site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमान घिसिङको ‘मिसन ८४’ ? राजनीतिक पाइला सार्दै पुगे खाडी राष्ट्र

काठमाडौं । सामाजिक सञ्जालमा ‘अपडेट’ खासै नराख्ने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार स्टाटस राखे । उनले आफूमध्ये पूर्वी देशहरूमा आउन लागेको स्टाटस लेखे । 

‘सेन्टिमेन्ट क्याच’ गर्ने तरिकाको स्टाटस छ, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । बहराइन, ओमान, युएई र कतारमा रहनुभएका तपाईंहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ ।”

त्यसो त, कुलमान घिसिङ कुनै राजनीतिक नेता होइनन् । न त कुनै कलाकार वा मनोरन्जनकर्ता । साधारण भाषामा भन्दा उनी एक पूर्व प्रशासक या व्यवस्थापक हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनताको नजरमा कुशल व्यवस्थापक । प्राधिकरणमा रहँदा उनले घिसिङले पाएको जिम्मेवारी राम्रोसँग पूरा गरेका कारण जनतामा लोकप्रिय बने । देशको १८ घण्टे लोडसेडिङ हटाउन उनले कुशल व्यवस्थापन गरे । हालका ऊर्जामन्त्री दीपक खड्काले भनेजस्तो भारतबाट बिजुली ल्याएर होस् वा यहाँकै उत्पादन बढेर होस्, लोडसेडिङ हटेको थियो ।

लोडसेडिङबाट आक्रान्त उपभोक्ताले उनको पालामा निरन्तर बत्ती पाएपछि घिसिङलाई जनताले मनपराए । त्यसबाट उनी जनतामा लोकप्रिय बने । 

त्यसो त, नायक खोज्ने हाम्रो समाजमा घिसिङले आफ्नो जिम्मेवारी कुशल ढंगले निभाउने काम मात्रै गरेका थिए । तर, राजनीतिक खिँचातानी र कर्मचारीतन्त्रले जकडिएको अरुले काम नगर्दा र उनले गर्दा आफ्नो सकारात्मक छवि बनाए । 

अघिल्लो कार्यकालमा गरेको कुशल व्यवस्थापनको जश पाइरहेको घिसिङको हिजोको स्टाटस एउटा साधारण स्टाटस मात्रै हो भनी पत्याउन सकिँदैन । उनले लेखेका भाषा हेर्दा अब उनी राजनीतिमा ओर्लिएका हुन् । उनले एउटा प्रशासक भएर गरेको काम देखाएर अब राजनीतिमा आउन लागेका हुन् ?

घिसिङको स्टाटासले गल्फ मुलुकका चार देशमा काम गरिरहेका नेपालीसँग भेटघाट र छलफल गर्ने भनिएको छ । 

तर, छलफल किन ? उनको जवाफ छ, ‘‘उज्यालो अभियान के का लागि ?’’

उनको उद्देश्य के हो ? खाडी राष्ट्रका नेपालीसँग कुराकानी गरेर उनले गर्छन् के ? हामीले यसको उत्तर उनैसँग खोज्ने प्रयास गर्‍यौं । 

राजनीतिक ग्राउन्ड बनाउँदै !

सरकारले गत चैत ११ गते घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्‍यो । बर्खास्तअघि ९ महिना सरकार र घिसिङबीच द्वन्द्व चलिरह्यो । यसले सरकारप्रति नकारात्मकता र घिसिङप्रति सहानुभूति बढ्दै गयो । 

एउटा सार्वजनिक छवि बनाएका घिसिङप्रति कार्यकालको ४ महिनामात्र कार्यकाल बाँकी रहँदा सरकारले फालिदियो । यसबाट सरकारप्रति नकारात्क धारणा बन्यो भने घिसिङप्रति साहनाभूति । 

सरकारले ‘किक’ गरेको तीन महिनापछि उनै घिसिङ विश्व दौडाहा निस्किएका छन् । “तपाईं अब राजनीतिमा आउन लाग्नुभएको जस्तो तपाईंको स्टाटसले संकेत गर्छ नि,” भन्ने बाह्रखरीको प्रश्नमा उनी भन्छन् “स्टाटस हाल्दैमा राजनीति आउने र नेतै हुने कहाँ हुन्छ ? मैले लेखेको हेर्नुस, न यार त्यहाँ के लेख्या छु ?” 

उनले भने, “अनि भेटघाट गर्न त पाउँछ नि । सरकारले फुर्सद दिएको सबैतिर बुझ्न आ–आफ्नो अनुभव साटासाट गर्न पाउनुपर्‍यो नि ।”

घिसिङ राजनीति ग्राउन्डमा उत्रिनुअघि विशेषगरी विदेशमा रहेका नेपालीसँग भेटघाट गर्ने र एक प्रकारले आफू राजनीतिमा होमिएपछि सहयोगको अपेक्षामा छन् । 

पछिल्लो पटक काठमाडौं उपत्यकाका मेयर जित्न बालेन्द्र शाहले सोसल मिडियाको भरपूर प्रयोग गरे । फेसबुकमा चर्चित एउटा पेजको भरपूर प्रयोग गरे । उक्त पेजमा कमेन्ट गर्नेहरू प्रायः युवा छन् । कुलमानको अभिप्राय पनि पहिला सोसल मिडिया तताएर ग्राउन्डमा ओर्लिने देखिन्छ । 

“देशलाई राजनीति गरेर राजनीतिको मात्रै कुरा गरेर हैन विकासको राजनीति गर्नुपर्यो । डेभलपमेन्ट कसरी गर्ने भन्ने कुरा गर्नुपर्‍यो । रोजगारी कसरी क्रिएट गर्ने भन्ने कुरा गर्नुपर्‍यो” उनले भने, “विदेशमा बस्ने हाम्रा दाजुभाई दिदीबहिनीहरूको पीरमर्का समस्या संघर्ष के हो भन्ने कुरा बुझ्नुपर्यो ।”

उनले सुरुमा खाडी राष्ट्रबाट यात्रा सुरु गरी विश्वका अन्य देशहरू जाने योजना बनाएको बताउँछन् । गल्फबाट सुरु गरेको यात्रा धेरै नेपाली रहेका ठाउँमा जाने योजनामा छन्, घिसिङ । 

“खाडी राष्ट्रमा काम गर्ने हाम्रा दाजुभाइ–दिदी बहिनीको पीर मर्का  के छ ? त्यसलाई समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्नु पर्यो,” उनले भने, “अपमानित होइन, सम्मान कसरी गर्ने उहाँहरूका देशका लागि कन्ट्रिव्युसन छ । त्यत्रो रेमिटेन्स पठाउनु भएको छ ।”

तपाईंले भन्नुभएको र उनीहरूको समस्या समाधान गर्न पनि नेतृत्व चाहिने होला नि ? त्यसको तयारीकै लागि यो अभियान हो ? भन्ने हाम्रो प्रश्नमा उनले अहिलेको लिडरसीप नभएको आशय प्रस्तुत गरे ।

“अब यो डेभलपमेन्ट लिडरसिप आउनुपर्यो । लिडरसिपले एउटा विश्वास कमाएर अगाडि जानुपर्यो । जनताको विश्वास, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वास कमाएर अगाडि बढ्नुपर्यो, सुशासन कायम हुनुपर्यो डेलिभरी दिनुपर्यो,” उनले भने, “त्यो सबै कुरा एउटा एउटा आत्मविश्वास जगाएर एउटा आशा दिएर देशमै केही हुन्छ, त्यसमा गरिराखेका छौँ भइराछ भन्ने भयो भने यहाँ धेरै कुराहरू त्यतिकै पनि अगाडि आउँछ नि त । निराशै निराशा, केही पनि हुँदैन जस्ता भाष्य आए ।”

“तपाईंले गरेको कार्य हेर्दा त मिसन–८४ हो कि भन्ने शंका देखियो नि ?” भन्ने प्रश्नमा ‘जे पनि हुन सक्छ’ भन्ने जवाफ दिए । 

“जनताको चाहना हो । जनताले जे चाहन्छन् त्यही अनुसार अघि बढुने हो,” उनी भन्छन्, “मैले यसअघि पनि भनेको छु । जनताले जे चाहन्छन्, म त्यही गर्छु ।”

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्