
काठमाडौं । ‘शैक्षिक माफिया होसियार’, बिल देखा पैसा लैजा’, ‘महामारीसँग लड्ने कि कलेज प्रशासनसँग ?’, ‘अनलाइन पढाउने, हाम्लाई केही नबुझाउने’, ‘पूरै शुल्क तिराउने, व्यापार बढाउने’ लगायत लेखिएको पम्प्लेट बोकेर युवाहरू सडकमा नारा लगाइरहेका थिए ।
यो माइतीघरको दृश्य हो । १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले बानेश्वरदेखि विरोध र्याली गर्दै माइतीघरमा पुगेर इन्जिनियरिङ कलेजको छाता संगठन एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन) र इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)विरुद्ध नाराबाजी हुन् ।
कोभिड–१९ का कारण दुई सेमेस्टर पूरै अनलाइन पढेका उनीहरूले प्रयोग नगरेका सबै शीर्षकको पूर्ण शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । विगत दुई सातादेखि विद्यार्थीहरू आफू अध्ययनरत क्याम्पस परिसरमा आन्दोलन गरिरहेका थिए । आजदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।
यता, एकोनले हिजो विज्ञप्ति निकाल्दै कोभिड–१९ को चौतर्फी प्रभावका कारण सामाजिक उत्तरदायित्व बहन गर्दै ०७७ को ब्याचका विद्यार्थीका लागि अधिकतम सीमा शुल्कमा गर्नैपर्ने स्वाभाविक वृद्धिसमेत नगरी ०७६ कै ब्याचको सीमा शुल्कमा रही शुल्क निर्धारण गरेको उल्लेख गरेको छ ।
यस्तै, अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्दा सञ्चालन खर्च (अतिरिक्त क्रियाकलाप, मसलन्द खर्च आदि) मा केही कमी आउने विषयलाई ध्यानमा राखी चालु सेमेस्टरको शिक्षण शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेर एकोनका सदस्य कलेजले लागु गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुँदा शिक्षक तथा कर्मचारीहरूको तलब, घर भाडा, बैंकको ब्याज, सरकारको कर तथा अरू दस्तुरहरूलगायत खर्चमा कुनै कमी नआएको भन्दै अतिरिक्त क्रियाकलाप सञ्चालन खर्चमा १० प्रतिशतको आधारमा हुन आउने कुल छुट रकम बढी नै हुने एकोनका अध्यक्ष लक्ष्मण पोखरेलको भनाइ छ ।
एकोनले गैरजिम्मेवार विज्ञप्ति निकालेको भन्दै विद्यार्थीले सडक आन्दोलन थालेका हुन् । कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा सातौँ सेमेस्टरमा अध्ययन गरिरहेका नितेश रिजाल एकोनको ज्यादतीमा आईओई मौन बसेकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।
“क्याम्पस प्रशासन वार्तामा बस्न मान्दैन,” उनी भन्छन्, “शुल्क चर्को भयो भनेपछि १० प्रतिशत छुट दिने रे, त्यो केको आधारमा सोध्दा उहाँहरूसँग जवाफ छैन । बिलको आधारमा तिर्न हामी तयार छौँ ।”
आईओईका प्रतिनिधिकै लगानी इन्जिनियरिङ कलेजमा रहेको उनको भनाइ छ । सबै कुरा आईओईले गर्ने तर शुल्कको कुरा आउँदा आईओई मौन बसेर ‘पानीमाथिको ओबानु’ बन्न खोजेको विद्यार्थीको आरोप छ ।
विद्यार्थीका अनुसार प्रशासनले उनीहरूसँग ‘खेल’ खेलिरहेको छ । विद्यार्थीलाई कसरी पेल्ने र दुःख दिने भन्नेमा एकोन र आइओई लागेको उनीहरूको आरोप छ ।
रिजाल भन्छन्, “शुल्कमा वैज्ञानिकता छैन । यो पुरानै समस्या हो । त्यो बेला कार्यान्वयन भएन, अबचाहिँ यिनीहरूलाई घुँडा टेकाएरै छाड्छौँ ।”
नेसनल कलेज अफ इन्जिनियरिङका छात्र विनायक पन्त घरको पानी, घरकै इन्टरनेट, बिजुली बत्ती र हुँदै नभएको शैक्षिक भ्रमण तथा स्वागत कार्यक्रमको पैसा किन तिर्ने ? भन्दै प्रश्न गर्छन् ।
“हाम्रो घरमा पैसाको बोट छ र ?,” उनले आक्रोशित हुँदै भने, “एकोनले विद्यार्थीलाई १० प्रतिशतभन्दा बढी दिन सक्दैनौँ रे, यति नै विद्यार्थीलाई अत्यधिक हो रे, हामीले भिख मागेका छौँ र ?”
भोलिदेखि मोटरसाइकल र्याली, त्यसपछि डिन कार्यालय र बल्खुको परीक्षा नियन्त्रण कार्यालय घेर्ने उनीहरूको योजना छ ।
हाल क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्याजेजमेन्ट, जनकपुर इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज, एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेसनल इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेजलगायत त्रिविका सबै सम्बन्धनप्राप्त निजी कलेजका विद्यार्थीहरू आन्दोलनमा सहभागी छन् ।