site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन

काठमाडौं । नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ । 

सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, संक्रमणको जोखिमबाट बचाउन महत्वपूर्ण माध्यम साबित भएको कोभिड–१९ विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन सरकारले पर्याप्त पहल गरेको देखिँदैन । यही अवस्थामा तेस्रो लहरको संक्रमण देखिए र संक्रमण फैलिने समयसम्म बढीभन्दा बढी नागरिकले खोप नपाए संक्रमणले ठूलो क्षति पुर्‍याउने आकलन विज्ञहरूले गरेका छन् ।

नेपालमा अहिलेसम्म कति खोप आयो ?

Dabur Nepal

नेपालमा पहिलोपटक भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । विश्व स्वास्थ्य संगठनको ग्लोबल भ्याक्सिन अलायन्स कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने २२ लाख ५६ हजार डोजमध्ये ३ लाख ४८ हजार डोज आइसकेको छ । चीन सरकारले नेपालाई दुईपटक गरी जम्मा १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ  । 

यसरी नेपालले चीन र भारतको अनुदानमा ३१ लाख ४८ हजार डोज खोप पाएको छ । नेपालमा हालसम्म भारतका दुई, चीनका दुई र रुसको एक गरी पाँचवटा खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेपनि खरिद गरेको खोप भने भारतबाट १० लाख डोजबाहेक अन्यत्रबाट आउन सकेको छैन । जसमध्ये असार १ गतेसम्म २४ लाख ३८ हजार १२७ जनाले पहिलो डोज र ६ लाख ९१ हजार ४९४ जनाले दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको कुल जनसंख्याको ७० प्रतिशत नागरिक खोप लगाउने सूचीमा छन् । यो हिसाबले अब १ करोड ७६ लाख १३ हजार नागरिक खोपको पर्खाइमा छन् । 

‘खोप नलगाउने सबै तेस्रो लहरको जोखिममा’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको कोभिड संक्रमण फैलिए त्यसबाट बालबालिका धेरै प्रभावित हुनसक्ने जनाइरहेको छ । १८ बर्षमुनिका बालबालिकाका लागि खोप उपलब्ध नभएकै कारण उनीहरू जोखिममा रहेको मन्त्रालयको तर्क छ ।

तर, वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सरकारको यो तर्कसँग सहमत छैनन् । “जबसम्म सबै नागरिकलाई खोप उपलब्ध हुँदैन तबसम्म उनीहरू सबै जोखिममा पर्ने वर्ग हुन् । बालबालिकाका लागि विश्वमा नै कम देशहरूले खोप दिइरहेको भएर उनीहरू अझै धेरै जोखिममा परे तर जतिपनि खोप नपाउने नागरिक छन् उनीहरू पनि कम जोखिममा छ्रैनन्,” डा. पुनको तर्क छ । 

‘खोप ल्याउन नेपालको हैसियत नै पुगेन’

विश्वबजारमा अहिले कोभिड–१९ विरुद्धको खोप सहज उपलब्ध छैन । खोप उत्पादक मुलुकहरूले अन्य देशमा निर्यातभन्दा आफ्नै नागरिकलाई प्राथमिकतामा राखेका छन् । यो अवस्थामा नेपालले खरिद गरिसकेको खोप पनि ल्याउन सकिरहेको छैन । विभिन्न दातृ निकायहरूमार्फत् खोप दिन पहल गरिरहेको स्वास्थ्य सेवा विभागले जनाउँदै आएको छ । 

तर ती दातृ निकाय र खोप उपलब्ध गराउनसक्ने मुलुकहरूसँग पनि नेपालको सहज पहुँच र बलियो कुटनीतिक सम्बन्ध नभएकै कारण नेपालले खोप नपाएको बुझाइ छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनिको । 

“अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, जसले यो अवस्थामा नेपाललाई खोप उपलब्ध गराउन सक्छन्, त्यस्ता निकायमा नेपालका प्रतिनिधि कमै छन् । यो कारणले गर्दा नेपालमा आउनसक्ने खोप पनि आइरहेको छैन ।” त्यस्तै पछिल्लो समय नेपालमा नेपालको परराष्ट्र मन्त्रालयको भूमिका पनि कमजोर भएको मरासिनीको बुझाइ छ । “अहिले खोप स्टक रहेका अमेरिका बेलायत लगायतका मुलुकहरूसँग नेपालको परराष्ट्र मन्त्रालयको निकटतम सम्बन्ध भएको भए खोप आउन सहज हुने थियो तर यी देशहरूसँग नेपालको कुटनीतिक हैसियत नै पुगेन जसले खोप आउन ढिलाइ हुनुमा महत्वपूर्ण अर्थ राख्दछ,” डा. मरासिनीको तर्क छ  ।

‘विना खोप इलेक्सन हुँदैन’

स्वास्थ्य सेवा विभागका पूर्व प्रमुख डा. राजेन्द्र पन्त कोभिड १९ विरुद्धको खोपलाई भोटसँग जोड्नाले लक्षित नागरिकले समयमा खोप नपाएको तर्क गर्छन् । उनी भन्छन्, “सरकारले जुनसुकै प्रयासले तेस्रो वेभ आउनुभन्दा अगाडि नै खोपको प्रवन्ध गर्नुपथ्र्यो । तर सरकार खोप ल्याउने समयमा आन्तरिक किचलोमा व्यस्त भयो । जुन नागरिकका लागि दुखद कुरा हो । निशुल्क वा सशुल्क जुनसुकै तवरले दिएपनि नागरिक खोप लगाउन तयार भइसक्दा पनि खोप आएन ।” डा. पन्त थप्छन्, “तत्कालै या केही समयपछि, जुनसुकै समयमा चुनाव हुने भयो भनेपनि सरकारले खोप ल्याउँछ । हेरिराख्नुस्, चुनाव अगाडि भोटकै लागि पनि नेपालीलाई खोप दिइन्छ । विना खोप इलेक्सन हुँदैन ।” नागरिकले पनि त्यसका लागि आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

‘खोप ल्याउन हरेक तवरबाट प्रयास भएको छ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय खोप समन्वयको जिम्मा परराष्ट्र मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई दिएको छ । यसअघि पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ महिनाभित्रै ठूला देशहरूले नेपालका लागि खोप अनुदानको घोषणा गर्ने र त्यसको ब्रेक थ्रु हुने बताएका थिए । तर ज्ञवालीले नाम लिएका अमेरिका, बेलायत लगायत कुनैपनि राष्ट्रले अहिलेसम्म नेपाललाई यति र यही मितिमा खोप दिने भन्नेबारे अधिकारिक जानकारी दिएका छैनन् । 

स्वास्थ्य सेवा विभागले अस्ट्राजेनिकाको खोप खरिद गरेका तर प्रयोगमा नल्याएका मुलुकहरूलाई ती देशसँग स्टकमा रहेको खोप दिन पत्राचार गरेको थियो । तर ती मुलुकहरूबाट पनि हालसम्म कुनै अधिकारिक निर्णय नआएको विभागका परिवार कल्याण महाशखा प्रमुख डा. तारा पोख्रेल बताउँछन् । खोप उत्पादक मुलुक र कम्पनीसँग सबै तवरले पहल भइरहेको भएपनि तत्काल खोप आउने टुंगो भने नलागेको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रममार्फत् नेपालले पाउने थप खोपबारे भने जुन महिनाभित्रै टुंगो लाग्ने डा. पोख्रेलले बताए । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग फागुन पहिलो साता नै खरिद गरी भुक्तानी गरिसकेको खोप ल्याउन पनि पटकपटक पत्राचार गरिएकोमा सिरमले निर्यात खुला गर्नासाथ नेपाललाई खोप उपलब्ध गराउने जवाफ दिने गरेको डा. पोख्रेल बताउँछन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro