अगाडि बढ्ने बताउँछन् ।

उनले भने, “पाँचजना एकै परिवारका सदस्यलाई मेक्सिको पठाएका हौँ । उहाँहरूलाई नेपालमै फिर्ता पठाइएको छ । कानुनानुसार के हुन्छ, अब त्यही गर्छौँ ।”

अरू ६ जनाको भने अनुसन्धान जारी रहेको प्रवक्ता ढकालले बताए । ६ जनाले भारतको नक्कली राहदानी समेत बनाएको पाइएको थियो । अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि उनीहरूको निसानामा पर्ने डरले देश छाड्नेहरू बढिरहेका छन् ।

अध्यागमनका प्रवक्ता ढकाल अवैध रूपमा नेपाल पसेकाहरूलाई जरिवाना तिराउने, निश्चित समय तोकेर देश निकाला गर्नेलगायत काम कानुनमा टेकेर गर्न सकिने बताउँछन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ जनालाई पक्राउ गरेर विभागलाई बुझाएको थियो । उनीहरूबाट सुरक्षा खतरा नदेखेपछि ब्युरोले विभागलाई बुझाएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्