कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित तीन जनाले डोल्पाको एउटा विद्यालय उद्घाटन गर्न हेलिकप्टर चडेर गएछन् । उनीहरूलाई आतिथेयले ४० किलो तौलको माला लगाई दिएछन् । हेलिकप्टरको भाडामध्ये केही भने स्थानीय जगदुल्ला गाउँपालिकाले बेहोर्ने रहेछ ।
मन्त्रीहरू मालाले थिचिएर अरठ्ठ परेजस्तो देखिने तस्बिर अहिले सामाजिक सञ्जालमा व्यापक९भाइरल ० भएको छ। यथार्थमा मालाको भारीले अतिथि र आतिथेय दुवैको संस्कार तथा सौन्दर्य चेतको पोल खोलेको छ।
अतिथि नै यसरी मालाले थिचिँदा कार्यक्रमको शोभा बढेजस्तो भने देखिएन । यद्यपि, विद्यार्थी बालबालिका र किशोरवयका विद्यार्थीलाई भने हाँस्ने विषय भएको हुनुपर्छ । जेहोस्, सामाजिक सञ्जालमा फैलिएको तस्बिर देखेपछि ती मालाधारी मन्त्रीहरूलाई नै लाज लाग्यो कि १
माला कस्तो र कहिले लगाउने पाहुना हुने र बोलाउनेकै छनोट हो । सार्वजनिक व्यक्तिहरूले बालबालिकासमेत उपस्थित हुने सार्वजनिक कार्यक्रममा यस्तो भद्दा प्रदर्शन गरेकालेमात्रै यो आलोचनाको विषय बनेको हो । सार्वजनिक खर्चमा हेलिकप्टरको प्रयोग भने यस प्रकरणमा आपत्तिको विषय हो ।
हुनत, संघीयता विरोधी कतिपयले ४० किलोको मालालाई पनि संघीयताकै विकृतिका रूपमा चित्रण गरेका छन् । परन्तु, यो संघीयताको नभएर व्यक्तिहरूको खोटो प्रवृत्ति र मानसिकताको परिचायक हो । कर्णालीका मुख्यमन्त्रीको भद्दा प्रदर्शन संघीयताले गराएको होइन ।
त्यसो त, सबैजसो राजनीतिक दलका बहुसङ्ख्यक नेता कार्यकर्ता मौका पर्नेबित्तिकै यही शैलीको भद्दा चमकदमक र विलासी जीवनशैली अपनाउन मरिहत्ते गर्ने गरेको देखिएको छ । तर, सार्वजनिक खर्चमा ‘मोज’ गर्ने प्रवृत्ति नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्तामा बढी नै देखिन्छ ।
कर्णालीको भौगोलिक अवस्थिति र सडक यातायातको पहुँचका कारण कतिपय अवस्थामा हेलिकप्टर प्रयोग गर्नु बाध्यता पनि बन्न सक्छ । तर, सार्वजनिक खर्चमा गरिने हेलिकप्टर सयरको भने औचित्य पुष्टि हुँदैन । विद्यालय उद्घाटनमा मुख्यमन्त्री नजाँदा बित्यासै त पर्ने थिएन नि !
स्वास्थ्य केन्द्र पुग्ने उपाय नहुँदा ज्यान फाल्नुपर्ने क्षेत्रका प्रतिनिधिलाई विद्यालय उद्घाटनका लागि सार्वजनिक खर्चमा हेलिकप्टर चड्न यथार्थमा लाज र ग्लानि दुवै हुनुपर्ने हो । तर, जति नै आलोचना गरे पनि यिनले सार्वजनिक सम्पत्ति लुट्न छाडेनन् ।
यिनको विकृत मानसिकताको उपचार नैतिकताको पाठ वा औचित्यको खोजीजस्ता नरम उपायबाट हुनसक्ने देखिँदैन । सचेत नागरिकहरूले सामाजिक सञ्जालमा देखाउने आक्रोश र वितृष्णा संगठितरूपमा निर्वाचनमा व्यक्त भयो भनेमात्र यस्ता सामन्ती रहर बोकेका पाखण्डीहरू राजनीतिबाट फालिनेछन् । सम्भवतः अबको अन्तिम उपाय यही हो ।