site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिनेछ ।

“करिब दुई महिनाअघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ,” प्रजिअ निरौलाले भने, ‘‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी भोलि (आइतबार) छलफल गर्नेछौँ ।”

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरेका छन् ।

‘‘कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे केही छलफल भइसकेको छैन,” उनले भने, ‘‘सबै क्षेत्र एकैचोटि खुकुलो बनाएर मात्रै हुँदैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साता र अघिल्लो साताको संक्रमण उस्तै उस्तै छ । अब पछिल्लो साताको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ । पहिलाभन्दा खुकुलो होला ।”

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ । तर, यस विषयमा अन्य सरोकारवालासँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै भन्न नसकिने अधिकारीहरुको भनाइ छ ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro