काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशनमा ल्याएको छ । अमेरिकामा रहेका नेपाली कविहरूका कविता संकलित उक्त कविता संग्रहमा अमेरिका र क्यानडामा बसोवास गर्दै आएका नेपालीभाषी २२१ जना कविका कविता छन् । कविता संग्रहको सम्पादन कवि कृसु क्षेत्रीले गरेका हुन् ।
चार वर्षसम्म अमेरिका स्थित कुटनीतिक सेवामा कार्यरत् रहँदा त्यहाँका नेपाली स्रष्टाहरूको भाषा, साहित्य तथा माटोप्रतिको प्रेम देखेर सो प्रवृत्तिबाट प्रभावित भई उक्त कवितासंग्रहको प्रकाशन गर्ने तारतम्य मिलेको सम्पादक कृसुको भनाइ छ ।
डायस्पोरिक अध्ययनका दृष्टिले हेर्दा यस संग्रहमा संकलित सबै कविताहरू डायस्पोरिक रचना भएको बताइएको छ । यसले डायस्पोरामा रहेका नेपालीको जीवन, समाज र तिनका भोगाइलाई प्रतिविम्बित गरेको कृसु बताउँछन् ।
कवितासंग्रहमा अग्नि साम्पाङ, अनमोलमणि, अमर त्यागी, आचार्य प्रभा, आनन्द श्रेष्ठ, उर्मिला श्रेष्ठ ‘भोजपुरे’, कमला स्वरूप, किशोर विश्वकर्मा, किसनसिंह धामी, कृष्ण कुसुम, कृष्ण धरावासी, गण्डकी पुत्र, गुणराज लुइँटेल, गोवर्धन पूजा, डा. गोविन्द कोइराला, गोविन्द गिरी प्रेरणा, डा. गोविन्द रावत, जसकुमार राई, जानुका वस्ती ढकाल, जुनिता सुब्बा, नीलम कार्की निहारिका, नीरा शर्मा, पदम विश्वकर्मा, पुनम काफ्ले, पद्मा लिंखा मगर, पल्पसा, राजव, राजेश मिश्र, रामकुमार सुवेदी, व्याकुल पाठक, हिरण्य भोजपुरे, हेमन्त श्रेष्ठलगायतका कविहरूका कविता समेटिएको छ ।