दसैंताका यात्रुको भिड बढ्छ तर तदनुरूप सडक मर्मत र यातायातको साधनको बन्दोबस्त भने गरिँदैन । फलस्वरूप, बर्सेनि दसैंको मुखमा भयावह दुर्घटना बढ्छ र घर फर्कने सबैजसाले सधैँजसो सास्ती भोग्छन् ।
यस वर्ष पनि बर्खा सकियो । हिउँद अधिकांश नेपालीको हिँडडुल गर्ने यामै हो । त्यसमा पनि बहुसंख्यक नेपाली दसैं मनाउन घर फर्कने हुनाले सडक मार्गमा बढी नै घुइँचो हुन्छ ।
उता, बर्खामा पानीले बिगारेको सडकको मर्मत भने बेलैमा गरिँदैन । पूर्ववपश्चिम राजमार्गदेखि गाउँ गाउँमा पुग्ने सहायक सडकहरू सबै थोत्रिएका छन् । यसैले यात्रा कष्टकरमात्र होइन जोखिमपूर्ण पनि हुन्छ ।
यस वर्ष त झन् पानी बढी नै परेको थियो । बाढी, पहिरो र अव्यवस्थाले सडक धेरै ठाउँमा नराम्रोसँग बिगारेको छ । यसैले यस वर्षको यात्रा थप असुविधाजनक र असुरक्षित हुने जोखिम बढेको छ ।
सडकहरू राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारका मातहतमा छन् । आआफ्ना मातहतका सडक मर्मत सम्भार गरी तयार अवस्थामा राख्ने दायित्व पनि तिनैको हो । तर, सडक मर्मतमा तिनले ध्यान दिएको देखिएन ।
दसैंका लागि बसको टिकट अग्रिम बुकिङका लागि सूचना सार्वजनिक भइसक्यो । अझै पनि नौरथा लाग्न तीन साता जति छ । अहिले पनि सडकहरूको सर्सर्ती मर्मत गरे आवागमनलाई अपेक्षाकृत सुरक्षित र सुविधानक बनाउन सकिन्छ ।
यसैले सबैतहका सरकारहरूले आफूमातहतका सडकहरूको अवस्था हेरी तत्काल मर्मत सम्भार गरून् । यसैगरी सम्बन्धित निकायले दसैं नलाग्दै यातायातका साधनको भौतिक अवस्थाको पनि जाँच गरोस् । कम्तीमा दसैंमा घर फर्कनेले सरकारहरूको अस्तित्व र औचित्यको जानकारी पाऊन् ।
सार्वजनिक यातायात र सडकको व्यवस्था प्रधानमन्त्रीकै मातहतमा रहेको छ । यतिबेला त कम्तीमा जनताको सुरक्षा र सुविधाको हेरविचार सरकारले गरोस् न ! प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष मातहतमा भएका बेला सडक यातायात सुलभ, सुरक्षित र सुविधाजनक थियो भन्न पाइए पो !