काठमाडौं । काठमाडौं उपत्यकामा पघिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा संक्रमण बढ्दो क्रममा देखिएको छ । खुकुलो बनाइएका क्षेत्रमा बढी भिडभाड हुन थालेपछि संक्रमण बढ्न थालेको जनाइएको छ ।
प्रशासनका अधिकारीका अनुसार पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्दा संक्रमणदर बढेको छ । पछिल्लो १० दिनयताको संक्रमणदरबारे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र केन्द्र (सीसीएमसी) बीच छलफल चलिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कडाइका साथ निषेधाज्ञा अनुगमन भइरहेको दाबी गर्छन् ।
‘‘सबै किसिमका सुरक्षा निकायले खुकुलो बनाइएका बाहेकका क्षेत्रहरू अरू क्षेत्रमा कडाइ गरिरहेका छन् । हामी आफैँ पनि अनुगमनमा जाने गरेका छौँ । यस्तो महामारीमा आफैँले सावधानी अपनाउनुपर्ने बेला छ । संक्रमणदरको जोखिम कायमै छ । विवाह व्रतबन्ध गर्दा संक्रमणदर बढेको छ । साउनपछि विवाह व्रतवन्ध हुँदैन । हामी झन् निषेधाज्ञा खुकुलो बनाउँदै ल्याएका छौँ । साउनदेखि कडा निषेधाज्ञा हुने हल्ला चलेको छ । यो नागरिकले लगाएको अनुमान मात्रै हो । कर तिर्ने समय सकिनै लाग्दा सरकारले फेरि कडा निषेधाज्ञा जारी गर्छ भन्ने अनुमान मात्रै हो । यसबारे हामीले केही भनेका छैनौँ । छलफल पनि भएको छैन,” प्रजिअ निरौलाले भने ।
अहिले सार्वजनिक सवारीसाधनहरूमा यात्रु कोचाकोच गरी चढाउने काम भइरहेको छ । भिडभाडजन्य क्षेत्रमा पनि अनुगमन फितलो देखिएको छ । भिडभाड हुने क्षेत्र पार्टीप्यालेस, जिमखाना, स्विमिङ पुल लगायतका क्षेत्र सञ्चालनमा रोक लगाइएपनि ती क्षेत्रहरूमा पनि भिडभाड देखिने गरेको छ ।
अब बढेको संक्रमणदर कसरी नियन्त्रण र व्यवस्थापन गर्ने भन्नेतर्फ प्रजिअहरूको ध्यानकर्षण भएको जनाइएको छ । पछिल्लो १० दिन थप गर्नुअघि उपत्यकाको संक्रमणदर दुई सयको हाराहारीमा झरेको थियो । तर अहिले संक्रमणदर उकालो लागेको छ । आज सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा ४३३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा सबै किसिमका सार्वजनिक सवारी साधन चल्न दिइने निर्णय भएको थियो । २५ सिट क्षमतामाथिका सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर हटाइएको थियो । २५ जनाभन्दा बढी जना भिडभाड हुन नपाइने भनिएको थियो ।
अर्कातिर व्यापारिक प्रयोजनका क्षेत्रहरू साँझ ६ बजेसम्मका लागि खुलाउने निर्णय गरिएको थियो । तर रातिसम्मै पसलहरू खुला गर्ने गरिएको पाइएको छ ।
प्रजिअ निरौला जो कोहीले निषेधाज्ञा बेवास्ता गर्न नहुने तर्क गर्छन । उनी भन्छन, ‘‘संक्रमण रोकथाम गर्दा जनस्तर आफै सचेत हुन जरुरी छ । संक्रमणको जोखिम घटेको छैन । यसबारे छलफल भइसकेको छैन । यसबारे ३० गते वा भोलिपल्ट ३१ गते सिडिओहरूको बैठक बस्नेछौँ । त्यसअघि अन्य सरोकारवाला निकायसँग बैठक बस्छौँ ।”
नागरिककै हकहितमा स्वास्थ्य मापदण्ड पालना गरी निषेधाज्ञा खुकुलो बनाउँदै आएको प्रजिअ निरौलाको भनाइ छ । ‘‘थप गरिएको निषेधाज्ञा सकिन एक वा दुई दिन बाँकी हुँदा प्रजिअ बैठक बस्दै आएका छौँ । यसबारे विभिन्न सरोकारवाला निकायसँग छलफल हुँदै आएको छ । निषेधाज्ञा थप्ने र हटाउने अधिकार हामीलाई भएपनि सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने हुन्छ । यो एउटै हाम्रो क्षेत्राधिकार होइन,” प्रजिअ निरौलाले भने ।
काठमाडौं उपत्यकामा जनजीवन असहज भएको निष्कर्ष निकाल्दै पछिल्लो समय स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न क्षेत्र खुकुलो बनाइएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिन तीन दिन बाँकी छ । निषेधाज्ञामा कडाइ गर्नुभन्दा स्वास्थ्य मापदण्डमा कडाइ गर्दै सहजीकरण गरिरहेको प्रशासनका अधिकारीहरूको भनाइ छ । पछिल्लो १० दिनको संक्रमणको समिक्षा गरी निषेधाज्ञा प्रावधान फेरबलद हुनसक्ने अधिकारीहरूले बताइरहेका छन् ।