site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

दसैँकै बेला प्रहरीको गोली लागेर रूपन्देहीको मोतिपुरमा आइतवार चार जनाको मृत्यु भएको छ । यस घटनाको कार्य कारण र परिणाम जे होला तर अहिले यसले मारिनेहरूको मात्र होइन सबै नेपालीको दसैँ खल्लो भएको छ । 

रूपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रका लागि भनेर छुट्ट्याइएको जमिनमा बाहिरबाट आएका मानिसहरूले कब्जा गर्न खोज्दा भिड आक्रामक भएकाले गोली प्रहार गर्नुपरेको प्रहरीले स्पष्टीकरण दिएको छ । झडपमा तीसौँ जना प्रहरी पनि घाइते भएका बताइएको छ । 

मोतिपुरको जमिनमा औद्योगिक क्षेत्रका लागि सरकारले छुट्ट्याएको भए पनि त्यस क्षेत्रमा बस्दैआएकाहरूले स्वीकार गरेका थिएनन् । त्यहाँ औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा पनि स्थानीय बासिन्दा र प्रहरीबीच भिडन्त भएको थियो । यसैले समस्याको जडमा शासकीय अहङ्कार रहेको स्पष्टै बुझिन्छ । 

KFC Island Ad
NIC Asia

सार्वजनिक जमिन कब्जा गर्न आउनेहरूलाई रोक्नु प्रहरीको कर्तव्य पनि हो । तैपनि, निहत्था व्यक्तिहरूको ज्यानै जाने गरी प्रहरीले गोली प्रहार गर्नु हुँदैनथियो । भिड आक्रामक हुन खोजेको भए प्रहरी पछि हटेको भए पनि ठूलै क्षति हुनेथिएन । 

यसैले घटनाको निष्पक्ष छानबिन गराएर अनावश्यक र अनुचित बल प्रयोग भएको पुष्टि भएमा दोषीलाई कसुरअनुसारको सजाय हुने सुनिश्चित गरिनुपर्छ । यस्ता घटनामा दोषी अधिकारीहरूलाई उन्मुक्ति दिने प्रचलन कायम रहेकाले नै प्रहरी ज्यादती बढेको हो ।  

Royal Enfield Island Ad

विभिन्न जिल्लाबाट केही दिन यता मोतिपुरमा जग्गा कब्जा गर्नेहरूको भिड बढेको यथार्थ हो भने घटनामा भूमाफियाको चलखेल कारक रहेको पनि पुष्टि हुन्छ । विगतमा धेरै ठाउँमा धेरैपटक जग्गा पाइने लोभले भूमाफियाको चंगुलमा परेर धेरै परिवारले सास्ती पाएका छन् ।  

भूमाफियाका सदस्यहरूले जग्गा बाँड्ने हल्ला फिँजाएर सार्वजनिक जमिन कब्जा गर्न लगाउने र दर्ता गर्ने भन्दै पैसा उठाएर भाग्ने गरेको अनेकौं घटना भइसकेको छ । मोतिपुरमा जग्गा कब्जा गर्न आउनेहरू पनि कसैको उक्साहट र खेलमा परेर आएको हुनसक्छन् ।

जमिनमा देखिएका निहत्था नागरिकमाथि गोली वर्षाएर समस्या समाधान हुँदैन । राजनीतिकरण गरेर पनि यस्ता घटना नदोहोरिने होइन । यसैले सबैभन्दा पहिले सार्वजनिक जग्गा लुट्न उक्साउने तत्त्व पत्ता लगाई कारबाही गर्नुपर्छ । 

वास्तविक सुकुमवासीलाई भने उनीहरूकै थातथलोमा बसाउनुपर्छ । पहाडमा पुर्ख्यौली जमिन बाँझो राखेर तराईमा सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति निरुत्साहित नगरे सुकुमवासी समस्या कहिल्यै समाधान हुँदैन र मोतिपुरको जस्तो दुःखद घटना दोहरिइरहनेछ ।

प्रहरीको गोलीबाट धमाधम नागरिक मार्नुलाई गृहमन्त्रीले पौरख ठानेका छैनन् भने तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही गराऊन् । झडपमा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोरोस् । जग्गा कब्जा गर्न उक्साउने तत्त्व पत्ता लगाई जनतालाई ठगिन र भ्रमित हुनबाट जोगाउन सरकारी संयन्त्रले ध्यान देओस् । 

भिडन्तमा घाइते प्रहरी र जनसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना !  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro