काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यु जारी छ ।
निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रहरीले हटाउन खोज्दा आइतबार दोहोरो झडप भएको थियो । घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ । ‘‘अहिले यहाँको अवस्था नियन्त्रणमै छ । हटाइसकेका सुकुम्बासी आउन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी नै रहन्छ । घटनाले उग्ररूप लिँदा चारजनाको मृत्यु भयो । मृत्यु भएका मध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का २० वर्षीय रमेश परियारको सनाखत भइसकेको छ । अन्य तीनजनाको आज दिउँसो सनाखत हुनेछ,” सूचना अधिकारी थापाले भने ।
झडपमा परी प्रहरी र नागरिक गरी ४७ जना घाइते भएका उनले जानकारी दिए । ‘‘१६ जना सर्वसाधारण घाइते भएका छन । १५ जना सशस्त्र प्रहरी घाइते भए । १६ जना नेपाल प्रहरीबाट घाइते भएका छन् । घाइतेहरूको नेपाल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । अहिले प्रजिअ यही घटनालाई लिएर बुटवल जानुभएको छ । सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गर्न जानुभएको हो,” उनले भने ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सो क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।