काठमाडौँ । मेलम्चीमा असार १ र साउन १५ मा पटक पटक डरलाग्दो बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले खानी तथा भूगर्व विभागका दुईजना र विश्व बैंकबाट तीन जनाको टोली सर्वे गर्न पठाएको थियो ।
चार दिनसम्म मेलम्चीको भे्रेमाथाङ अवलोकन गरी आएका भूगर्वविद् शिवकुमार बाँस्कोटाले माथिल्लो तटीय क्षेत्रमा परेको भारी वर्षाका कारण मेलम्चीमा बाढी आएको बताएका छन् ।
उनले मेलम्चीमा बाढी आउनुको कारण त्यसदिन भ्रेमाथाङको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा भएको र त्यसैको कारण सोही क्षेत्रमा ठूलो पहिरो र तल्लो तटीय क्षेत्रमा बाढी गएको बताए । बाह्खरीसँग भिडियो कुराकानी गर्दै उनले त्यहाँको भूसंरचना अध्ययन गरेपछि क्लाउड ब्रस्ट (आरीघोप्टे) भएपछि बाढी गएको बताए ।
यस्तै, उनले मेलम्चीको बाढी जानु भ्रेमाथाङ नभई माथिल्लो तटीय क्षेत्र रहेको औँल्याए । भन्छन्, “यदि भ्रेमाथाङ नहुँदो हो त सबै गेगरान तल्लो तटीय क्षेत्रमा झर्ने रहेछ भनेर बुझ्यौँ ।”
इसिमोडले ताल फुटेर भेलबाढी आएको आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेको थियो । त्यसैलाई टिप्पणी गर्दै बाँस्कोटाले भने, “हिमताल फुटेको स्पष्ट संकेत देखिएन ।”
तर उनले तल पहिरो र विध्वंश मचाउने गेगरानको स्रोत चाहिँ हिमतालबाट सुरु भएको औँल्याए ।
“त्यो हिमनदीको टुप्पोको भागको छेउछाउबाट तलैसम्म पहिरोहरू खसेको देखिन्छ,” उनले भने, “त्यहाँ ठूलो पानी पर्यो । हिमनदीको टुप्पो कमजोर हुन्छ, त्यो ठाउँबाट पहिरोको सुरुवात भएको देखिन्छ ।”