site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पुष्पा र अञ्जलीको आमा भने पनि बाबा भने पनि मै हो’

चितवन । सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा गैँडाका दुई पोथी बच्चा पुष्पा र अञ्जली हुर्किँदै छन् । तिनीहरुलाई मानिससँगै लहसिने बानी पर्दै गएको छ ।

पुष्पा र अञ्जली बिहान करिब ६ बजे उठ्छन् । साँझ खोरमा पनि सँगै हुन्छन् । पुष्पा १७ महिनाकी भइन् भने अञ्जली चार महिनाकी हुन् । तिनीहरुलाई बिहानदेखि बेलुकासम्म स्याहारसुसार गर्ने, चराउने, खुवाउने एकजना जाँजरकोटका युवा छन्, लालबहादुर महतरा । उनको दैनिकी यसरी नै बित्छ ।

“म जाँजरकोटबाट आएको दुई वर्ष भयो, अहिले यी दुईको हेरविचारमै दिन बित्ने गरेको छ,” उनले भने । उनले ती दुईलाई खुब माया गर्छन् । चाहिने दानापानी उनले नै खुवाउँछन्, अरुले दिएको हत्तपत्त तिनीहरुले खाँदैनन् ।

“अब त आफ्नै दाजुभाइ, दिदीबहिनीभन्दा पनि बढी लाग्छ । आएदेखि एक दिन छोडेको छैन,” उनले भने । उनीसँग वन्यजन्तुप्रतिको मोह र आत्मीयता झल्किन्छ ।

पुष्पालाई करिब १७ महिनाअघि नवलपरासीको कुञ्जौली जंगलभित्रको दलदलबाट उद्धार गरेर ल्याइएको हो । “उद्धार गर्दा सात दिनकी थिइन् होला । अहिले १७ महिनाकी भइन्,” महतरा भन्छन् ।

अञ्जलीलाई पनि १४ दिनको दिनमा आमाले बाटो बिराएर छोडेको अवस्थामा गत चैत २३ गते नवलपुरको तमासुर जंगलबाट उद्धार गरेर ल्याइएको हो ।

“पुष्पा र अञ्जलीको आमा भने पनि बाबा भने पनि मै हो, एकैछिन मलाई नदेखे मलाई उनीहरुले खोच्छन्, मैले देखिनँ भने म खोज्छु । यी अबोधलाई के थाहा छ र ?,” उनले भने ।

हुन त गैँडा प्रजाति हिंस्रक वन्यजन्तु हो । जंगलमा भेट्दा टाढैबाट पनि यसले मानिसलाई आक्रमण गर्छ । तर, यी दुई गैँडाका बच्चा महतराको काखमै हुर्केर ठूला भए । त्यसैले महतरा जता–जता जान्छन्, उनीहरु पछि–पछि लाग्छन् । कोही नयाँ मान्छे आए भने पनि के ल्याइदिएको छ भनेर मुख बाउँदै आउने गरेको उनले सुनाए ।

महतरा र ती दुईको मित्रता झन् गहिरिँदै गएको छ । बिहान पुष्पालाई मकैको च्याँख्ला पकाएर दिने र अञ्जलीलाई दूध तताएर दिने तालिकाबाट महतराको दैनिकी सुरु हुन्छ । “साना छन्, दुई÷दुई घण्टामा दूध र खाना दिनुपर्छ । झन्डै २४ घण्टामा १२ पटकसम्म खुवाउनुपर्छ,” उनले भने ।

सानो हुँदा गैँडाको बच्चाले थौरै–थोरै तर पटक–पटक खाने उनले बताए । करिब चार महिना पुगेपछि भने कलिलो घाँस दिन र चर्न सिकाइन्छ । पुष्पा मज्जाले चर्छे, अञ्जलीले पनि भर्खर सिक्न लागेकी छ । महतरालाई तिनको हेरविचार गर्न खुबै आनन्द आउँछ । हुन त उनी पहिलेदेखि नै वन्यजन्तुप्रेमी थिए । “म १२ कक्षा पास गरेर बसेको थिएँ । चितवन राष्ट्रिय निकुञ्जमा काम गर्छस् भनेर चिनेको दाइले भन्नुभयो, म आएँ,” उनले विगत सम्झिए ।

सुरुवाती चरणमा वन र वन्यजन्तुको बारेमा संरक्षणकर्मीसँग निकुञ्जभित्र सिक्न जाने गरे पनि अहिले उनी पुष्पा र अञ्जलीको स्याहारसुसारमै व्यस्त छन् । “जाजरकोटमा कस्तुरीको ब्रिडिङ सेन्टर खुल्दै छ, पछि म उतै जान्छु होला,” उनले संरक्षणको महत्व र मोह सुनाए ।

सानोमा मानिसको संरक्षणमा हुर्किए पनि पछि भने ती दुई गैँडालाई प्राकृतिक बासस्थान जंगलमै छोड्नुपर्ने हुन्छ । तर, महतरालाई यी सबै कुरा थाहा भए पनि पुष्पा र अञ्जली आफूबाट कहिल्यै नछुटून् भन्ने लाग्छ । “सरहरुले पछि जंगलमै छोड्नुपर्छ भन्नुहुन्छ । यिनीहरु त्यहांँ कसरी बस्लान्, अरु जनावरले आक्रमण गरेर घाइते बनायो भने,” उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र, सौराहाका प्रमुख बाबुराम लामिछाने हाल मानिसले यसले स्याहारसुसार गरे पनि पछि तिनीहरुलाई जंगलमै छोड्नुपर्ने बताउँछन् । कम्तीमा साढे दुई वर्ष पूरा भएपछि जंगल छोड्न मिल्छ,” उनले भने । यसका लागि जंगल, राप्ती नदी किनार तथा अन्य जंगली गैँडाको सामीप्यमा चराउन अभ्यास गरिने उनले बताए ।

“अहिले मानिसंँग नजिक छ । तर, यसलाई अन्य वन्यजन्तुसँग लड्न, प्रतिकार गर्ने वातावरण सिर्जना गर्ने अभ्यास गर्छौँ । त्यसपछि मात्र जंगलमा छोड्न मिल्छ,” लामिछानेले भने । यसअघि पनि यो प्रकृति संरक्षण कोषमा केही घाइते गैँडा तथा बच्चाको उद्धार गरेर जंगलमा छाडिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro