![नयाँ विजेताको पखाईमा ईपीएल : बदला लिने पोखराको लक्ष्य, पुरानो प्रदर्शन दोहोर्याउन चितवन प्रतिबद्ध](https://12khari.top/uploads/posts/epl1633748964.jpg)
काठमाडौं । एभरेष्ट प्रिमियर लिगको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्समध्ये जसले जिते पनि प्रतियोगिताले नयाँ विजेता पाउनेछ । चितवन र पोखरा दुबैले प्रतियोगितामा पहिलो पटक फाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगिताको पहिलो संस्करण पञ्चकन्या तेजले जितेको थियो । त्यतिबेला टिमको नाम व्यापारिक घरनाहरुको नामबाट राखिएको थियो । दोस्रो संस्करणबाट फ्रेन्चाइज टिमहरुको नाम परिवर्तन गरियो । त्यसपछि दोस्रोमा विराटनगर र तेस्रोमा ललितपुर प्याट्रियट्सले उपाधि उचाले । दुबैमा भैरहवा ग्लाडियटर्स उप विजेता बनेको थियो । भैरहवाको कप्तानी शरद भेषावकरले गरेका थिए ।
प्रतियोगितामा पहिलो पटक शरदले कप्तानी गरेको टिम नहुने भएको छ । पहिलो संस्करणमा शरदले कप्तानी गरेको पञ्चकन्या तेजले उपाधि जितेको थियो । दोस्रो र तेस्रोमा भैरहवा उपविजेता बनेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः१५ बजे हुने खेलमा पोखरा र चितवन दुबैका कप्तानले ईपीएलमा पहिलोपटक फाइनल पुगे पनि त्यसको दबाब लिएर नखेल्ने बताएका छन् ।
‘‘यस प्रतियोगितामा पहिलो फाइनल हो । तर, हामीले यसअघि पनि अन्य प्रतियोगितामा धेरै फाइनल खेलिसकेका छौं,’’ पोखराका कप्तान विनोद भण्डारीले भने, ‘‘त्यसैले आज फाइनलको दबाब लिएर खेल्नुभन्दा पनि अर्को एउटा खेल मानेर खेल्नेछौं ।’’
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
पोखराले जारी संस्करणमा दुई पटक चितवनसँग प्रतिस्पर्धा गरिसकेको छ । लिग चरणमा पोखराले एक खेलमात्र हारेको थियो । त्यो चितवनविरुद्ध नै थियो । चितवनले शीर्ष र पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाए । क्वालिफायर्समा पनि दुई टोलीले प्रतिस्पर्धा गरे । दुबै पटक चितवनले पोखरालाई ९ विकेट हराएको थियो ।
तर, चितवनका कप्तान सोमपाल कामीले विगतको नतिजाले फाइनलमा केही अर्थ नराख्ने बताउँछन् ।
‘‘विगतमा कस्तो नतिजा आयोभन्दा पनि भविष्यमा राम्रो गर्नका लागि खेल्ने हो । यो विल्कुलै नयाँ खेल हो । त्यो दिन जसले राम्रो क्रिकेट खेल्छ उसले उपाधि जित्ने हो । हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं,’’ सोमपालले भने ।
पोखराले लिग चरणको खेलमा चितवनलाई सात विकेट गुमाएर १२३ रनको लक्ष्य दिएका थियो । जुन चितवनले १६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । चितवनका मोहम्मद शाहजाद ६३ र भिम सार्की ५४ रनमा अविजित रहेका थिए ।
क्वालिफायर्समा पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । ६७ रनको लक्ष्य चितवनले ७.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । यस खेलमा पनि शाहजादले ४८ रन बनाए ।
पोखराका कप्तान विनोद भण्डारीले ओपनरले राम्रो खेल्यो भने फाइनलमा राम्रो नतिजा ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
‘‘दुबै खेलमा हामीले पहिले ब्याटिङ गर्यौं । राम्रो स्कोर खडा गर्न सकेनौं । ओपनिङमा केही समस्या देखिएको छ । रिचार्ड लेभीले राम्रो साथ पाइरहेका छैनन् । उनलाई नेपाली ब्याट्सम्यानले राम्रो साथ दियो भने राम्रो योगफल बनाउन सकिन्छ,’’ विनोदले भने, ‘‘विश्वास छ फाइनलमा त्यो समस्या समाधान हुनेछ ।’’
चितवनका कप्तान सोमपालले विगतको नतिजा दोहर्याउने विश्वास व्यक्त गरे । उनी भन्छन् ‘‘क्रिकेट बल र ब्याटको खेल हो । पाँच बलमा छक्का लाग्यो भने खेलको अवस्था परिवर्तन हुन्छ । र पाँच बलमा पाँच विकेट गयो भने पनि खेलको अवस्था परिवर्तन हुन्छ । त्यसैले खेलमा के हुन्छ भन्न सकिँदैन । तर, हामीले प्रतियोगितामा धेरै मिहिनेत गरेका छौं । राम्रो नतिजा निकालेका छौं । त्यसलाई फाइनलमा पनि निरन्तरता दिनेछौं ।’’