site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिडको मारमा सेनाको प्रतिरक्षा विश्वविद्यालय

काठमाडौँ । नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) कोभिड १९ को मारमा परेको छ । वि.सं. २०८१ भित्र तालिम सञ्चालन गर्ने उदेश्य लिएको विश्वविद्यालयले भौतिक पूर्वाधार निर्माण सुरु भए पनि बजेट अभावले निर्माणमा तिव्रता पाएको छैन । सेनामा दक्ष जनशक्ति उत्पादन गर्न र राष्ट्रिय सुरक्षा विषयमा थप शोध र अनुसन्धान गर्न प्रतिरक्षा विश्वविद्यालय बनाउन लागिएको हो । तर, सरकारले सेनाले मागेजति बजेट पठाउन सकेको छैन ।
 
कोभिड १९ का कारण सरकारले सबै शीर्षकमा १० देखि १९ प्रतिशत कटौती बजेट गरेको छ । विश्वविद्यालय पनि त्यसैको मारमा परेको हो । मागेको भन्दा कम ५० करोड मात्रै बजेट निकासा भएको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । उनले भने, “हामीले पाएको बजेटले सामान्य पूर्वाधार बनाउन मात्र पुग्छ । तर, स्रोतको सुनिश्चितता भयो र बजेट निकासा भयो भने कक्षाकोठा र छात्रावास बनाउने योजना छ ।” विश्वविद्यालय बनाउन दुई अर्ब लाग्ने बताइएको छ । 
प्रवक्ता पौडेलले सरकारबाट थप बजेट निकासा हुने आश्वासन पाएको बताए । 

हाल विश्वविद्यालयमा कक्षा कोठा तथा हल बनाउने कार्य भएको छ । यस्तै, विश्वविद्यालयको पाठ्यक्रम बनाउने तयारी भइरहेको छ । विश्वविद्यालयको आधारभूत साँगठनिक संरचना र सो संरचनाअनुरुप रहने फ्याकल्टी, अध्ययन अध्यापनको विषय छनौट गरी आवश्यक पाठ्यक्रम विकास सुरु भएको हो । यस कार्यका लागि ७ जना विभिन्न विषयका विज्ञ करारमा भर्ना स्वीकृत भएको छ । तर, हाललाई ४ जना विज्ञले पाठ्यक्रम बनाउन काम सुरु गरेका छन् ।
 
यस्तै, विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गर्न गठन भएको विधेयक र विधान मस्यौदा कार्यदलले विधेयकको मस्यौदा तयार गरिसकेको छ । उक्त मस्यौदा मन्त्रिपरिषद्मा पास गर्न पठाइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । विश्वविद्यालयको स्थापना, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अन्तिम अवधारणापत्र तयार भएको छ ।

प्रतिरक्षा विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई पठनपाठन सुरु गर्नेछ । “यहाँ स्नाकोत्तर पढाइ हुन्छ । तर पाठ्यक्रम सेनाले चाहेजस्तो हुने,” उनले बताए ।
 
कहाँ बन्दैछ विश्वविद्यालय ?
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने योजना समावेश भएको थियो । विश्वविद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनको कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन १४ माघ ०७५ मा सेनाका उपरथी ईश्वर हमालको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन भयो । जसअनुरुप प्रशासनिकलगायत कार्य अघि बढाउन २३ असार ०७६ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्पर्क कार्यालय स्थापना गरी कार्यालय सञ्चालन गरियो । २६ वैशाख ०७७ मा नाम परिवर्तन गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यालय नामाकरण भयो ।

३० मंसिर ०७६ मा मन्त्रिपरिषद्को बैठकबाट काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका वडा नं. १३ र १४ मा पर्ने पेरुङ्गे सामुदायिक वन क्षेत्रको ७५० रोपनी जग्गा नेपाली सेना, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको लागि सेनालाई उपलब्ध गराउने निर्णय भएको थियो । विकास समिति (गठन) आदेश, २०७६ जारी भई पदाधिकारी चयन गर्न १२ फागुन ०७६ मा  नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकमा पेश भई ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६’ स्वीकृत भयो । 

मन्त्रिपरिषद्बाट १७ वैशाख ०७७ मा पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा रथी बालानन्द शर्मा (अ.प्रा.) र सदस्यहरुमा प्राध्यापक डा. युवराज संग्रौला र प्राध्यापक डा. शम्भुराम सिम्खडा नियुक्त भए । तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री स्तरीय निर्णयबाट विकास समितिको कार्यकारी निर्देशकमा बिष्णु राउत तोकिए ।

हाल विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति अन्तर्गत प्राज्ञिक उपसमिति, व्यवस्थापन उपसमिति तथा भौतिक पूर्वाधार निर्माण उपसमिति र विधेयक र विधान मस्यौदा कार्यदल गठन भई सबै उपसमिति तथा कार्यदलको काम, कर्तव्य र जिम्मेवारी तोकी कार्य अघि बढेको सेनाले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro