दाङ, । दाङको ५६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले चार वर्षअघि स्थापना भएको बृहत् दाङ सिँचाइ आयोजनाको कामको गतिले तीव्रता पाएको छ । आयोजनाअन्तर्गत निर्माण भएका संरचनाबाट अहिलेसम्म दाङको तीन हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्याइसकेको दाबी गरिएको छ ।
आयोजनाले आर्थिक वर्ष २०७४/०७५ देखि कार्ययोजना तयार गरेर काम थालेको थियो । तीन हजार हेक्टर सिँचाइ सुविधाका लागि अहिलेसम्म ४८ करोड ६१ लाख रूपैयाँ खर्च भइसकेको आयोजनाका प्रमुख राजु आचार्यले जानकारी दिए । १० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आयोजना प्रमुख आचार्यका अनुसार परियोजनाले पाँचवटा पक्षमा रहेर काम अघि बढाएको छ । पाँच प्रकृतिका योजनाहरू निर्माण सम्पन्न गर्दै सिञ्चित क्षेत्र बढाइरहेको आचार्यको भनाइ छ । डाइभर्सन, पानी संकलनका लागि जलाशय ड्यामहरू निर्माण, बबई करिडोर लिफ्ट सिँचाइ योजना, पुराना सिँचाइ योजनाको आधुनिकीकरण र पहाडी क्षेत्रमा मूल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरू निर्माण गरिरहेको छ ।
बृहत् दाङ सिँचाइ आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलाशय निर्माण भइसकेका छन् । ३० वटा प्रक्रियामा छन । १२ वटा लिफ्ट सिँचाइ योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरणलगायत योजनाहरू समावेश छ । तीन वर्षकोे अवधिमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर तीन हजार हेक्टर जमिनमा वर्षभरिको सिँचाइको व्यवस्थापन गरिएको आचार्यले बताए । अर्काे वर्ष जलाशयहरू पूरा हुने हुँदा १४ वटै जलाशयले सिँचाइ सुविधा दिने र सिञ्चित क्षेत्रफल बढ्ने उनले बताए ।
प्रमुख आचार्यका अनुसार कार्यालयले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरी शारदा डाइभर्सनको पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । ग्वारखोला उच्च बाँधको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न र विस्तृत इन्जिनियरिङको सुरूवात गरेको, माडी–दाङ डाइभर्सन सम्बन्धित अध्ययन भइरहेको छ ।
उरहरी–जसपुर–डुरूवा सिँचाइ प्रणाली निर्माणकार्य सुरू, दाङ उपत्यकाको कृत्रिम जलाशयहरूको ‘मास्टर प्लान’ तयार गरेको, २५ वडा डिप ट्युबेलको निर्माणकार्य अन्तिम चरणमा रहेको, १७ वटा प्रक्रियामा रहेको, १४ वटा माटोको कृत्रिम जलाशय निर्माण, ३० वटा जलाशय निर्माणको लागि पहिचान, बबई करिडोरअन्तर्गत विभिन्न २६ वटा लिफ्ट सिँचाइ निर्माण र किसान व्यवस्थित सतह सिँचाइ प्रणालीअन्तर्गत ३० किमि नहरको सुधार गरिएको प्रमुख आचार्यले बताए ।
आयोजनामार्फत निर्माण भएका जलाशय र लिफ्ट सिँचाइ योजनाबाट सुक्खा ठाउँहरूमा सिँचाइको व्यवस्था भएको र बाह्रैमास सिँचाइको व्यवस्थापन हुन थालेपछि अन्नबालीका साथै नगदेबाली, व्यावसायिक तरकारी खेती गरिरहेको उपभोक्ताहरूले बताएका छन । यसअघि, वर्षभरि एक बाली मात्रै लाग्ने बारीमा यो वर्षदेखि बाह्रैमास सिँचाइ सुविधा भएको स्थानीय होताराम खत्रीले बताए ।
तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुरमा सुरु भएको सोलार सिस्टम लिफ्ट सिँचाइ योजनाले किसानहरूलाई वर्षमा तीन बालीसम्म उत्पादन गर्ने गराएको खत्रीको भनाइ छ । “नदीको छेउमा भए पनि सिँचाइको ठूलो समस्या थियो,” खत्रीले भने, “लिफ्ट सिँचाइ भएपछि दुई बाली मकै, धान, गहुँ लगाउने गरेका छौँ ।” व्यावसायिक रूपमा बेमौसमी तरकारी समेत उत्पादन भइरहेको उनले बताए ।
घोराही उपमहानगरपालिका–४ की रिखा घर्तीले गाउँमा जलाशय निर्माण हुँदा सिँचाइको दुःख टरेको बताइन् । पहिले आकाशे पानीबाट मात्रै सिँचाइ हुने गरेको भन्दै उनले अहिले जलाशय बन्दा वर्षभरि सिँचाइयुक्त जमिन भएको सुनाइन् ।
वर्षमा मुस्किलले दुई बाली लाग्ने जग्गामा जलाशयले सिँचाइ भएपछि जे फलाउन पनि सकिने उनी बताउँछिन् । “योजनाले हामीलाई धेरै खुसी बनाएको छ,” उनले भनिन् । दूधरासका विष्णुप्रसाद खुलालले जलाशयले सुक्खा बाँझोलाई सिँचाइ गरेको बताए ।
योजना निर्माणका केही नीतिगत समस्या रहेको र राज्यले गौरवको आयोजनाको रूपमा महत्व नदिँदा काममा समस्या परेको प्रमुख आचार्यले बताए ।
यसैबीच, आयोजनाबाट निर्माण भएका र निर्माणाधीन अवस्थाका आयोजनाको अनुगमन गरिएको छ । जिल्लाका सञ्चारकर्मीहरूको सहभागितामा जलाशय, लिफ्ट सिँचाइ, नहर, ट्यांकीलगायत अनुगमन गरिएको छ । कार्यालय प्रमुख राजु आचार्यको नेतृत्वमा अनुगमन गरिएको कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए ।