site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीप मेलाका निम्ति काठमाडौं महानगर र एनसेल फाउन्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । एनसेल फाउन्डेसनले ‘सीप मेला, २०८२’ का निम्ति काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ । काठमाडौं महानगरले आयोजना गरेको यो सबैभन्दा ठूलो सीप विकास कार्यक्रम हो ।

यसअन्तर्गत व्यावहारिक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउनेछ । जेठ २१ गते काठमाडौंको टुँडिखेलमा महानगर र एनसेलबीच सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।

Argakhachi Cement Island Ad

सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । एनसेलका तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

“एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं । सीप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवाहरूलाई व्यावहारिक सीपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,” एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर खड्काले भनिन् ।

यही जेठ ७ गतेदेखि सुरु सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा दुई हजार ४२४ जनालाई तालिम प्रदान गरिँदै छ । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसाका तालिम छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसाका तालिम छन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई पेसाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम छन् ।

हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चारण् पेसाका तालिम छन् । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन पेसाका तालिम सञ्चालित छन् । आर्ट एन्ड स्कप्चरमा थांका, सेरामिक्स (टेराकोटा) गरी दुई पेसाका तालिम दिइँदै छ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम सञ्चालित छ ।

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन)सम्बन्धी तालिम दिइँदै छ । स्टक मार्केटसम्बन्धी तालिम पनि दिइँदै छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्