site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’पछि कामले लियो गति

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ४८ प्रतिशत छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’पछि कामले गति लिएको हो ।

हाल ‘इन्भर्ट र लाइनिङ’को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छ । लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको उनले जानकारी दिइन् ।

बाइपास–१ मा इन्भर्ट र लाइनिङको काम भइरहेको छ । बाइपास–३ मा इन्भर्टको काम सुरु गरिएको उनले बताइन् । बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ र लाइनिङको ११८ मिटर काम भइसकेको उनले उल्लेख गरिन् ।

Argakhachi Cement Island Ad

“बाइपास–२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । बाइपास–३ मा १३० मिटर छ, जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन्,” ज्ञवालीले भनिन् ।

यहाँ यथाशीघ्र भित्तामा कंक्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिइन् । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उनको भनाइ छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेनखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर लामो सुरुङमार्ग ०७९ सालदेखि निर्माण थालिएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ब्रेक थ्रु भइसकेको छ । ०८३ सालमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यो खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताइन् ।

पहिरोका कारण यसअघि क्षति व्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ब्रेक थ्रुपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्छन् ।

यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने आयोजनाले जनाएको छ ।

बजेट निश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरिन् । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो खण्डका निम्ति रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरिन् ।

सरकारले यो र नागढुंगा सुरुङमार्ग दुवैका निम्ति गरी दुई अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजनपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताए ।

उनले भने, “आर्थिक मन्दीका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमा नसकिने हो कि भन्ने लागेको थियो । सरकारले बजेटमा प्राथमिकता दिएर रकम विनियोजन गरेपछि हामी ढुक्क छौँ ।”

स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजना बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यो खण्डलाई प्राथमिकतामा राख्नु खुसीको विषय भएको बताए । सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने उनले विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्