
काठमाडौं । नेपाली सेनाले भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । आउँदो असोज ४ देखि १७ गतेसम्म हुन लागेको सैन्य अभ्यास परम्पराकै निरन्तरता रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतमा झैँ यसपटक पनि संयुक्त सैन्य अभ्यास हुन लागेको जानकारी दिए । यो अभ्यास १५औँ संस्करण रहेको उनले स्पष्ट पारे ।
विगतदेखि नै सैन्य अभ्यास आलोपालो गरी भारत र नेपालमा हुँदै आएको छ । सन् २०१९ मा कोरोनाको कारणले रोकिए पनि त्यसपछि क्रमशः भइरहेको उनले बताए । गत वर्ष नेपालमा अभ्यास भएपछि यस वर्ष भारतको पिथौरागढमा हुन लागेको हो ।
तर, नेपाल भारत–सीमा विवाद, दार्चुलाका तुइन प्रकरण र गत साता दार्चुलामा भारतीय सैनिकले अनुमतिबिना हेलिकोप्टर उडाएको घटनाबीच हुन लागेको सैन्य अभ्यास कतिको सही भन्दै आम मानिसमा प्रश्न उठिरहेको छ ।
सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात संयुक्त सैन्य अभ्यासलाई सकारात्मक रूपमा हेनुपर्ने धारणा राख्छन् । सरकार–सरकारबीचको सम्बन्धभन्दा पनि राष्ट्र–राष्ट्रबीचको सम्बन्ध महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनी भन्छन्, “यस्ता अभ्यासले भोलि आउने साझा चुनौतीको सामाना गर्न सहज हुनेछ । ज्ञानको आदानप्रदान र आफ्नो मुलुकमा नभएका स्रोत–साधन सिक्न पाउने अवसर पनि हुन् ।”
उनका अनुसार नेपाल र भारत सम्बन्ध क्षेत्रीय सुरक्षा सम्बन्धमा ठूलो योगदान दिने राज्य सञ्चालनको संयन्त्र हो । “नेपाल–भारत सैनिक कूटनीतिबाट सैन्य अभ्यास गरिन्छ, त्यसले राष्ट्र र सैनिकबीचको सम्बन्ध सुदृढीकरण त हुन्छ नै,” उनले थपे, “यो सैन्य तालिमको निरन्तरता भएकोले अहिले उठेको नेपाल–भारतबीच उठेको सीमा विवादलाई पर राखेर हेर्नुपर्छ ।”
डेढ महिनाअघि दार्चुलाका ३३ वर्षीय धामी तुइन चढेर सुदरमुुकाम आउन खोज्दा भारतीय एसएसबीले तुुइन काटेपछि उनी महाकाली नदीमा खसे । हालसम्म धामीको शव फेला परेको छैन । घटनाबारे सत्यतथ्य जानकारी लिन सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले एसएसबीलाई नै दोषी ठहर्याएको छ भने सरकारले हिजो मात्र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई घटनाबारे जानकारी दिएको छ ।
यस्तै, गत हप्ता दार्चुलामा नै भारतीय सैनिकले अनुमतिबिना हेलिकोप्टर उडाएको बारे सरकार मौन छ । त्यस क्षेत्रका गुल्मपतिले भारतीय सेनासँग हेलिकोप्टर उडानबारे जानकारी मागेको बुुझिएको छ ।
यसबारेमा सेनासँग जिज्ञासा राख्दा प्रवक्ता पौडेलले जंगी अड्डालाई जानकारी नभएको बताए । तर, उनले जिल्ला सुरक्षा समितिमा त्यस क्षेत्रको सेनाको गुल्मपति पनि सदस्य रहने पुष्टि गरे । जिल्ला प्रशासन प्रमुुखसहित रहेको सो बैठकले भारतीय प्रशासनलाई हेलिकोप्टर उडानबारे निवेदन पठाएको थियो ।
छिमेकीसँगको विवादलाई कसरी सम्बोधन गर्ने ?
भारतसँग सीमा विवाद त छँदै छ, साथमा भएका यस्ता घटनालाई विद्यमान संयन्त्रबाट उठाउनु उचित हुने उपरथी बस्न्यातको भनाइ छ । उनले समग्रमा हाम्रो सिमानामा आउने समस्या के हो ? तल्लो निकायदेखि माथिल्लो निकायसम्मै विस्तृत अध्ययन गरेर परराष्ट्र मन्त्रालयबाट छलफल अगाडि बढाउनुपर्ने बताए । भारतले नाकाबन्दी गर्दा सैनिक कूटनीतिले राम्रो भूमिका खेलेको स्मरण गर्दै उनले विश्वमा संयुक्त सैन्य अभ्यास गर्ने परम्परा रहेको बताए । उनी भन्छन्, “यसमाथि प्रश्न उठाउन आवश्यक छैन ।”
सीमा विवाद समाधान गर्नैपर्ने सुरक्षाविज्ञहरू बताउँछन् । सुरक्षा विश्लेषक इन्द्र अधिकारी राष्ट्रियता र सार्वभौमसत्ताजस्ता गहन विषयमा एकमत नहुँदा यस्तो खालको समस्या आउने बताउँछिन् । उनी भन्छिन्, “हामीबीच एकमत छैन । हावाको भरमा नियम बनाउँछौँ । राष्ट्रियता र सार्वभौमसत्तामा सबैको बुझाइमा एकमत छैन । प्रतिकार गर्ने र समझदारी बनाउनेमा पनि एकमत छैन ।”
संयुक्त सैन्य अभ्यासको कुरालाई भने सकारात्मक रूपमा लिनुपर्ने विश्लेषक अधिकारीको भनाइ छ । उनले नेपाली सेना र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको भन्दै सैन्य कूटनीतिक बलियो रहेको जिकिर गरिन् । उनले दार्चुलाको ‘केस’मा सरकारले छानबिन समिति बनाएर परिपक्वता देखाएको बताइन् ।
उनका अनुसार प्रतिवेदनले सरकारलाई बोल्ने आधार दिनेछ । “तर, कार्यान्वयनमा किन यति ढिलो ? त्योचाहिँ म पनि छक्क परिरहेको छु,” उनले भनिन् । उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धका मुद्दा र सिमाना विवादका मुद्दालाई आन्तरिक राजनीतिक खपतका विषय नबनाउने हो भने सरकारले गरेको सञ्चारलाई सबैले सुन्न बाध्य हुन्छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै दुइटा छानबिन समिति गठन गरेको छ । भारतसँगको विवाद समाधान नगरेर चीनसँग हुँदै नभएको विवादमा लागेर सम्बन्ध बिगार्न लागेको भन्दै सरकारको चर्को आलोचना हुने गरेको छ । यसरी सरकारको आलोचना गर्नु गलत अभ्यास भएको विश्लेषक अधिकारी बताउँछिन् । उनी भन्छिन्, “आफ्नो क्षेत्रको अवस्था के कस्तो छ भनेर अध्ययन समिति बनाउँदा छिमेकी देशसँगको सम्बन्ध कसरी बिग्रिन्छ ? शक्ति राष्ट्रको सबैको चरित्र एउटै हो । सबैले आफ्नै स्वार्थ हेर्ने हुन् ।”
दार्चुलामा हेलिकोप्टर उडान भने भारतको हेपाहा प्रवृत्ति भएको उनको बुुझाइ छ । भारतले धेरै कुरामा हेपाहा प्रवृत्ति देखाउने गरेको उनले बताइन् । “कतिपय बेला त्यो मौका हामीले पनि दिने गरेका छौँ,” उनले भनिन् ।
संयुक्त सैन्य अभ्यास
सैन्य अभ्यासमा बटालियन लेभलका ३०० सैनिक प्रमुख सेनानीको नेतृत्वमा सहभागी हुन लागेका छन् । यस्तै, भारतबाट भने ३५० सैनिक सहभागी हुनेछन् । उक्त अभ्यासमा जंगल वारफेयर र काउन्टर इन्टरजेन्सीलगायत अभ्यास हुनेछ ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को लागि तयार पारेको ‘प्रोटोकल’को पालना गरी अभ्यास गरिने जंगी अड्डाले जनाएको छ । अभ्यासमा जाँदा सैनिकले दुई डोज खोप लगाएको हुनुपर्ने, ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट बुझाउनुपर्नेछ । भारतीय सेनाको हकमा पनि सोही कुरा लागु हुनेछ । नेपालले चीनसँग पनि सैन्य अभ्यास गर्दै आएको छ ।