
काठमाडौं । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए ।
“रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,” उनले भने ।
रिमालका अनुसार, स्तरोन्नतिपछि होटल चारतारे स्तरीय हुनेछ । हाल कायम रहेको २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ । साथै, आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उनको भनाइ छ ।
“स्तरोन्नतिपछि ४२५ स्वायर फिटको ग्रान्ड डिलक्स रुम पनि निर्माण हुनेछ, जसमा बाथटबलगायतको सुविधा हुनेछ,” उनले भने ।
रिमालका अनुसार, स्तरोन्नतिपछि १०० जना अट्ने अल डे डाइनिङ हुनेछ । रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् । स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउनेछन् ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्रान्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् ।