site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किसानलाई बाढीबारे समयमै सूचना किन दिइएन ? कमजोरी कसको ? 

काठमाडौँ । कोभिडको कहर त छँदै थियो । अघिल्लो वर्षभन्दा कोरोना संक्रमण कम भएको हुँदा हर्षोल्लासका साथ देशभर हिन्दुहरुको पर्व दसैं मनाइरहेको समय थियो । 

कात्तिकको १ गतेदेखि नै अब अविरल वर्षा भयो त्यसपछि किसानलाई एक्कासी बज्रपात भयो । 

वर्षदिन लगाएर उमारेको धान खेतमै डुुबेपछि किसानहरु चिन्तित छन् । कतिपय किसान कात्तिकमा पानी के पर्ला र भन्दै पाकेको धान दसैं सकेपछि काट्ने योजनामा थिए ।

कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि आइतबार र सोमबार लगातार वर्षा भएपछि क्षति पुगेको हो । कैलालीमा ५० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत काट्न बाँकी छ । कैलालीमा क्षतिको यकिन हुन सकेको छैन भने कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान गरिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली, कञ्चनपुर मात्र होइन पहाडी सात जिल्लामा परेको पानीले बालीनालीमा क्षति पुुगेको छ । पानीले पहाडी जिल्लाको धानमा क्षति पुगे पनि यकिन विवरण आइसकेको छैन । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये कैलालीमा ७२ हजार हेक्टर, कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा धान खेती गर्ने गरिएको छ ।

पाकेको धान काट्न मात्रै बाँकी रहँदा खेतै डुबानमा परेपछि मुलुकमा खाद्य संकट आउन सक्ने आकलन कतिपयले गरेका छन् ।

अर्कोवर्ष चामलको मूल्य बढ्ने अनुमान पनि अहिले नै भएका छन् । नेपाल सन् २०२१ को ‘ग्लोबल हङ्गर इन्डेक्स’मा ११६ देशमा ७६औँ स्थानमा परेको छ । यो भनेको गम्भीर खाद्य संकटमा पर्नु हो । सामान्य वर्षमा पनि प्रतिवर्ष करिब ४ लाख मेट्रिक टन चामल आयात गर्नुपर्छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले (संयुक्त राष्ट्रसंघको) खाद्य तथा कृषि सङ्गठनसँग मिलेर ‘क्लाइमेट–स्मार्ट एग्रिकल्चर इन्भेष्टमेन्ट प्लान’ (जलवायुमैत्री कृषि लगानी योजना) को कार्यान्वयन सुरु गरेको छ । यस पञ्चवर्षे योजनाका लागि करिब ७० अर्ब नेपाली रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । यस्तै, प्रत्येक शुक्रबार जल तथा मौसम विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को बैठक बस्ने गर्छ । बैठकबाट आउँदो साता मौसम कस्तो रहन्छ भनेर मौसम बुलेटिन प्रकाशित गरिन्छ । 

उक्त जानकारी कृषि मन्त्रालय र नार्कको आफ्नै प्रचारप्रसार विभागले सम्बन्धित कृषकसमक्ष पुर्‍याउनुपर्छ । यसका लागि मन्त्रालयले मोबाइल एसएमएसदेखि रेडियो र टेलिभिजनमा प्रचारप्रसारमा समेत खर्च गर्ने गरेको छ ।

तर विडम्बना मौसम विभाग र नार्कलाई पूर्व जानकारी भए पनि समयमै कृषकलाई जानकारी दिएनन् । समयमै जानकारी नपाएपछि कात्तिकमा पानी के पर्ला र भन्दै पाकेको धान कृषकले खेतमै छाडे । त्यसको भयावह परिणाम अहिले किसानले नै भोगिरहेका छन् । जानकारी हुँदाहुँदै पनि किन किसानले थाहा पाएनन् त ? नार्कका बाली निर्देशक रामबहादुर केसी भन्छन्, “हामी चुकेकै हौँ । प्रचारप्रसारको कमी भएकै हो । भरपर्दो रुपमा मौसमको सूचना दिने प्रणाली भएको भएदेखि तुलनात्मक क्षति कम गर्न सकिन्थ्यो ।” 

मौसम विभागको वेबसाइटमा असोज ३१ मा सूचना प्रकाशित भएको छ । जसमा बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केहीदिन नेपालको मौसम प्रभावित हुने बताइएको थियो । सोमबार र मंगलबार विशेष गरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ (मंगलबार देखि) का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको उल्लेख छ । 

मौसम विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलल हरेक शुक्रबार बैठक बस्ने गरेको र गएको साता र आउँदो साता कहाँ कस्तो मौसम रहन्छ भनेर प्रक्षेपण गर्ने गरेको र नार्कका विज्ञले सोही अनुसार बालीनाली के गर्ने भनेर योजना बनाउने गरेको बताउछिन् ।

भन्छिन्, “किसानले सूचना नै पाएनन् । पहिले जस्तो होइन, अहिले ८० प्रतिशत भविष्यवाणी मिल्ने गर्छ । विभागको पूर्वानुमानलाई गम्भीर रुपमा लिएर सूचना सम्प्रेषण गरेको भए बालीको क्षति कम हुन सक्थ्यो ।”

उनकाअनुसार नार्कले सोही प्रक्षेपणलाई आधार मानी धानबाली काट्न मौसम हेरेर गर्नुस् है भनेर मोबाइलमा एसएमएस पनि पठाएको छ । तर जुन स्तरमा कृषकसमक्ष त्यो सूचना पग्नुपर्ने हो, पुगेको छैन । 

“हामी पनि फिल्डमा गएका थियौँ । किसानले सूचना पाएका छैनन्,” उनले थपिन्, “यसको लागि स्थानीय सरकार सक्रिय हुनुपर्ने देखिन्छ । वडा कार्यालय या विद्यालयमा सूचना पुग्यो भने कृषकले जानकारी पाउँदा रहेछन् ।” 

यस्तै, विगतमा मौसम सम्बन्धी जानकारी दिने उपकरणको कमी हुँदा सही प्रक्षेपण गर्न नसके पनि हाल जलवायु सूचना परिपक्क हुने गरेको मौसमविद् कँडेल बताउँछिन् । 

सन् २००९ को अक्टोबर ६, ७ र ८ मा अविरल वर्षा हुँदा यस्तै क्षति भएको उदाहरण दिँदै त्यसबेला प्रक्षेपण गर्ने उपकरण नभएपछि अब भने नेपालमा सही प्रक्षेपण गर्न सकिने उनले दाबी गरिन् । 

यसका लागि जलवायु सूचना विस्तारै सबै क्षेत्रमा उपयोग गर्न थालियो भने यस्ता किसिमका क्षति कम गर्न सकिने उनको भनाइ छ । 

“अहिले मौसम विज्ञानले यकिन गरेर निश्चित क्षेत्रमा पानी पर्छ भन्न सकेको छैन,“ उनले भनिन्, ”तर यो जिल्ला र प्रदेशमा पर्न सक्छ भनेर स्थान पहिचान गर्न सफल भएको छ । तपाईँहरुले महसुुस गर्नुभएको होला ।”

नेपालमा मनसुन सिजन जुन महिनादेखि सेप्टेम्बरसम्म पर्छ । पोष्ट मनसुन अक्टोबर नोभेम्बरका महिना हुन् । साउथ एसियन क्लाइमेट आउटलुक फोरमले तीन महिनाको लागि लागि रिपोर्ट प्रकाशित गरेको थियो । जसमा अक्टोबर महिनामा नेपालमा भारी वर्षा हुने प्रक्षेपण गरेको थियो ।

बुधबार कृषि मन्त्रालयले टोली गठन गरेर विज्ञसहित शुक्रबार सातै प्रदेशमा पठाउँदैछ । प्रदेश सरकारले केही मात्रामा आकलन गरेर र त्यो रिपोर्ट आउनेक्रममा रहेको कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ डा. माधव प्रसाद पौडेलले जानकारी दिए । साथै उनले धानमा कति क्षति भएको भन्ने कुरा सातै प्रदेशमा विवरण पठाउन परिपत्र गरिसकेको बताए । 

यस्तै, बैठकमा विशेषगरी कृषि मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नार्कको सहकार्यमा प्रत्येक प्रदेशमा एउटा विज्ञ टोली खटाएको हो । उक्त टोलीले क्षतिको अवस्था के छ ? प्रदेश सरकारले गरिरहेको कार्यलाई परिष्कृत गर्ने, प्रदेश र संघमा के कति बजेट छुट्टाइएको छ कृषकलाई राहत दिन सिफारिस गर्ने बताइएको छ । 

उक्त विवरण आएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल गरेर अर्थ मन्त्रालयको समन्वयमा अझै थप राहत दिन सकिन्छ भनेर सोच बनाउने, आगामी वर्ष यस्ता क्षति नहोस् भनेर न्यूनीकरणका उपायहरु अपनाउने निर्णय गरेको नार्कका बाली निर्देशक केसीले बताए ।

उनकाअनुसार अहिले धानबाली र तराईका माछा पोखरीमा बाढीले ठूलो क्षति पुुर्‍याएको अवस्था छ । 

उनले बुधबारबाट वर्षा कम परेकोले भिजेको धानलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको बताए । उनले स्थानीय मिलमा प्रयोगमा आएका सुकाउने यन्त्रको प्रयोग गर्नेबारे समेत छलफल चलेको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro