काठमाडौं । काठमाडौं महानगरपालिकाले (भोलि) असार ३ गते आगामी आथिर्क वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मंगलबार बसेको कार्यपालिका बैठकमा चालु आर्थिक वर्षको समीक्षा गर्दै आगामी वर्षको नीति प्रस्तावमाथि छलफल भएको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार बसेकोे बैठकमा विगतका वर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको थियो । यसैका आधारमा आगामी वर्षको नीति प्रस्ताव गरिने महानगरले जनाएको छ ।
कार्यपालिका सदस्यहरूबाट बुधबार बेलुकासम्म प्राप्त हुने सुझावलाई समेटेर वाार्षिक नीति तथा कार्यक्रमको प्रस्ताव महानगरको नवौँ नगरसभामा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले बताए । प्रस्तावमाथि नगर सभा सदस्यहरूले सुझाव दिने बताइएको छ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति तथा कार्यक्रमलाई पारित गर्ने छ ।
जैविक विविधता र सहरी हरियाली प्रवर्धन गर्ने
आगामी वर्षको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले जैविक विविधता र सहरी हरियाली प्रवर्धन गर्ने नीति ल्याउने भएको छ । सहरमा नासिँदै गएको हरियाली र जैविक विविधतालाई पुनस्र्थापना गर्न जरुरी रहेको भन्दै यस्तो नीति ल्याइने महानगरले जनाएको छ । यसका लागि महानगरपालि र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच मंगलबार सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा भएको सम्झौतामा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र कोषकातर्फबाट सदस्य सचिव शरदचन्द्र अधिकारीले सहमति जनाउँदै हस्ताक्षण गरिसकेका छन् ।
काठमाडौँ उपत्यका खासगरी काठमाडौं महानगर क्षेत्रभित्रको विद्यमान सहरी हरियाली (पारिस्थितिकीय प्रणाली) र जैविक विविधताको विद्यमान अवस्थालाई सुधार गरेर पुनस्र्थापना गराउने सम्झौता बमोजिमको मुख्य काम हो । महानगरले निर्माण थालनी गरेको पार्क, वन तथा नदी किनारा र सार्वजनिक स्थानमा गरिएको हरियालीलाई व्यवस्थित र वैज्ञानिक विकास गर्न आवश्यक पर्ने नीति, रणनीति तथा कार्य योजना बनाउने र ती नीतिगत व्यवस्थालाई कार्यान्वयन गराउन सम्झौता बमोजिम काम गरिने नीति ल्याइने भनिएको छ ।
यस्ता क्षेत्रको संरक्षण, सम्बद्र्धन र सम्भावित सार्वजनिक उद्यान सम्बन्धी विस्तृत योजना तयार पार्ने र थालिएका कामलाई दिगो बनाउन महानगरको संस्थागत क्षमता बढाउने काम पनि सँगै गरिने योजना छ ।
यसअघि पार्क निर्माण, वृक्षारोपण तथा हरियाली प्रवद्र्धनमा गरिएका प्रयासलाई सहकार्यले विकास गर्न सघाउने महानगरका मेयर शाक्यको भनाइ छ । ‘‘आगामी वर्षको नीति तथा कार्यक्रममा विगतका कमजोरी सुधार गरिनेछ । आगामी कार्यक्रमलाई वैज्ञानिक तथा व्यवस्थित बनाउन सहकार्य प्रभावकारी हुनेछ,” मेयर शाक्यले भने ।
कोषका सदस्य सचिव अधिकारीले सहरीकरणका कारण काठमाडौंको परम्परागत र रैथाने जैविक विविधता र हरियालीको प्रणालीमा ठूलो असर गरेको बताए । ‘‘विकास भन्नेबित्तिकै पूर्वाधारलाई मात्र प्राथमिकता दिइने गरेकोमा काठमाडौं महानगरले प्राकृतिक वातावरण जोगाउने कामलाई मनन गरेर हामीसँग सम्झौता गरेको छ । यसलाई हामीले बिग्रिएको अवस्था सुधार गर्ने ठूलो अवसरका रूपमा लिएका छौँ,” उनले भने । कोषसँग पटकपटकको बैठक र सहरको विद्यमान अवस्थाको विश्लेषण गरेपछि सहकार्यमा काम गर्ने निष्कर्षमा पुगिएको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।
प्रयोगशालासँगको सहकार्यमा काम गरिने
महानगरले सार्वजनिक प्रयोगशालासँगको सहकार्यमा काम गर्ने नीति ल्याइने जनाएको छ । यसका लागि नीति अध्ययन विश्लेषणका लागि काठमाडौ्र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरिएको मेयर शाक्यको भनाइ छ । यसका लागि मंगलबार महानगरको सभा गृहमा सम्झौता भइसकेको छ । सम्झौताबमोजिम विश्वविद्यालयले महानगरबाट यसअघि भएका नीतिगत प्रयासहरूको अध्ययन विश्लेषण गरेर आगामी नीति निर्माणमा सघाउने, शैक्षिक कार्यक्रमबाट संस्थागत विकास गर्ने काममा सहयोग गर्नेछ । यसैगरी विश्वविद्यालयका विद्यार्थीहरूलाई महानगरले पोलिसी इन्टर्नसिप, प्राक्टिकम वा क्यापस्टोनका माध्यमबाट क्षमता बढाउने सहयोग गर्नेछ ।
यसै गरी दुवै पक्ष मिलेर सुशासन, आर्थिक—सामाजिक समावेशिता लगायत विषयमा संयुक्त अध्ययन, अनुसन्धान, प्रकाशन गर्ने, गोष्ठी तथा सेमिनार आयोजना गर्ने काम हुनेछ । यसैगरी सार्वजनिक नीति प्रयोगशाला (पब्लिक पोलिसी ल्याब) सँगको सहकार्यमा पोलिसी आउटरिच सेन्टर स्थापना गरिनेछ ।
सहरी व्यवस्थापनमा सघाउन शैक्षिक तथा अनुसन्धानमा आधारित प्रतिष्ठित निकायसँग सम्बन्ध जोडेको मेयर शाक्यले बताएका छन् । ‘‘हामी आफ्नो क्षमताभन्दा बाहिरको काम गर्न त्यस कामका लागि संस्थागत क्षमता, संरचना, अनुभव र जनशक्ति भएका निकायसँग सहकार्य गर्ने नीतिअनुसार काम गरिरहेका छौँ ।” कोभिड महामारीका समयमा सरकारी र सामुदायिक अस्पतालहरूको क्षमता बढाउन गरिएको सहयोगको प्रसङ्ग उल्लेख गर्दै शाक्यले यसबाट अपेक्षित उपलब्धी प्राप्त भएको बताए ।
सहरी वस्तु तथा सेवामा देखिएका समस्या समाधान गरिने
काठमाडौं महानगरपालिकाले सहरी वस्तु तथा सेवामा देखिएका समस्या समाधान सम्बन्धी नीति ल्याइने जनाएको छ । सहरी समस्याहरूको प्रविधियुक्त समाधानका लागि महानगर र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भइसकेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
सम्झौताबमोजिम सहरी वस्तु तथा सेवामा देखिएका समस्याहरूको समाधानका विषय अध्ययन, अनुसन्धान तथा विकास गर्न प्रतिष्ठानमा सहरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना हुनेछ । महानगरभित्र सम्पन्न हुने विकास निर्माणको गुणस्तर परीक्षण, महामारीजस्ता समुदायस्तरका समस्या समाधान गर्न नवप्रवर्तनमा आधारित कार्यक्रममा युवाहरूको सहभागिता बढाउने, ज्ञान, सिप र प्रविधिको विकास प्रयोग तथा हस्तान्तरण गर्ने, विज्ञान पार्कको स्थापना, खाद्य हरियाली सहर विकासलगायत क्षेत्रमा दुई पक्षबीच सहकार्य हुनेछ ।
यस्तै अन्य नीति तथा कार्यक्रमका लागि महानगरमा निरन्तर गृहकार्य तथा छलफल भइरहेको छ ।