काठमाडौं । निषेधाज्ञाका कारण सुस्ताएको धरहरा पुनर्निर्माणको काम अझै पाँच महिना पछि सरेको छ । निषेधाज्ञाका कारण पुनर्निर्माणको नरोकिए पनि सुस्ताएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निषेधाज्ञाको बेलामा थोरै जनशक्ति राखेर कामलाई निरन्तरता दिइएको जनाएको छ । युरोपेली युनियनको प्राविधिक सहयोग अन्तर्गत प्राधिकरणमा कार्यरत राजुमान मानन्धरले धरहरा पुनर्निर्माणको काम निषेधाज्ञामा पनि नरोकिएको जानकारी दिए । उनले निषेधाज्ञाका कारण कम जनशक्ति राखिएकाले काम सुस्ताएको बताए । उनका अनुसार अहिले सवारी साधन पार्किङ, वाल, लिफ्ट, संग्रहालय, सुन्धाराको काम भइरहेको छ ।
"अहिले टावरमाथि चढ्न जडान गरिएको लिफ्ट बन्दैछ । साथै सवारी पार्किङ, वाल लिफ्ट सङ्ग्रहालय, सुन्धाराको काम भइरहेको छ,” मानन्धरले भने ।
भिमसेन थापाले बनाएको भिमसेन स्तम्भका नामले चिनिने धरहरा २०७२ सालको भूकम्पमा ढलेको थियो । उक्त धरहरा क्षति भएको छेवैमा अर्को धरहराका टावर ठडिएको छ । नयाँ धरहरा पुनर्निर्माणका लागि २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसपछिदेखि पुनर्निर्माणको काम सुरु भएको थियो ।
गत वैशाख ११ गते प्रधानमन्त्री ओलीले पुनर्निर्माणको सबै काम पूरा नहुँदै धरहाराको उद्घाटन गरेका थिए । त्यतिबेला राम्रोसँग टावरको लिफ्टसमेत तयार भएको थिएन । जसलाई लिएर प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो ।
धरहराको टावर हेर्दा सबै काम सकिएको जस्तो देखिएपनि अझै धेरै काम गर्न बाँकी छ । प्राधिकरणका अनुसार पुनर्निमाणको सबै काम सकिने अझै पाँच महिना लाग्ने छ । प्राधिकरणका कार्यरत मानन्धरले अहिले टावरका काम सकिएर बल्ल लिफ्ट बनिरहेको बताए । सात ओटा लिफ्टमध्ये अहिले दोस्रो लिफ्ट हाल्ने काम भइरहेको मानन्धरको भनाइ छ ।
प्राधिकरणका अनुसार निषेधाज्ञाकैबिच ८० जना कामदारहरू पुनर्निर्माणमा खटाइएको छ । ‘‘धरहरा पुनर्निर्माणको सबै काम आउँदो मंसिरसम्म सकाउने लक्ष्यका साथ काम अघि बढिरहेको छ,” मानन्धरले भने, ‘‘पूर्ण रूपमा स्वास्थ्य प्रोटोकल अपनाएका कामदारहरूले निरन्तर काम गरिरहेका छन् । निषेधाज्ञाका कारण भनेजति काम गर्न नसकिएको अवस्था छ । यद्यपि निषेधाज्ञाका कारण मारमा परेका निर्माण व्यवसायीलाई सरकारले थप ६ महिना म्याद थपिसकेको छ । त्यसैले निर्माण व्यवसायीसँग अझै समय छ ।”
२०७३ सालमा धरहरा पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण र जीआईईटीसी रमन जेभी निर्माण कम्पनीबीच सम्झौता भएको थियो । धरहरा पुनर्निर्माण गर्न सम्झौता भएपनि दुई वर्षसम्मको विवादले पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । दुई वर्षपछि विवाद सुल्झिदा काम सुरु भएको थियो ।
यद्यपि गत वर्ष नै पुनर्निर्माणको काम सकिनुपर्ने थियो । तर निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै म्याद थप गर्न माग गरेको थियो । पुरानो सम्झौता बमोजिम निर्माण कम्पनीले समयमै काम नसकाउँदा म्याद थप गरियो । पछिल्लो थप भएको म्याद यही असारमा सकिँदैछ ।
निषेधाज्ञाका कारण मारमा परेका निमार्ण व्यवसायीलाई सरकारले अझै थप छ महिना म्याद थपिसकेको छ । त्यसैले सम्झौता अवधि सकिएपनि पछिल्लो समय थप गरिएको समय बाँकी नै रहेको निर्माण व्यवसायीको भनाइ छ ।
४२.२ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा ठडिएको छ । अहिले बनिरहेको संग्रहालयमा ०७२ सालमा गएको भूकम्पको झल्को देखाउनेगरी पुनर्निर्माण भइरहेको प्राधिकरणको भनाइ छ ।
निर्माण कम्पनीले पुरानो ठेक्का सम्झौता बमोजिम २०७७ असोज महिनाभित्रमा काम सकाउनुपर्ने थियो । पहिलो चरणको कोरोना महामारीका कारण केही समय काम रोकिएको थियो ।
पछि प्राधिकरणले २०७८ असार १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो । निर्माण कम्पनीले कोरोनाको समय काम गर्न नपाएकोे भन्दै २१ महिनाको म्याद थप गर्न माग गरेको थियो । पछि प्राधिकरणले ९ महिना अवधि थपेको थियो । अब आउँदो १६ गते उक्त समयावधि पनि सकिँदैछ ।
कम्पनीसँगको सम्झौता अनुसार कुल लागत ३ अर्ब ४८ करोड रहेको छ । प्राधिकरणका अनुसार सर्वसाधारणका लागि पुससम्ममा धरहरा खुला गरिने छ ।