राजनीतिक, आर्थिक, शासकीय कारण धेरै छन् खड्गप्रसाद ओली नेतृत्वको सरकार यति धेरै अलोकप्रिय हुनुमा । तर, सबैभन्दा ठूलो कारण भने राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको आफूलाई विशिष्ट देखाएर जनताको अवज्ञा गर्ने प्रवृत्ति हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नयाँ राजा’ बन्ने प्रयास नगरून् भन्ने नेपाली जनताले अपेक्षा गरेका छन् । सरकारले कुनै व्यापारी घरानालाई राज्यको सम्पत्ति ‘बक्सिस’ नदेओस् । देउवाको जन्मदिन मनाउन हेलिकप्टरमा केक ओसार्ने काम नहोस् ।
राणा शासनमा वर्षभर खर्च भएर बचेको पैसा ‘बाहुली दाखिला’ भन्दै प्रधानमन्त्रीको ढुकुटी भर्ने चलन थियो । पञ्चायत कालमा राज्यको चलअचल सम्पत्ति राजाले कसैलाई पनि ‘बक्सिस’ दिनसक्थे । ओलीको शासनमा जस्तो ‘यती’ ओम्नी काण्ड अब देख्न, सुन्न र भोग्न नपरोस् ।
संस्कारमा सामान्य सुधार गरेर पनि जनतामा आशा र भरोसा जगाउन सक्छन् प्रधानमन्त्री देउवाले । पार्टी वा गुटको बैठक सरकारी निवासमा नगरून् । सरकारी कामबाहेक अरू बैठकहरूको खर्च राज्यको ढुकुटीबाट नगरून् । सबैभन्दा मुख्य देउवाले ओलीले जस्तो आफूलाई नै राज्य नठानून् !
त्यसो प्रधानमन्त्री देउवाको बढी बोल्ने स्वभाव छैन । देउवाले अहिलेसम्म आफूलाई ‘सर्वज्ञ’ ठानेको देखिएको पनि छैन । तर, सत्ताको मादले धेरैलाई उन्मत्त बनाएको छ । देउवामा अपुष्ट र अनर्गल हल्लालाई सत्य ठान्ने वा बनाउन खोज्ने ओली प्रवृत्ति नदेखियोस् भन्ने जनताको अपेक्षा छ ।
नेपालको प्रशासन यन्त्रको मनोबल धेरै गिरेको छ ।अहिलेको संयुक्त सरकारले संस्थागत सुधार धेरै गर्न नसक्ला तर अनुचित हस्तक्षेप नगर्ने तर सुरक्षा निकायलाई पनि सही बाटामा ल्याउने काम गर्न सक्छ । सुरक्षाकर्मी र निजामती कर्मचारीलाई दलगत वा व्यक्तिगत स्वार्थमा प्रयोग गर्न रोक्नेबित्तिकै तिनको पनि मनोबल उच्च हुनेछ भने अनुशासनमा पनि बस्नेछन् । प्रधानमन्त्री देउवासँग जनताले राखेको अपेक्षा यो पनि हो ।
पार्टीका कार्यकर्ता वा कृपापात्रलाई सल्लाहकारदेखि विभिन्न नाममा नियुक्त गर्दा राज्य सञ्चालनमा गलत प्रवृत्तिले प्रश्रय पाएको देखिएको छ । ओलीको शासन सायद यस मामिलामा पनि सबैभन्दा बढी बदनाम रह्यो । लोकतान्त्रिक शासन पद्धतिमा त प्रधानमन्त्रीका सल्लाहकार मन्त्रीहरू, मन्त्रालयका सचिवहरू नै हुन् ।
सरकारी संयन्त्रका प्रमुख तिनलाई जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउनुपर्छ । प्रधानमन्त्रीलाई विज्ञको सेवा लिन त महान्यायाधिक्ता, राष्ट्रिय योजना आयोगमा योग्य व्यक्ति छानेर नियुक्त गरे भइहाल्छ । यसैले कार्यकर्तालाई पाल्न पोेस्न राज्यको ढुकुटी प्रयोग नगर्ने चलन देउवाले बसाऊन् ।
ठूला कुरा नगरी ससाना तर दूरगामी महत्त्वका परम्परा बसाउनुपर्छ । त्यस्ता परम्पराले राजनीतिमा संस्कारको रूप लिन्छन् । असल परम्परा बसाउन सके कसैले भत्काउन सक्तैन । नेपाली जनताले ओलीको कुशासन दुःस्वप्न ठानेर बिर्सन पाए भने शेरबहादुर देउवाले विगतमा गरेका गल्तीलाई नेपाली जनताले माफ दिनेछन् ।
ओली प्रवृत्ति दोहोरिएको देखियो भने नेपाली जनता पुनः निराश र कुण्ठित हुनेछन् । बीपी कोइरालाले मन्त्रीलगायत आफ्नो सुविधा घटाएर राज्यको ढुकुटीको अपचलन गर्न नहुने सन्देश दिएका थिए । त्यो नेपाली कांग्रेसको संस्कार हुनुपर्थ्यो । लोकतान्त्रिक संस्कार बसाउन प्रधानमन्त्रीले प्राथमिकता दिने जनताको अपेक्षा छ । निराश हुन नपरोस् !