काठमाडौं । भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याचले आइतबार माल्दिभ्समा यही असोज १५ गतेदेखि हुने साफ च्याम्पियनसिप फुटबलको लागि २३ सदस्सीय टिमको घोषणा गरेका छन् ।
भारत फुटबल टिमले साफका लागि खेलाडी र प्रशिक्षणमा सहयोगी टोली सोमबार बैंग्लोरमा जम्मा भएर मंगलबार माल्दिभ्स जाने जनाएको छ । मुख्य प्रशिक्षक स्टिम्याच र अरू प्राविधिक टोली भने सिधै माल्दिभ्स जाने भारतीय फुटबल संघले जनाएको छ ।
साफ च्याम्पियनसिपमा भारत, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा सबै टोलीले एकापसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘‘हामी दक्षिण एसियाको शीर्ष टोलीका रूपमा साफ च्याम्पियनसिपमा सहभागी हुदै छौँ । यस प्रतियोगिताका चार÷पाँच खेल हाम्रो लागि एकदम महत्त्वपूर्ण छ । एएफसी एसियन कप छनोटका लागि पनि साफ हाम्रो लागि महत्त्वपूर्ण हुनेछ,’’ भारतका मुख्य प्रशिक्षक स्टिम्याचले भने, ‘‘साफले हाम्रो खेलमा सुधार गर्न पनि सहयोग गर्नेछ ।’’
भारतले सातपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । भारतले लाहोरमा सन् १९९३, काठमाडौंमा १९९७, गोवामा १९९९, कराचीमा २००५, ढाकामा २००९, नयाँ दिल्लीमा २०११ र केरलामा सन् २०१५ मा उपाधि जितेको थियो । भारतले असोज १८ गते बंगलादेशविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
भारतीय टिम :
गोलकिपर– गुरप्रित सिंह, अमृन्दर सिंह र विशाल कैथ ।
रक्षक– प्रितम कोटल, सेरिटन फर्नान्डेज, चिङलेसाना सिंह, राहुल भेके, सुभासिस बोस र मन्दर राओ देसाई ।
मिडफिल्डर– उडान्त सिंह, ब्रान्डन फर्नान्डेज, लेलेङमाविआ, अनिरुद्ध थापा, सहल अब्दुल समाद, ज्याक्सन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कोलाको र यासिर मोहम्मद ।
फरवार्ड– मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री र फारुख चौधरी ।