लामो समयसम्म तराईवासी विशेषगरी नारायणी र कोसीको बीचका वासिन्दाले आफ्नो क्षेत्रको पछौटेपन र अन्धविश्वासका लागि राज्य र शासनलाई दोष दिएका थिए । अहिले पनि त्यस क्षेत्रमा कायमै रहेको अन्धविश्वास, शोषण, भ्रष्टाचार तथा कुशासनले भने खोट अन्तै पनि रहेको देखाउँछ ।
राजनीतिक आन्दोलनमा निकै अगाडि देखिने महोत्तरी जिल्लामा महिना दिनभित्रै बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउनेजस्तव अमानवीय दुर्व्यवहारका तीनवटा घटना भए । छुवाछुत र भेदभावमात्र होइन महिला हिंसाका घटना पनि देशको अरू भागमा भन्दा मध्यतराईमा बढी हुन्छन् । ‘मिटर ब्याज’देखि सरकारी सम्पत्तिको हिनामिना र अनियमितताका घटना पनि यही प्रदेशमा अपेक्षाकृत बढी हुनेगरेको देखिन्छ ।
लामो समयसम्म काठमाडौंले तराईको उपेक्षा गरेकै हो । शासकले उपत्यकाकै शोषण गरेका थिए भने कर्णाली वा तराईको उपेक्षा र शोषण हुनु अनुचित भए पनि अस्वाभाविक होइन । तर, मुलुकका धेरै जिल्लामा बिरलै हुने अन्धविश्वास र शोषणका घटना प्रदेश नम्बर २ मा हुनु भने चिन्ताजनक आश्चर्य हो ।
बोक्साबोक्सीको अन्धविश्वासमा मानव मलमूत्र खुवाउने वा पीडितलाई बलात्कारीकै हिल्ला लगाउने वा सिंगै गाउँलाई चोके ब्याजको चक्रमा पारेर उठीवास लगाउने घटनाहरूमा त्यहाँका राजनीतिक नेताहरूले खासै बोलेको वा विरोध गरेको सुनिदैन । यो अर्को चिन्ताजनक आश्चर्य हो ।
सम्भवतः यस्तै उदासीनताका कारण नेपालको सबैभन्दा सम्पन्न हुनुपर्ने सुगम तराई मानव विकास सूचकमा विकट कर्णालीकै हाराहारीमा छ । तराईबाट २००७ सालपछि केन्द्रको सत्तामा पनि कोही न कोही पुगेकै छन् । तराईका दलितबाहेक सम्भवतः अरू सबैको राज्य सञ्चालनमा उल्लेख्य भूमिका रहिआएको छ ।
यति हुँदा पनि तराईका गरिबहरूको शोषण घटेन । पहाडबाट झरेकाहरूको शोषणबाट बचाउनुपर्ने तराईका हुनेखानेहरूबाट त्यहाँका गरिबले झन् बढी शोषण र दमन भोगिरहेका छन् । त्यही शोषण र दमन गर्ने समूह नै अहिले राजनीतिमा पनि अगाडि भए र हो कि अन्धविश्वास र अमानवीय अपराधका विरूद्ध राज्यको संयन्त्र पनि अपेक्षाकृत उदासीन रहने गरेको हुन्छ ।
काठमाडौंका शासक र सत्ताको त्रास देखाएर शोषण, दमन र भ्रष्टाचार कायम राख्नेहरूको राजनीतिक प्रभाव रहँदासम्म सम्भवतः तराईमा शोषण, दमन, भ्रष्टाचार र अन्धविश्वासको चपेटाबाट त्यहाँका जनताले मुक्ति पाउँदैनन् । यसैले तराईको राजनीतिलाई जनमुखी बनाउनु आवश्यक देखिन्छ ।
अहिलेका राजनीतिक दलका नेताहरू सबै दृष्टिबाट विफल भइसकेको देखियो । यिनले राजनीतिक चेतनालाई सामाजिक परिवर्तनका लागि प्रयोग गर्न चाहेकै देखिँएन । यसैले तराई मानवीय सङ्कटको दुश्चक्रमा निरन्तर फसिरहेको हो । समाज परिवर्तनलाई प्राथमिकता र महत्त्व दिने राजनीतिक अभियानले मात्र तराईका गरिब, दलित र वञ्चित जनताको भलो हुने देखिन्छ ।