काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मान स्वरूप कलाकारले बनाएको चित्र मेटाएकोप्रति आपत्ति जनाएको छ ।
बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरेर कोरोनाविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकार स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा बनाइएको चित्रलाई काठमाडौं महानगरले मेटाइदिएपछि विरोध गरेका हुन् ।
उनले महानगरसँग लिखित अनुमति लिएर बनाइएको चित्रको प्रशंसा गर्नुको सट्टा मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दाबी गरेको छन् ।
“काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?,” प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन् ।
महानगरले आफूसँग अनुमति नलिएर वडासँग लिएको भन्दै कलाकारले बनाएको भित्ते चित्रलाई मेटाएको थियो ।
विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति
असार १७, २०७८
‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान । ब्यवहार निन्दनीय ।
महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ।
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौको एक पर्खालमा निर्माण गरेका थिए । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ ।
अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग