धान थन्क्याउने बेला परेको कुेलाको वर्षाले यस वर्ष पनि किसानलाई ठूलो क्षति पुर्याएको छ । बालीको बिमा व्यवस्था व्यावहारिक र व्यापक नभएका कारण व्यक्तिगतरूपमै पूरै क्षति सहनुपर्दा किसान ऋणमा डुब्ने निश्चित प्रायः देखिन्छ ।
पहिले दसैं नलाग्दै वर्षा थामिन्थ्यो । दसैं मनाएपछि बाली भित्र्याउने चटारो हुन्थ्यो । चरामुसा लागे पनि यसरी काटेर सुकाएको धानको पाँजा नै भिजाउने गरी पानी पर्दैनथियो । तर, केही वर्ष यता जलवायु परिवर्तनका कारण कुबेला पर्न थालेको पानीले बाली धान बाली बिगार्न थालेको छ ।
आयात गरेर पेट भर्ने बानी परेका शासकहरूका लागि कुबेलाको झरीले धानको पाँजा नै डुब्दा पनि खासै चिन्ता नलागेको हुनसक्छ । तर, यसले आयातमा निर्भरता बर्सेनि बढाउँदै लगेको छ । केही वर्षसम्म अन्न निर्यात गर्ने मुलुक समग्रमा मात्र होइन ‘अन्नको भण्डार’ मानिने नेपालको तराईमा समेत चामल आयात गर्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा सरकारले दिने अनुदान किसानका लागि अर्थहीन हुँदैगएको छ र अन्न, सागपातजस्ता मौसमी बाली लगाउने किसान खेतीबाटै विस्थापित हुँदैछन् । यही क्रम चलिरहे केही वर्षमै नेपालले भीषण भोकमरीको सामना गर्नुपर्ने हुनसक्छ । अहिले खेती कहिल्यै नजितिने जुवामा बाजी थाप्नुजस्तो पो भएको छ ।
मूलतः जलवायु परिवर्तनका कारण अहिलेको समस्या उत्पन्न भएको हो । तर, विश्वका दुई ठूला प्रदूषकका बीचमा रहेको नेपालले चाहँदैमा जलवायु परिवर्तनको प्रभाव रोक्न खासै केही गर्न सक्तैन । यसैले नेपालले आफूलाई अनुकूल हुनेगरी त्यसको सामना गर्ने रणनीति अपनाउनुको विकल्प देखिँदैन ।
कुनै प्राकृतिक कारणले बाली नोक्सान भए पनि किसानलाई क्षति नहुने एउटा उपाय कृषि बिमालाई व्यापक र सहज बनाउनु हुनसक्छ । यसैगरी मौसम विज्ञानमा भएको प्रगतिले धेरै हदसम्म मौसम पूर्वानुमान गर्न सकिने भएको छ । तर, बेलैमा किसानसम्म जानकारी पुग्ने संयन्त्र र अभ्यास छैन । मौसमको सही सूचना सकेसम्म चाँडै किसानसम्म पुग्ने व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ ।
राज्यले अब तमासा हेरेर नबसोस् । ठूला कुरा होइन किसानलाई उत्पादन बढाउन अभिप्रेरित गर्न ठोस सहयोगको खाँचो छ । अर्को वर्ष बेलैमा बाली बिमा व्यापक र व्यावहारिक बनाउने र यसपटक तत्काल विवरण संकलन गरेर किसानलाई परेको नोक्सानको भर्ताल सरकारले गरिदेओस् । पाकेको धान खेतैमा डुबे पनि किसान नडुबून् । आखिर किसानलाई राज्य चाहिने यस्तै अवर पर्दा त हो नि !