
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किबासको विनयी खोलामा पक्की पुल सञ्चालनमा आएको छ । आजबाट नयाँ पक्की पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । पुलमा क्षति भएपछि सडक डिभिजन कार्यालय भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन संचालनमा ल्याएको थियो ।
तर, वर्षासँगै आएको बाढीले नौ पटक डाइभर्सन बगाएको थियो ।
“नयाँ पुलको निर्माण नहुन्जेलसम्म वैकल्पिक मार्गबाट सुरक्षित यात्रा गर्न यस डिभिजनमार्फत सूचना जारी गरिएको थियो,” डिभिजन कार्यालय भरतपुरले भनेको छ, “बिहीबारदेखि भर्खरै निर्माण सम्पन्न भएको नवनिर्मित पुलबाट सवारी आवागमन सञ्चालनमा आउनेछ ।”
विनय खोलाले अघिल्लो साता यात्रु सवार बससमेत बगाएको थियो ।