
काठमाडौं । भक्तपुरका विभिन्न स्थानबाट स्कुटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान घर भइ भक्तपुरको थिमि बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ घर भइ भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ बस्ने २७ वर्षीय रोजन थापा छन् ।
वाग्मती प्रदेश ०२–०३७ प २४०७ नम्बरको स्कुटरको नम्बर परिवर्तन गरी वाग्मती प्रदेश ०२–०४०प ०५२४ नम्बर राखी कागेश्वरी नगरपालिका–७ मा चलाइरहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुलेको छ ।
सोधपुछको क्रममा सो स्कुटर दावासँग मिलेर बिक्री गर्ने योजनाबारे साजनले खुलाएका थिए । दावालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएका थिए । सोही आधारमा रोजनसँग सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ वर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपछि बा६६प८७८५ नम्बरको स्कुटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सो स्कुटर काठमाडौंको सानोगौचरणबाट हराएका भन्दै विकास लामाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
साजन भने हाल फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनजनामाथि भने आवश्यक छानबिन भइरहेको छ ।