site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तुलसीपुर–घोराही चार लेन सडक : दुई वर्षमा ६ प्रतिशत प्रगति

दाङ । दाङको घोराही–तुलसीपुर चार लेन सडकखण्ड विस्तार अभियान कछुवा गतिमा भइरहेको छ । चार लेन सडकमा हालसम्म ६ प्रतिशत मात्र कार्यप्रगति देखिएको छ । समयमै काम नहुँदा सडकखण्ड जोखिमयुक्त बनेको छ । दुर्घटना बढेको छ ।

सडक विस्तारको काम तीन वर्षमा पूरा गरिसक्नुपर्ने सम्झौता छ । तर, दुई वर्षको अवधिमा कामको प्रगति ६.६ प्रतिशत मात्रै देखिएको चार लेन सडक स्तरोन्नति परियोजनाको कार्यालय लमहीले जनाएको छ ।

परियोजनाले यो अवधिमा कम्तीमा पनि ३० प्रतिशत कार्यप्रगतिको लक्ष्य लिएको थियो । “यो अवधिमा कम्तीमा ३० प्रतिशत कार्यप्रगति हुनुपर्ने थियो । तर, ६.६ प्रतिशत मात्रै कार्यप्रगति भएको देखिएको छ,” परियोजना कार्यालय लमहीका प्रमुख इन्जिनियर पारस हमालले भने “सबै कारणले यो निर्माण कम्पनी कारबाही गर्न लायक रहे पनि कोभिडका कारण जोगिँदै आएको छ ।”

सुरुको वर्षमा विद्युत् पोल सार्न ढिलाइ भएको बहाना बनाएको कम्पनीले अर्को वर्षदेखि ‘लकडाउन’लाई बहाना बनाएको थियो । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड रुपैयाँ मोबिलाइजेसन खर्चस्वरुप लिए पनि कार्यप्रगति सन्तोषजनक नभएकाले अघिल्लो वर्ष नै परियोजनाले पेनाल्टीस्वरुप बैंक ब्यालेन्सबाट रकम खिचेको थियो । तर, यसपटक भने परियोजनाले कार्यप्रगतिको बिल नै पेस नगरेको स्रोतले जानकारी दिएको छ ।

भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्टर प्रालिले पाएको छ । तर, उसले नेपालकै 'पेटी' ठेकेदारलाई काम सुम्पिएको छ । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युत्का पोल सार्न ढिलाइ भएको जनाएपछि पहिलोपटक ६ महिनाको म्याद थपिएको थियो । त्यसपछि लकडाउनको बहानामा फेरि तीन महिना म्याद थपियो । तर, निर्माण कम्पनीले विगत एक वर्षदेखि साइटमा काम नै गरेको छैन । काम ठप्प पारेको छ ।

आधिकारिक रुपमा तथ्य इन्जिनियरिङ देखिए पनि तुलसीपुरका प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले काम गराउँदै आएका थिए । अघिल्लो वर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट बाहिरिइसकेका छन् । त्यसपछि अनुप पाण्डेमार्फत काम भइरहेको परियोजनाका प्रमुख इन्जिनियर हमालले जानकारी दिए । अन्तर्राष्ट्रिय निर्माण कम्पनीले आधिकारिक रुपमा पेटी ठेक्का दिने प्रावधान भने छैन ।

घोराहीको कुइरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म र दूधरासदेखि हात्तीखौवासम्म चार लेन सडक स्तरोन्नतिका लागि करिब एक अर्ब ३६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको ३० महिनाभित्र काम सक्ने भनिए पनि निर्माणको काम सुरु हुन नै ६ महिना ढिला भएको थियो ।

“सम्झौता ३० महिनामा सक्ने भन्ने थियो । तर, केही समय पोल हटाउन समय लागेकाले ६ महिना थप भयो,” इन्जिनियर हमालले भने, “त्यसपछि कोभिडबापतको तीन महिना म्याद थपिएको छ । तर, योबीचमा पनि काम भने सबै तवरले अत्यन्तै सुस्त छ ।”

सरकारले हालै बजेट वक्तव्यमा फेरि म्याद थप्ने भनेकाले यो परियोजनाको निर्मााणकार्य अझै लम्बिने देखिएको छ । अन्यत्र निषेधाज्ञामा पनि काम भइरहेका छन् । सरकारले पनि विकास निर्माणका कामलाई नरोक्ने भनेको छ । तर, तुलसीपुर–घोराही चार लेन विस्तारको काम भने पेटी ठेक्का लिने व्यक्तिका कारण समयमै हुन नसकेको बताइन्छ ।

तथ्य इन्जिनियरिङ कम्पनीलाई पटक–पटक पत्राचार गरेपछि पछिल्लो समय उसले निषेधाज्ञा सकिएलगत्तै तदारुकताका साथ काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाले ठेक्का रद्दको प्रक्रिया रोकिएको बताइएको छ ।

निषेधाज्ञा सकिएको केही समयभित्रै काम सन्तोषजनक रुपमा सुरु नभए कारबाही प्रक्रिया पुनः अघि बढाइने परियोजनाले जनाएको छ । सोही परियोजनाअन्तर्गत दाङसहित भालुवाङ–वाग्दुला र चन्द्रौटा—कृष्णनगरमा पनि यस्तै मापदण्डको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

भालुवाङ–वाग्दुला सेक्टरमा काम सन्तोषजनक नभएको भन्दै निर्माण ठेक्का समेत रद्द गरिएको छ । चन्द्रौैटा–कृष्णनगरको काम भने दाङकोभन्दा सन्तोषजनक रहेको परियोजना प्रमुख हमालले जानकारी दिए ।

“सर्तअनुसार काम किन भएन भनेर स्पष्टीकरणसहित काम गर्न आउनू भन्ने पत्र लेखेका थियौँ,’ हमालले भने, “भारतको एक्जिम बैंकमा आएर कोभिड सहज भएलगत्तै काम गर्छु भनेर लेटर दिएको छ ।” उनले निषेधाज्ञा खुलेपछि पनि काम भएन भने ठेक्का तोड्ने प्रक्रिया तत्कालै सुरु हुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro