स्वास्थ्य सेवा देशका लागि कति महत्त्वपूर्ण हुँदोरहेछ भन्ने महामारीका बेला छर्लङ्ग भयो । विश्वभर समाजस्तरमा समेत स्वास्थ्यकर्मीको योगदानको उच्च मूल्याङ्कन गरियो । महामारीविरूद्ध अग्रपङ्क्तिमा खट्नेहरू समाजमा ‘नायक’का रूपमा स्थापित भए । किन ?
किनभने उनीहरूले आफ्नो जिन्दगी नै दाउमा राखेर अरूको जीवन बचाएका थिए । जीवनदाताका रूपमा समाजले स्वास्थ्यकर्मीको सम्मान गरेको हो । जीवनदाताका रूपमा विख्यात यिनै स्वास्थ्यकर्मीले महामारीविरुद्धको खोप अभियान रोक्लान् भनेर कल्पना पनि गर्न सकिने विषय होइन ।
दुर्भाग्य, वाग्मती प्रदेशका सबै जिल्लामा आइतवारदेखि कोभिड -१९ विरुद्धको खोप वितरण रोकिएको छ । वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहका कर्मचारी सचिव हुने प्रस्तावित प्रावधानको विरोधमा उत्रेका स्वास्थ्य समूहका कर्मचारी खोप लगाउन रोकेका छन् ।
स्वास्थ्यकर्मीहरूको माग उचित हुनसक्छ तर उनीहरूले त्यसका लागि दबाब दिन अपनाएको उपाय भने नैतिक र कानुनी दुवै दृष्टिबाट ‘अपराध’ हो । कोभिड-१९ विरुद्धको खोप वितरण अभियान महामारी नियन्त्रणमा कति महत्त्वपूर्ण हुन्छ भन्ने जानकार त स्वास्थ्यकर्मी नै छन् ।
सम्भवतः सरकारको संवेदनहीनता र हेपाहा प्रवृत्तिका कारण स्वास्थ्यकर्मीहरू आफ्नै पेसाको मर्यादाविपरीतको निर्णय लिन पुगेको हुनसक्छ । बेलैमा उनीहरूसँग संवाद गरेर मागको उचित सम्बोधन गरिएको भए यस्तो अनुचित र अप्रिय निर्णय स्वास्थ्यकर्मीले पक्कै गर्ने थिएनन् ।
परन्तु, सरकार वा अरू कसैमाथि दबाब दिन महामारीविरुद्धको खोप वितरण अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भने कुनै पनि अवस्थामा उचित ठान्न मिल्दैन । यसैले स्वास्थ्यकर्मीहरूले खोप वितरण यथाशीघ्र पुनः सुरु गर्नुपर्छ । खोप अभियान सञ्चालन गर्न कसैले पनि किन्तु, परन्तु गर्नु हुँदैन ।
स्वास्थ्य समूहका कर्मचारीले पक्कै पनि खोप वितरण रोक्ने अप्रिय र अनुचित निर्णय गर्नुपूर्व यस विषयमा असन्तुष्टि प्रकट गरेकै हुनुपर्छ । सम्बन्धित उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वले त्यसमा ध्यान दिनुपर्थ्यो । तर, सधैँजसो बेला नबिती नबिउँझने प्रशासन यन्त्रले यसपटक पनि बुद्धि पुर्याउन सकेको देखिएन ।
राजनीतिक नेतृत्वको कौशल र क्षमता देखिने वा आवश्यक हुने यस्तै अवस्थामा हो । तर, पद जोगाउने घनचक्करबाट बाहिरै निस्कन नसक्नेहरूसँग अहिले कौशल वा क्षमताको अपेक्षा गर्नु नै सायद मूर्खता हुन्छ ।
यसैले स्वास्थ्यकर्मीहरूले आफ्नो माग पूरा गराउन दबाबका अरू उपाय अपनाए पनि खोप वितरण रोक्ने काम नगरुन् । खोप वितरणमा बाधा पुगिरह्यो भने सरकारले अप्रिय कदम चाल्नुपर्ने हुन्छ ।
महामारीको सङ्कटमा युद्धस्तरमा गर्नुपर्ने खोप वितरणमा पनि असहयोग गर्न स्वास्थ्यकर्मी कसरी तयार भए ? दुःखद आश्चर्य !
* यसैबीच यही माग पूरा गराउन कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अवरुद्ध नगरिने जानकारी स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुखले दिएका छन् । उनको भनाइ सही ठहरियोस् । वाग्मतीका स्वास्थ्यकर्मीले खोप वितरणमा अवराेध नगरून् !