site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रेमाथाङमा डेढ किलोमिटर क्षेत्रमा गेगरान थुप्रिँदा बढी जोखिम 

काठमाडौं । भूगर्भविद्हरूले माथिल्लो तटीय क्षेत्रमा परेको भारी वर्षाका कारण मेलम्चीमा बाढी आएको बताएका छन् ।

खानी तथा भूगर्भ विभागका उपसचिवसमेत रहेका भूगर्भविद् शिवकुमार बाँस्कोटासहितको टोलीले अहिले त्यस क्षेत्रको अध्ययन गरिरहेको छ ।

उनले मेलम्चीमा बाढी आउनुको कारण त्यसदिन भ्रेमाथाङको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा भएको र त्यसैको कारण सोही क्षेत्रमा ठूलो पहिरो र तल्लो तटीय क्षेत्रमा बाढी गएको बाह्रखरीलाई बताए ।

उनीसहितको टोलीले त्यहाँ चार दिनदेखि भौगोलिक अध्ययन गरिरहेका छन् । 

यसअघि मेलम्चीमा कमै पानी परे पनि कमजोर भूधरातल भएकाले बाढी गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले विज्ञसहितको पत्रकार सम्मेलनमा बताएको थियो । 

तर, त्यहाँको भूसंरचना अध्ययन गरेपछि क्लाउड ब्रस्ट (आरीघोप्टे) भएपछि बाढी गएको उनको भनाइ छ । 

यस्तै, उनको अध्ययनले माथि गेगरान प्रशस्त रहेको देखाउँछ । उनले भने, “भ्रेमाथाङ होइन त्योभन्दा माथि नै समस्या रहेछ । यदि भ्रेमाथाङ नहुँदो हो त सबै गेगरान तल्लो तटीय क्षेत्रमा झर्ने रहेछ भनेर बुझ्यौँ ।”

बाँस्कोटासहितको टोली चार हजार २७० मिटर उचाइमा पुगेका थिए । त्यो पहिरो गएको नजिकको ठाउँ हो । 

पहिरैपहिरो भएको ठाउँमा पुग्नेअवस्था नै नभएको उनले टेलिफोनमा बताए ।  उनले आफूहरू हिँडेर पुग्न सकिने ठाउँसम्म पुगेको जानकारी दिए । 

भ्रेमाथाङमा हेलिकोप्टर ल्यान्ड गरेर माथितिर करिब ४ घण्टा हिँडेर पहिरो र गेगरानको अध्ययन भइरहेको छ ।

चारघण्टा बसेर त्यहाँको अध्ययनले धेरै जानकारी हासिल गरेको र पहिरो प्रशस्त गएको र त्यहीँबाट समस्या उत्पत्ति भएको उनले बताए ।

जल तथा मौसम विभागको वर्षा मापन गर्ने यन्त्र शेर्माथाङमा मात्र छ । त्यो मेलम्ची नजिक नै हो । त्योभन्दा माथिको तटीय क्षेत्र घ्याङ, भ्रेमाथाङ र त्यसभन्दा माथि रहेका ठाउँमा पर्ने वर्षाको मापन गर्ने कुनै यन्त्र नभएको उनले बताए । 

त्यहाँ मौसम बदलिइरहने र काठमाडौँको जस्तै वर्षा एकैरूपमा नपर्ने हुँदा त्यहाँ मुसलधारे वर्षाबाहेक अन्य विकल्प नरहेको उनले स्पष्ट पारे । 

“पहिला भ्रेमाथाङमा पहिरो गएकाले मेलम्चीमा बाढी आएको अनुमान गरिएको थियो,” उनले भने, “तर भ्रेमाथाङले त थामिरहेको रहेछ । त्यो भन्दा माथि नै पहिरो गएको र त्यो झर्ने क्रममा रहेछ ।”

इसिमोडले ताल फुटेर भेलबाढी आएको आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेको थियो । 

त्यसैलाई टिप्पणी गर्दै बाँस्कोटाले भने, “हिमताल फुटेको स्पष्ट संकेत देखिएन । हामी अर्कै रुटबाट आयौँ । अहिले हिमताल पर्ने बाटो जान सम्भव छैन । नजिकभन्दा नियाल्दा ताल फुटेको देखिँदैन ।”

तर उनका अनुसार तल पहिरो र विध्वंश मचाउने गेगरानको स्रोत चाहिँ हिमतालबाट सुरु भएको देखिन्छ । त्यो भनेको मेलम्ची नदीको शिर हो । मेलम्ची खोलाको माथि मेलम्ची र पेम्दाङ खोला मिसिन्छ । पेम्दाङ खोलाको शिरमा हिमनदी सुरु हुन्छ ।

“त्यो हिमनदीको टुप्पोको भागको छेउछाउबाट तलैसम्म पहिरोहरू खसेको देखिन्छ,” उनले भने, “त्यहाँ ठूलो पानी पर्‍यो । हिमनदीको टुप्पो कमजोर हुन्छ, त्यो ठाउँबाट पहिरोको सुरुवात भएको देखिन्छ ।”

त्यहाँ प्रशस्त मात्रामा भित्रपट्टि बरफ जमेर बसेको हुनसक्ने उनको भनाइ छ । त्यसरी बग्दा बरफ सँगसँगै पानी र गेगरान पनि सजिलै बगेको उनले बताए । 

“त्यहाँ मात्र होइन अन्त पनि ठूलो सानो पहिरो देखिन्छ,” उनले थप स्पष्ट पार्दै भने, “याङ्ग्री र लार्चेमा पनि बाढी आएको छ । निश्चित क्षेत्रमा भारी वर्षा भएको हो ।”

उनले त्यहाँ भूकम्प गएको संकेत नदेखिएको बताए । तर त्यसदिन याङ्ग्री र लार्चेमा पनि बाढी गएकोले तीनै खोलाको शिर एकै ठाउँ हुँदा त्यो आसपासमा भारी वर्षा भएको बाँस्कोटा सहितको टोलीले गरेको अध्ययनले देखाएको छ । 

मेलम्ची बजार कति सुरक्षित ?

भ्रेमाथाङको क्षेत्रफल लगभग १ हजार ५ सय मिटर लम्बाइ र करिब ७ सय मिटर चौडाइ छ । उपसचिव बाँस्कोटाकाअनुसार भ्रेमाथाङमा गेगरान कति छ भन्ने मापन गर्न स्याटेलाइट इमेजको अध्ययन गर्नुपर्छ । तर, त्यहाँको भूअध्ययन र चौतर्फी मापन गर्दा सरदरमा ८ देखि १० मिटर बाक्लो गेग्रान थुप्रिएको उनले बताए ।

“यति धेरै गेगरान थुप्रिएको छ । हिमनदीबाट भ्रेमाथाङमा थुप्रियो, त्यो दिन मेलम्चीमा गेगरान आएन । तर, त्यही दिन असार १ को पानीले तलतिर पहिरो सिर्जना गरिदियो । अनि मेलम्चीमा क्षति भयो,” उनले भने ।

साउन १५ मा भ्रेमाथाङभन्दा तलबाट सिर्जना भएको पहिरो बढ्दै गएर चौरलाई नै काटेर अलिकति पहिरो खसेको देखिएको उनले जानकारी दिए । 

उनका अनुसार त्यहाँ अहिले पनि अलिअलि कटान जारी छ भने पानी अझै धमिलो छ । तर, पानीको बहाव बढेको छैन । माथि ठूलो पानी पर्ने र पहिरो खस्ने सम्भावना रहेको उनको भनाइ छ ।

यस्तै, उनले भ्रेमाथाङले तलको बस्तीको लागि सुरक्षाको काम गरिरहेको औँल्याए । माथिबाट खसेर बगेका गेगरान भ्रेमाथाङमा थुप्रिने गर्दछ । 

अहिले भ्रेमाथाङमा नै पहिरो गइरहेको र त्यहाँ नै कटान भइरहेको छ ।

“भ्रेमाथाङ बगिरहने र माथिबाट पनि थपिरहने क्रम जारी भयो भने मेलम्ची बजार अहिले नै पुरानै संरचनामा फर्किने सम्भावना छैन,” उनले भने, “तलतिर पहिरो थुप्रै छ । भ्रेमाथाङभन्दा माथि भारी वर्षा भएपछि ती पहिरो सक्रिय हुन्छन् । त्यहाँबाट खस्ने गेगरानले बस्ती र मेलम्ची खानेपानी आयोजनालाई नै प्रभावित पार्ने छ ।” अहिले पनि भ्रेमाथाङमा दिनकै अलि अलि पहिरो खसिरहेको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको इनटेक जहाँबाट बाँध बाँधेर काठमाडौँ लैजान सुरुङ बनाएको थियो । त्यसको मुखमा प्रशस्त मात्रामा बालुवा थुप्रिएर त्यो सुरुङको सतहभन्दा केही माथिबाट नै पानी बगिरहेको उनले जानकारी दिए । उनका अनुसार मुहान अवलोकन गर्दा मेलम्ची आयोजनाको काम गर्दा बनाएका वेयरहाउसको छानासम्म माथि बालुवा टन्नै देखिएको थियो । त्यसकै आधारमा टनेलछेउमा गेगरान थुप्रिएको उनले बताए ।

उनले मेलम्ची आयोजना पुरानै लयमा लैजान सकिने तर माथिबाट ठूलो मात्रामा गेगरान खस्न थाल्यो भने समस्या दोहोरिइरहने अवस्था भने आउन सक्ने बताए ।

उनले भने, “यो गेगरान रोक्यो भने समस्या टर्छ । तर ठाउँ साँघुरो भएकाले गेगरान माथि मुहानमै रोक्न कठिन छ ।”

उनले अहिलेको अवस्थामा गेगरान माथि नै रोक्न असम्भव नै नभएपनि खर्चको पाटो महत्वपूर्ण भएको औँल्याए । उनले मेलम्ची आयोजनामा तत्कालै पानी पठाउन सक्ने स्थिति नरहेको र सके पनि जोखिमपूर्ण रहेको स्पष्ट पारे ।

बाँस्कोटासहितको विज्ञ टोलीले कति गेगरान पुरानो र कति नयाँ भन्ने पत्ता लगाउने छ भने कति थपियो र कति कटान भयो त्यसको खोज गर्नेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro