site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सबै स्थानमा एकैपटक विद्यालय सञ्चालन गर्नु हुँदैन’
फाइल तस्बिर ।

काठमाडौं । आउँदो असोज १ गतेदेखि विद्यालय खोल्न सरकारले स्वीकृति दिएको छ । अभिभावक भने चिन्तित छन् ।

असोज २१ गतेदेखि दसैँ सुरु हुन्छ । त्यसपछि विद्यालय स्वतः बन्द हुने अवस्थामा चाडपर्वको मुखमा विद्यालय खोल्नुको औचित्य खोजिरहेका छन् अभिभावक । उनीहरूले कोरोना संक्रमणको त्रास कायमै रहेको स्थितिमा विद्यार्थीलाई विद्यालय पठाउन नसकिने प्रतिक्रिया सामाजिक सञ्जालमा दिइरहेका छन् ।

घना बस्ती र अत्यधिक विद्यार्थी संख्या भएका ठाउँमा विद्यालय खोल्न हतार गर्न नहुने नेपाल अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी बताउँछन् । उनले भने, “कोरोनाको तेस्रो लहर आउँछ र त्यसले बालबालिकालाई प्रभावित पार्छ भनिसकेको छ । सबै स्थानमा एकैपटक विद्यालय सञ्चालन गर्नु हुँदैन ।”

माध्यमिक तहसम्मको विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहले पाएका छन् । तर, प्रभावकारी काम गर्न चुकेका छन् । कोरोना संक्रमणको बेला विद्यालयमा न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन चाहिने स्रोत जुटाउन सकेका छैनन् । अध्यक्ष भण्डारी भन्छन्, “केहीलाई छोडेर अधिकांश स्थानीय सरकारले नेतृत्वदायी भूमिका खेल्न सकेकै छैन । विद्यालयमा चाहिने मास्क, स्यानिटाइजर, ज्वरो नाप्ने उपकरण र भौतिक दूरी समेत कायम गराउन सकेको छैन ।”

मुलुकभरि नै खोपको व्यवस्थापन हुन थालेकोले विद्यालय खोल्ने पक्षमा छन् धुलिखेल नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार बेञ्जु श्रेष्ठ । “करिब दुई वर्षदेखि विद्यार्थी घरमै थुनिएका छन् । यस्तो भइराखेमा एउटा पुस्ता नै बिग्रिन सक्छ । त्यसैले विद्यालय खोल्नुपर्छ,” उनले भने ।

उनी भन्छन्, “धुलिखेलमा हामीले ९७ प्रतिशतलाई खोप लगाइसक्यौँ । सरकारले खोप भन्डारमा राखेको छ, तर अहिलेसम्म ३० प्रतिशतभन्दा बढीलाई लगाउन सकेको छैन ।”

काभ्रेमा सरकारले स्वीकृति दिनुअगावै साउनदेखि विद्यालय सञ्चालनमा छन् । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीका विद्यालयहरू पनि खुलेका छन् ।

बुटवल उपमहानगरपालिकाले असोज १ गतेदेखि नै विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ । हाल भौतिक रूपमा पठनपाठन गर्न नसकिने स्थानमा शिक्षा मन्त्रालयले तोकेका वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ ।

परीक्षण पुगेन
महामारीलाई बेवास्ता गर्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार अहिले पनि हरेक दिन परीक्षण गरेको कम्तीमा १० प्रतिशत पोजिटिभ केस देखिन्छ । “त्यो भनेको ठूलै परीक्षण गरिरहेका छैनौँ,” उनले भने, “कम जाँचेर कम देखिएको होे ।”

डा. सुवेदी समग्र देशका बारेमा सोच्नुपर्ने बताउँछन् । “काठमाडौंमा ठूलाबडाले खोप लगाइसके । तर, जहाँ खोप लगाउन पाएको छैन, बालबालिका बिरामी भए देखाउने ठाउँ पनि छैन, ती ठाउँका बारेमा सोच्नुपर्‍यो विद्यालय खोल्ने कि नखोल्ने ।”

मुलुकभर सबै शिक्षकले नै कोरोनाविरुद्धको खोप लगाउन नपाएको अवस्थामा एउटै निर्णय सबै ठाउँमा लागु गर्न नहुने उनको सुझाव छ । स्थानीय क्षेत्रमा संक्रमण कति फैलिएको छ, कतिलाई संक्रमण भइसक्यो र कतिले खोप लगाइसके तथ्यांक हेर्नुपर्ने उनले स्पष्ट पारे ।

उनले भने, “संक्रमित कम भएको र खोप लगाएको ठाउँमा खोल्दा ठिक होला । तर, संक्रमणदर उच्च रहेको र खोप पनि कम लगाएको ठाउँमा दसैँ–तिहारपछि खोल्दा ठिक होला ।” विद्यालय खोल्ने कुरा व्यापारबाट निर्देशित हुन नहुने उनी बताउँछन् ।

दसैँ, तिहार र विद्यालय खोल्दा धेरै मानिस एकै ठाउँमा जमघट हुँदा भिडभाड हुन्छ । संक्रमणदर बढाउने सम्भावना हुन्छ । तर, एक्कासि अहिले तेस्रो लहर भने नआउने डा. सुवेदीको भनाइ छ ।

उनी भन्छन्, “नयाँ तेस्रो लहर त आउँदैन, तर यही लहरमा साना–साना उभार भने आउन सक्छ । तेस्रो लहर आउँछ भनेर विद्यालय नखोल्ने भन्ने सही होइन । तर, विद्यालय खोल्नुअघि गर्नुपर्ने गृहकार्य हामीले गरेका छैनौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro