काठमाडौं । एफडी खुमलटार, झापा र एसएनकेसीले शुक्रबार आ–आफ्नो खेल जित्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा एफडी खुमलटारले फ्रेन्ड्स क्लब भेट्रान्सलाई ५–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । एफडी खुमलटारले पाँचौ मिनेटमा रितेश खड्काको गोलबाट अग्रता लिएको थियो । ५१औँ मिनेटमा भगवान थापाले अग्रता दोब्बर बनाए । त्यसको चार मिनेट वित्न नपाउँदै वैकल्पिक खेलाडी निमा लामाले अर्को गोल थपे । ५७औँ मिनेटमा तासी छिरिङले चोथो गोल गरे । अन्तिम मिनेटमा रितेशले व्यक्तिगत दोस्रो गोल थप्दा एफडीले सहज जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।
एफडी खुमलटारले अब फाइनल प्रवेशका लागि एसएनकेसीसँग प्रतिस्पर्धा गर्नेछ । एसएनकेसीले आजै सम्पन्न अन्तिम क्वार्टरफाइनलमा पोखरा–११ भेट्रान्सलाई ४–१ ले हराएको थियो ।
पोखरा–११ ले १२औँ मिनेटमा मनोजकुमार गुरुङको गोलबाट अग्रता लिएको थियो । तर, पोखराले अग्रता जोगाउन सकेन । एसएनकेसीका दिनेश व्यजनकारले २१औँ मिनेटमा बराबरी गोल फर्काए । बालगोपाल साहुले ४१औँ मिनेटमा गरेको गोलबाट एसएनकेसीले अग्रता लियो । सुरेन्द्रबहादुर तामाङले ५५औँ मिनेटमा गोल गर्दै एसएनकेसीको अग्रता बढायो । राकेश श्रेष्ठले इन्जुरी समयमा अर्को गोल थपेपछि एसएनकेसीले सहज विजय हासिल ग¥यो ।
त्यसअघि झापा भेट्रान्स क्बलले आजै सम्पन्न अर्को खेलमा चितवनलाई ४–० ले हराएको हो ।
झापाले अंकुरकुमार खड्गीको गोलबाट २१औँ मिनेटमा अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि रमेश गुरुङले अग्रता दोब्बर बनाए । लोकबहादुर आलेले ३२औँ मिनेटमा तेस्रो गोल थपे । नरेन्द्रमणी लिम्बुले ३९औँ मिनेटमा अर्को गोल थपेपछि झापाले अन्तिम चारमा स्थान पक्का गर्यो ।
झापाले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी भेट्रान्सले आजै पहिलो खेलमा भनिमण्डललाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।