site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयातको ग्राफ लगातार बढ्दै : तीन महिनामै व्यापार घाटा चार खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौमा देखिएको उच्च आयातको ग्राफले असोजमा पनि निरन्तरता पाएको छ । भन्सार विभागको असोजसम्मको आयात निर्यातको तथ्याङ्कअनुसार चालु आार्थिक वर्षको तीन महिनामा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजारको वस्तु आयात भएको छ । 

भदौसम्म तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात भएकोमा असोज महिनामा मात्रै एक खर्ब ६५ अर्बभन्दा बढीको आयात भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ६३.७३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । 

आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । तर, आयातको तुलनामा निर्यातको हिस्सा धेरै न्यून हुँदा व्यापार खाटा उच्च हुँदै गएको छ । पहिलो त्रैमासमा नै व्यापार घाटा चार खर्ब नाघेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजारको निर्यात भएकोमा चालु आवको सोही अवधिमा १०९.५४ प्रतिशतले बढेर ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार पुगेको छ । 

निर्यातमा १०९ प्रतिशतको बढोत्तरीका बाबजुद पनि व्यापार घाटा ५८.२८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रहेको थियो । 

आयात र निर्यात दुवैमा वृद्धि हुँदा नेपालको कुल वैदेशिक व्यापार तीन महिनामै साढे पाँच खर्ब नजिक पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको नेपालको कुल वैदेशिक व्यापार चालु आबको सोही अवधिमा ६८.१३ प्रतिशतले बढेर पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ । 

आयातित सोयाबिन तेलले धानेको निर्यात 
ग्राफमा वृद्धि देखिएको निर्यात बढाउन आयातित सोयाबिन तेलमा निर्भर देखिएको छ । कुल निर्यातमा सोयाबिन तेलको हिस्सा एक तिहाइभन्दा बढी रहेको छ । तीन महिनामा ६५ अर्बको निर्यात हुँदा २२ अर्बको सोयाबिन तेल र साढे १३ अर्बभन्दा बढीको पाम तेल र त्यससँग सम्बन्धित वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङकबाट देखिन्छ । जुन वस्तु नेपालमा तेस्रो मुलुकबाट आयात भएर सामान्य भ्यालु एडिसनपछि भारतमा निर्यात हुँदै आएको छ । 

सोयाबिन तेल र पाम तेल नेपालले आयात गर्ने शीर्ष पाँच वस्तुभित्र पर्दछ । यसले नेपालको निर्यात आन्तरिक उत्पादनभन्दा पनि आयातित वस्तुमा निर्भर रहेको प्रष्ट हुन्छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै २३ अर्ब ३२ करोडको डिजेल आयात हुँदा दोस्रोमा २० अर्ब ६० करोडको प्रशोधन नगरेको सोयाबिन तेल आयात भएको छ । त्यस्तै, टेलिफोन र इन्टरनेटसँग सम्ब्नधित सामग्री १७ अर्बको आयात हुँदा १३ अर्बको कच्चा पाम तेल आयात भएको छ । यस्तै, १२ अर्ब ८७ करोडको पेट्रोल, १२ अर्ब ८५ करोडको स्टिल बिलेट र १२ अर्ब १८ करोडको खाना पकाउने एलपी ग्यास आयात भएको देखिन्छ । 

त्यसबाहेक ११ अर्ब सात करोडको सन र १० अर्ब १७ करोडको चाँदी आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro