काठमाडौं । तेक्वान्दोका प्रशिक्षक दीपक विष्ट नेपाल ओलम्पियन संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्न सफल विष्टले बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष रबीराज थापालाई हराएका हुन् । विष्टले ४१ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी थापाले चार मत ल्याएका थिए ।
संघको उपाध्यक्ष पदमा प्रणित तुलाधर निर्वाचित भए । उनले ४६ मत ल्याएका थिए । उनका प्रत्यासी रघुराज वन्तले एक मत ल्याए । महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
त्यस्तै महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा पनि निर्विरोध भएका थिए । सदस्यका लागि भएको निर्वाचनमा राजकुमारी पाण्डे, बिमला रानामगर, कान्छीमाया कोजु, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भए । सदस्य पदका लागि बिमला रानामगरले सबभन्दा धेरै ४४ मत ल्याए ।
तीन मत ल्याएका कमलबहादुर अधिकारी निर्वाचित हुन सकेनन् ।