site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जबरजस्ती यौन व्यवसायमा लगाइएका पाँच किशोरीको काठमाडौंबाट उद्धार
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन व्यवसायमा लगाइएका पाँच किशोरीको उद्धार गरिएको छ । माइती नेपाल, केन्द्रीय अनुसन्धान ब्युरो र गौशाला प्रहरीको सहयोगमा ती किशोरीहरूको उद्धार गरिएको हो । 

माइती नेपालले मंगलबार दिएको जानकारीअनुसार गत आइतबार दिउँसो छापा मारेर १६ देखि १९ वर्ष उमेर समूहका किशोरीको उद्धार गरिएको हो । 

पीडित किशोरीहरूले ४० वर्षीया एक महिला र उनका ३३ वर्षीय श्रीमानविरुद्ध जाहेरी दिएका छन् । आरोपित महिला सिन्धुपाल्चोक पुख्र्यौली घर भई हाल मुलपानीस्थित तिवारी टोलमा बस्दै आएकी छन् । आरोपित दुवै जनाविरुद्ध आफ्नै घरमा कोठी सञ्चालन गरेको तथा नाबालिग किशोरीहरूमाथि श्रम शोषण गरेको भनी जाहेरी परेको छ ।

माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले मुलुकभित्रै विशेषगरी सहरीक्षेत्रमा आन्तरिक बेचबिखनसँगै देह व्यापार बढिरहेको जानकारी दिए । उनले रेस्टुरेन्ट, मसाज पार्लर, गेस्ट हाउस हुँदै पछिल्लो समय घर नै भाडामा लिएर देह व्यापार हुने गरेको बताए । 

“यस्ता घटनामा अधिकांश नाबालिग युवतीलाई संलग्न गर्ने गरेका घटना धेरै छन् । मुलपानीबाट उद्धार गरेका नाबालिग किशोरी प्रतिनिधि पात्रमात्र हुन्,” उनले भने ।

गत वर्ष माइती नेपालले आन्तरिक बेचबिखन गरी जबरजस्ती देह व्यापारमा संलग्न गराएका ६० किशोरीको उद्धार गरेको थियो । 

पत्रकार सम्मेलनमा पीडित किशोरीहरूले आफूहरूलाई एक दिनमै १७ जनासँगसम्म जबरजस्ती यौन सम्पर्क राख्न लगाउने गरेको बताए । एक किशोरी दुई वर्षदेखि र बाँकी केही महिनादेखि देह व्यापारमा संलग्न रहेको उनीहरूले बताएका छन् । 

यस्तै, किशोरीहरूमध्ये तीन जना आरोपितकै घरमा डेरा गरी बसेको र दुईजना अन्तै बस्ने गरेको उनीहरूले बताएका छन् । आरोपितले यौन व्यवसायका लागि दुईवटा कोठा प्रयोग गर्दै आएको पीडित किशोरीले सुनाए । आरोपितले पीडितलाई घरको काममा लगाउने बाहना गरेर जबरजस्ती यौन क्रियाकलापमा राखेको पीडितहरूको भनाइ छ । 

यौनकार्य गरेपछि प्रतिव्यक्ति न्यूनतम दुई सयदेखि पाँचसय रुपैयाँसम्म दिने गरेको, रासन र घर भाडाखर्च भन्दै आरोपितले उल्टै ऋण लागेको भन्दै तलब नदिने पीडितहरूको गुनासो छ । किशोरीमध्ये ३ जनाले १९ देखि ५० हजारसम्म आरोपितलाई ऋण तिर्न बाँकी रहेको बताए । 

यसैगरी, पीडितहरूलाई आरोपितले कुटपिटसमेत गर्ने गरेको पाइएको छ । उद्धार गरिएका पीडितमध्ये १६ वर्षकी किशोरीको ११ महिनाको सन्तानसमेत रहेको छ । पीडितहरू काभ्रे, रामेछाप र सिन्धुपालचोक जिल्लाका हुन् । उनीहरू सबै साक्षर भएपनि एक जनाले कक्षा १० सम्म र बाँकी निम्म माध्यामिक तहसम्म पढेका छन् । 

घरको आर्थिक अवस्था कमजोर भएपछि पढाइ छोड्न बाध्य हुनुुपरेको र जागिरको खोजीमा आरोपितको सम्पर्कमा पुगेको पीडितहरूको भनाइ छ । पीडितहरूले हिजै अदालतमा बयान दिइसकेका छन् ।

दसैँ आउन लागेकाले अदालत १५ दिन बन्द हुने हुँदा त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने माइती नेपालकी अधिवक्ता उमा तामाङले जानकारी दिइन् । उनकाअनुसार प्रमाणका आधारमा नाबालिग र शरीर बेचबिखनको मुद्दा भएकाले १० देखि १५ वर्षको सजाय हुनसक्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro