site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनक शिक्षाको प्रश्न– पाठ्यसामग्री नपाएपछि कसरी छाप्नु ?

काठमाडौं । कक्षा–१२ को पाठ्यपुस्तक विद्यार्थीले अझै पाएका छैनन् । निजी प्रकाशन गृहका सन्दर्भ सामग्री प्रशस्त रहे पनि पाठ्यपुस्तक बजारमा छैन । अनिवार्य विषयहरू अंग्रेजी, नेपाली, जीवन उपयोगी तथा सामाजिक अध्ययन र गणितलगायत विषयका पाठ्यपुस्तक बजारमा पाइँदैन ।

नियमानुसार कक्षा–१ देखि १२ का सबै पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्नुपर्छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तक छाप्न तयार गरेर पीसीआर (प्रिन्ट रेडिएबल कपी) जनक शिक्षामा पठाउनुपर्छ । तर, जनक शिक्षाले अहिलेसम्म नेपाली पाठ्यपुस्तक मात्र छाप्न पाएको जनाएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रबाट नेपाली विषयको मात्र पाठ्यसामग्री पीसीआर पाएको बताए । उनले भने, “जनकले अन्य विषयको पाठ्यक्रम पाएको छैन । नपाएपछि कसरी छाप्नु ?”

यता, पाठ्यक्रम विकास केन्द्रले भने नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषय छाप्न जनक शिक्षालाई सम्पूर्ण सामग्री पठाइसकेको जनाएको छ । केन्द्रका निर्देशक गणेश भट्टराई साउन २० गते नेपाली र अंग्रेजी जनक शिक्षामा छाप्न पठाएको दाबी गर्छन् ।

उनले कक्षा ५ देखि १२ सम्मको किताब बाहिर कसैलाई पनि प्रकाशन गर्न दिन नमिल्ने बताउँदै भने, “निजीले प्रकाशन गरेको थप पाठ्यसामग्री हो । निजीले आफैँ लेखेर स्वीकृति लिएर प्रकाशित गरेको पुस्तक स्वीकृतिपत्र लिएर बजारमा बिक्री गर्न पाउँछन् ।”

उनले सर्वोच्च अदालतको फैसलाले गणितलाई अनिवार्य विषयमा राखेकोले यसको पाठ्पुस्तक बन्न समय लाग्ने बताए । उनी भन्छन्, “गणितको लेखन कार्य भइरहेको छ । यो अहिले पठाउन सक्दैनौँ । गणित बाहिरबाट विकास भएका किताबलाई पाठ्यसामग्रीको रूपमा स्वीकृति दिएका छौँ ।” बजारमा अभाव नहोस्, विद्यार्थीको हातमा किताब पुगोस् भनेर निजीलाई छाप्न स्वीकृति दिएको उनको भनाइ छ ।

०७५ कात्तिक १५ गते पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनक शिक्षाले कक्षा–१ देखि १२ सम्मका विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने र निजी मुद्रक तथा वितरकले कक्षा–१ देखि ४ सम्मका विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने निर्णय गरेका थिए । पाठ्यक्रम जनक शिक्षाले नै छाप्न पाउने अधिकार भएको निर्देशक भट्टराईले बाह्रखरीलाई बताए ।

कक्षा–१२ को पाठ्यक्रम योपालि नयाँ हो । जनक शिक्षाका अनुसार निजी प्रकाशन गृहले गणित र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा समेत छापेर बिक्री–वितरण गरेका छन् ।

निजी प्रकाशन गृहमध्ये एड्भान्स सरस्वती प्रकाशन प्रालिले कक्षा–११ को सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाको पाठ्यपुस्तक छापेको छ । सुकुन्दा पब्लिकेसन प्रालिले कक्षा–११ को गणितको पाठ्यपुस्तक छापेको छ । सुकुन्दाले कक्षा–१२ को गणितको पाठ्यपुस्तक पनि छापिसकेको छ । जबकि, कक्षा–१२ को गणितको पाठ्यक्रम केन्द्रले बनाउनै भ्याएको छैन ।

केन्द्रको यस्तो ‘बदनियत’ यो पहिलोपटक नभएको जनक शिक्षाका एक अधिकारीले बताए । उनले ०५६ अघिसम्म जनक शिक्षाले आफैँले लेखक छान्ने, पाठ्यसामग्री तयार गर्ने र छापेर बिक्री–वितरण गर्ने गर्थ्यो । तर, पछि छाप्नेबाहेक सबै काम केन्द्रले नै गर्न थाल्यो । जनक शिक्षाले छाप्न पाउनुपर्नेमा त्यो पनि केन्द्रले निजीलाई दिएको उनको आरोप छ । लेखकको पारिश्रमिक भने जनक शिक्षाले नै व्यहोर्ने गर्छ ।

निजी प्रकाशनले छापेका पुस्तक सबै सन्दर्भ सामग्री हुन् । नियमानुसार जनकले छापेका सबै पाठ्यपुस्तक विद्यालयले पढाउनुपर्छ । तर, जनकले समयमै पुस्तक छाप्न सामग्री नपाउने र निजीले केन्द्रको स्वीकृति लिई धमाधम छाप्ने र बेच्ने गर्न थालेपछि जनकका पुस्तकहरू गोदाममै थन्किने गरेका छन् ।

शिक्षाविद् विद्यानाथ कोइराला जनक शिक्षाले समयमै पाठ्यपुस्तक पु¥याउन नसकेपछि निजी प्रकाशन गृहलाई छपाइको अधिकार दिनुपर्छ भनेर आवाज उठाउनेमा आफूहरू पनि रहेको भन्दै त्यो गल्ती भएको स्वीकारे । निजी प्रकाशन गृहले सस्तो कागज प्रयोग गरेर महँगोमा बेच्ने र जनक शिक्षाले समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन नसक्ने हुँदा विद्यार्थीहरू सधैँ मर्कामा पर्ने गरेको उनको भनाइ छ ।

निजी प्रकाशन गृहले सन्दर्भ सामग्री कक्षा–१ देखि १२ सम्मै प्रकाशन गरेका छन् । साना कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तकको ठाउँमा सन्दर्भ सामग्री किन चाहियो ? भन्ने प्रश्नमा निर्देशक भट्टराईले स्पष्ट जवाफ दिएनन् । कक्षा–१० सम्म कतिवटा सन्दर्भ सामग्री पढाउन पाउने त्यसको निर्क्योल पनि केन्द्रले गर्न सकेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro