काठमाडौं । पहिलो लकडाउन पूर्ण रूपमा नखुल्दै प्रशासनको निर्देशन अवज्ञा गर्दै छायांकनमा व्यस्त भएका चलचित्रकर्मीहरु अहिले भने गुमनाम प्रायः छन् । निषेधाज्ञा खुकुलो भएर अधिकांश पेसा–व्यवसाय पूर्ववत् रूपमा सञ्चालनमा आए पनि चलचित्र क्षेत्र भने शून्य अवस्थामै छ ।
अहिले चलचित्र क्षेत्रका कुनै पनि गतिविधि सञ्चालनका लागि प्रशासनले अनुमति दिइसकेको छैन । तर, अघिल्लोपटक भने यस्तै अवस्थामा चलचित्रकर्मी सक्रिय भइसकेका थिए । एक दर्जन चलचित्र प्रशासनले रोक लगाएकै समय छायांकनमा गइसकेका थिए । पाँच दर्जनभन्दा धेरै चलचित्र विकास बोर्डमा दर्ता भएका थिए ।
पहिलो लकडाउनपछि नै छायांकन गरिएको चलचित्र ‘प्रकाश’ निर्देशन गरेका दिनेश राउत अहिले यसको काम थाती राखेर बसेका छन् । फस्ट कट एडिटिङ सके पनि बाँकी काम गर्ने उनलाई जाँगर छैन ।
“प्रकाशको काम बाँकी नै छ, तर जाँगर नै चलिरहेको छैन,” दिनेश भन्छन्, “चलचित्र उद्योग कहिले खुल्ने ठेगान छैन, खुलेपछि पनि दर्शक चलचित्र हेर्न आउँछन् कि आउँदैनन् निश्चित छैन । त्यसैले पनि होला अहिले काम गर्ने जाँगर छैन ।”
पहिलो लकडाउनपछि कोरोनाको जोखिम पूर्ण रूपमा अन्त्य हुन्छ र बजार पुरानै लयमा फर्किन्छ भन्ने अपेक्षा गरिए पनि अहिले तेस्रो लहरको डर सबैमा रहेको उनी बताउँछन् । “पहिलो लकडाउनपछि सिनेमा हल खोल्न चलचित्रकर्मीहरुले पहल गरेका थिए । ५० प्रतिशत अकुपेन्सीमा भए पनि हल खुलेका थिए,” दिनेश भन्छन्, “तर, अहिले तेस्रो लहर पनि आउँछ भनेर सरकारले नै भनेको छ । त्यसैले कोही पनि काम गर्न हतारिरहेका छैनन् ।”
कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने अबको केही समय निर्माताहरु चलचित्र निर्माणमा हतार नगर्ने बताउँछन् । निर्माण सुरु भइसकेका चलचित्रहरुको काम अब विस्तारै अगाडि बढ्ने तर नयाँ चलचित्रमा तत्काल लगानी नहुने उनको भनाइ छ ।
“पैसा रिलिज गरिसकेका निर्माताहरु बाध्य भएर चलचित्र निर्माणलाई निरन्तरता दिन्छन् । तर, नयाँ चलचित्रका लागि भने अहिले कोही पनि हतार गर्ने मनस्थितिमा रहेको म देख्दिनँ,” उनी भन्छन् ।
निर्माण घोषणा गरिसकेका चलचित्रहरु धमाधम पछि सरिरहेको निर्देशक दिनेश राउत बताउँछन् । अनिश्चित परिस्थितिका कारण निर्माताहरु ‘पर्ख र हेरको रणनीति’मा छन् । “प्रकाशपछि मैले साइन गरेका चलचित्रहरु अब तत्काल निर्माण हुने अवस्थामा छैनन् । निर्माताहरु होल्ड गर्ने भनिरहेका छन्,” उनी भन्छन्, “अनिश्चित परिस्थिति र अन्योलपूर्ण बजारका कारण रिस्क लिन कोही पनि हतार गरिरहेका छैनन् ।”
सुरु गरेकै काम सक्ने जाँगरसमेत चलचित्रकर्मीमा नरहेका बेला नयाँ चलचित्रको अपेक्षा गर्नु नै गलत भएको उनको भनाइ छ ।
कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण पनि चलचित्रकर्मीहरु डराइरहेका छन् । पोस्ट प्रोडक्सनको काम गर्न पनि खोप नलगाएका कारण चलचित्रकर्मीहरु डराइरहेका छन् । यद्यपि, छायांकन सकेर आएका केही चलचित्रहरु अहिले पोस्ट प्रोडक्सनको काम गरिरहेका छन् ।
सरोकारवाला निकायले चलचित्रकर्मीका लागि खोपका लागि पहलसमेत नगरेको भन्दै पेसागत संघ–संगठनप्रति उनीहरु रुष्ट बनेका छन् । विकास बोर्ड र चलचित्र कलाकार संघले भने पहल गरिरहेको र सकारात्मक आश्वासन दिइरहेको दाबी गरेका छन् ।
हलको विकल्प मानिने डिजिटल प्लेटफर्मसमेत नेपालमा भरपर्दो नभएको र भएका पनि लगानी गर्न नसक्ने भएकाले अझै लामो समय चलचित्रको बजार अनिश्चित रहेको चलचित्रकर्मीहरुको निष्कर्ष छ ।
यही कारण केही चलचित्रकर्मीहरु अवस्था सहज नहुँदासम्मका लागि वैकल्पिक पेसा खोज्न थालेका छन् । निर्देशक दिवाकर भट्टराई सहकारी खोल्दै छन् । नायिका साम्राज्ञी आरएलले अनलाइन बिजनेस सुरु गरिसकेकी छिन् । दीपकराज गिरी फार्महाउस निर्माणमा जुटिसकेका छन् ।
“अरु देशमा बलियो डिजिटल प्लेटफर्मका कारण यो समय सानो/ठूलो बजेटका थुप्रै चलचित्र बने । तर, हाम्रोमा यसको अभावका कारण निर्माण सम्पन्न भइसकेका चलचित्र पनि प्रदर्शन हुन सकेनन्,” निर्देशक राउत भन्छन्, “चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि सिनेमा हलको विकल्पका रूपमा डिजिटल प्लेटफर्म चाहिने रहेछ । जसको नेपालमा टड्कारो आवश्यकता देखियो ।”
लगानी गर्न सक्ने भरपर्दो डिजिटल प्लेटफर्म भइदिएको भए अहिले पनि चलचित्रकर्मीहरु सक्रिय हुने अवस्था रहने दिनेश बताउँछन् ।