बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर)लाई पहिरोपीडित क्षेत्रको निरीक्षणमा जाँदा साेमवार स्थानीय युवकले मुड्कीले हानेछन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो गएको लामो समयसम्म सरकारले बेवास्ता गरेकोमा ती युवक रिसाएका रहेछन् ।
यसरी कसैलाई मुड्की हान्नु पक्कै उचित होइन । साथै, कानुनले पनि कसैलाई मुड्की हान्नुलाई दण्डनीय फौजदारी अपराध मानेको छ । नैतिक दृष्टिले पनि यस्तो कार्य हिंसा मानिन्छ । यसैले यो घटना निन्दनीय हाे ।
मुक्का हान्ने युवकलाई प्रहरीले पक्रिसकेको छ । उनीमाथि कारबाही चलाउन बुटवल उपमहानगरपालिका र मेयरको पार्टी नेकपा (एमाले)ले कारबाहीको माग गरेको थियो । संयोग, मुक्का हान्ने युवक पनि एमाले समर्थकै रहेछन् ।
सरकारले त्यसमा पनि स्थानीय तहले नै उपेक्षा गर्दा पीडितको चित्त दुख्नु भने अस्वाभाविक वा अनुचित होइन । त्यस्तो अवस्थामा शान्तिपूर्ण रूपमा विरोध प्रकट गरिनु स्वाभाविक हुन्थ्यो । तर, बुटवलका ती युवकले भने विरोध प्रकट गर्ने गलत शैली अपनाए ।
शारीरिक आक्रमणमै जाइलाग्नेले कानुनबमोजिम न्यायोचित सजाय पनि पाउनुपर्छ । त्यसो भयो भने जनमानसमा हिंसात्मक उपायप्रति वितृष्णा बढ्छ । तर, त्यस्तो कारबाही न्यायोचित र अपराध सापेक्ष हुनुपर्छ ।
साथसाथै, बुटवल उपमहानगरपालिकाका मेयरलगायत देशका सबै स्थानीय तहका पदाधिकारीले आफ्नो व्यवहार, कार्यशैली र जनताका सुखदुःखमा आफ्नो भूमिकाका सम्बन्धमा पनि पुनर्विचार गर्नु जरुरी देखियो । सबै तहमा सबैजसा निर्वाचित पदाधिकारी र कर्मचारी जनअपेक्षा पूरा गर्न विफल जो भएका छन् ।
हिंसालाई राज्यले सहजरूपमा लिँदा नागरिकले आक्रोश प्रकट गर्न यस्तै उपाय रोज्न सजिलो ठान्छन् । नेपालमा त करिब डेढ दशकदेखि हिंसा दण्डित होइन पुरस्कृत हुँदैआएको छ । यसैले युवा पुस्ता हिंसामा आकर्षित भएको हुनुपर्छ ।
निकट अतीतमा केही पूर्वप्रधानमन्त्रीमाथि समेत आवेशजन्य आक्रमण भएका छन् । यस्ता आक्रमण गर्नेमा मूलतः तिनका आफ्नै सहयोगी थिए । तैपनि, तिनले आफ्नो जीवनशैली र व्यवहारमा भने परिवर्तन गरेको देखिएको छैन ।
यसको अर्थ के हो भने नेता र सरकारी कर्मचारीमाथि आक्रमण हुने जोखिम घटेको छैन । यसैले राज्यको विभिन्नतहमा जिम्मेवारी लिएका अधिकारीहरूले आफ्नो कर्तव्य पालनमा ध्यान दिऊन् । फलस्वरूप, कुनै पीडितले सरकारी अधिकारीमाथि हात नछाडुन् ।
सामाजिक सञ्जाल र समाजमा भने कुटाइ खानेप्रति नभएर कुट्नेप्रति समर्थन एवं सहानुभूति व्यापक हुन्छ । यसबाट पनि जनमानसमा शासकहरूप्रतिको वितृष्णा उजागर हुन्छ । चुनावमा जानुभन्दा पहिले नै केही नसके जनतासँग क्षमा याचना गर्न नबिर्स !