काठमाडौं । न्यायका लागि नेपालगञ्जदेखि २० दिन पैदल यात्रा हिँडेर काठमाडौं आएकी रुबी खान आमरण अनशनमा बसेकी छन् । उनले नेपालगञ्जमा प्रहरी हिरासतबाटै आमरण अनशन थालेकी हुन् ।
उनलाई पक्राउ गरेर जबरजस्ती नेपालगञ्ज पुर्याइएको हो । खानमाथि बहुविवाहको मुद्दा दायर गरिएको छ । आन्दोलन दबाउन उनीविरुद्ध बदनियतपूर्वक मुद्दा हालेको बुझिएको छ ।
निर्मला कुुर्मी र नन्कुन्नीदेवी धोबीको शंकास्पद हत्या भएकोमा प्रहरीले अनुसन्धान नगरेको भन्दै रुबीसहित पीडित र १४ अभियन्ताहरू काठमाडौं आएका थिए । माइतीघर मण्डलामा आन्दोलनमा बसिरहेका उनीहरूलाई शुक्रबार साँझ प्रहरीले खाना खाइरहेको अवस्थामा धरपकड गरेको थियो । खानलाई नेपालगञ्ज पुर्याइयो भने अरूलाई सिंहदरबारको प्रहरी कार्यालयमा राखियो ।
धरपकडमा लाठी चार्ज हुँदा आन्दोलनकारीहरू घाइते भएका छन् । निर्मला कुर्मीको हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीले प्रहरी लगाएर आन्दोलन दबाउन धरपकड गरेको उनीहरूको आरोप छ ।
नन्कुन्नीदेवीकी भाइ माताप्रसाद धुर्वीले प्रहरीले शान्तिपूर्ण आन्दोलन गरेर साँझको खाना खान सुरु गर्दैगर्दा अचानक आएर लछारपछार गरेर सबैलाई पक्राउ गरेर भ्यानमा कोचेको बताए । उनले भने, “हामी माथि लाठी चार्ज भयो । यो सबै बादशाह कुर्मीले गरेको हो । हामी डराएका छैनौँ । न्याय नपाएसम्म फर्कदैनौँ ।”
यस्तै आन्दोलनमा सहभागी रीना चमारले धरपकड गर्दा रुबीको हिँडेर उठेका ठुल्ठुला फोका लाठीले फुटाएर प्रहरीले हिँड्न नसक्ने बनाएको दाबी गरिन् । प्रहरीको धरपकडपछि सबैको झोला भेटिएको तर रुबीको झोला नभेटिएको उनको भनाइ छ । “त्यसमा ल्यापटप, कागजात र खर्चपानीका लागि ५० हजार थियो,” उनले भन्छिन्, “हामी न्याय नपाएसम्म यहाँबाट जाने छैनौँ । रुबी दिदीलाई नछोडेसम्म र हत्या भएका महिलाले न्याय नपाएसम्म छोड्ने छैनौँ ।”
प्रहरीले अरू आन्दोलनकारीलाई शनिबार बिहान ११ बजे पुनः माइतीघरमै ल्याएर छोडिदिएको थियो । तर, खानलाई भने नेपालगञ्ज लगियो । उनीविरुद्ध प्रहरीले बहुविवाहको मुद्दा दायर गरेको छ । भदौ २५ मै खानलाई समात्न पक्राउ पुर्जी पाएपनि काठमाडौं आएपछि समात्नुले प्रहरी कार्बाहीलाई शंकास्पद रूपमा हेरिएको छ । हाल आन्दोलनको नेतृत्व गरिरहेकी सकिना तेलीले प्रहरीले छोडपत्र गरिसकेकी खानलाई बहुविवाह मुद्दा हाल्नु गलत भएको औँल्याइन् । उनले भनिन्, “आठ वर्षअघि उहाँको डिभोर्स भइसक्यो । बहुविवाह कसरी हुन्छ ? फेरि पक्राउ पुर्जी भदौ २५ को छ, अहिले किन गिरफ्तार गरियो ?”
यसबारेमा प्रहरीसँग सोध्दा केन्द्रीय प्रहरी कार्यालयका डीआइजी वसन्तकुमार लामाले खानलाई अदालतले पक्राउ पुर्जी दिएकाले गिरफ्तार गरेको बताए । “अरू आन्दोलनकारी हकमा उनीहरूले अशान्तिपूर्वक आन्दोलन गरी अवरोध पुर्याएको भएरै समातेको हो । यदि प्रहरीले गल्ती गरेको रहेछ भने छानबिन गरेर हामी कारबाही गर्छौँ,” उनले भने ।
अभियन्ताहरूले गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलसँग वार्ता गरेका छन् । गुह मन्त्रालयले धरपकड गर्दा लाठी चार्ज गर्ने प्रहरी माथि छानबनि गरिने र दुई महिलाको हत्याको विषयमा छानबिन गरिने आश्वासन दिएको तेलीले बताइन् ।
घटनाको वस्तुस्थितिबारे नेपालगञ्ज प्रहरीलाई सोध्दा एसपी श्यामकृष्ण अधिकारीले नन्कुन्नीदेवीले आत्महत्या गरेको बताए । तर, अहिले हत्याको आरोपमा पति र जेठानलाई गिरफ्तार गरी जिल्ला कारागार नेपालगञ्ज राखेको जानकारी दिए । उनले भने, “पोस्टमार्टन रिपोर्टमा आत्महत्या नै देखिएको छ । तर, उहाँहरू मान्नुहुन्न । आत्महत्या दुरुत्साहन भने मुद्दा चलाउन सकिन्थ्यो ।”
यस्तै, उनले निर्मला कुर्मीको केस निकै पुरानो भएकाले उनी मरेकै भन्ने कुनै प्रमाण नभेटिएको र यसबारेमा छानबिन भइरहेको बताए । हाल जिल्ला प्रशासन कार्यालय बाँके प्रमुखविहीन छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको बिहीबार सरुवा भएपछि कार्यालय प्रमुुख विहीन बनेको हो । तर, सोचनीय कुरा के हो भने एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले छानबिन राम्रोसँग नगरेको भन्दै उनीहरूलाई कारबाही गर्न अभियन्ताहरूले माग गरेका छन् । गेलालले पनि जानुअघि उनीहरूविरुद्ध विभागीय कारबाही गर्ने प्रक्रिया बढेको बताएका थिए ।
साउन ५ मा नन्कुन्नीदेवी झुण्डिएको अवस्थामा कोठामा फेला परेकी थिइन् । तर, मातादेव धुर्वीले दिदी नन्कुन्नीदेवीलाई बिहे भएको ७ वर्षमा बारम्बार कुटपिट गर्ने र मार्ने धम्की दिएको र अहिले हत्या गरेको बताए । चौतर्फी दबावपछि प्रहरीले बल्ल पति रामकुमार धोबी र उनका दाजुलाई गिरफ्तार गरेको तर कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको उनले बताए ।
यस्तै, निर्मला कुर्मीको हत्यामा संलग्न नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मी अहिलेसम्म पक्राउ परेका छैनन् ।