
काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि मानिस घरभित्र मात्र बस्न बाध्य छन् । कतिपय कार्यालयका काम घरबाटै भइरहेको छ । तर, पुस्तकप्रेमीलाई भने निषेधाज्ञामा पनि केही मात्रामा राहत भएको छ ।
हामीकहाँ अनलाइन पुस्तक अर्डर गर्नेक्रम बढ्दो छ । ‘लकडाउन’का कारण अधिकांश क्षेत्र बन्द हुने भएपछि ई–पुस्तक र अडियो–पुस्तकको खोेजीमा पाठकहरु थिए । त्यसको केही हदसम्मको समाधान ‘थुप्रै डटकम’ले गरेको छ ।
साढे दुई वर्षयता पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको प्रवद्र्धनमा लागेको थुप्रै डटकमले पढ्न सकिने ई–पुस्तकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । थुप्रै डटकमको वेबसाइट र थुप्रै नामक मोबाइल एपबाट यस्ता पुस्तक खरिद गरी सुन्न सकिन्छ ।
अनलाइनबाट हार्डकपी (पुस्तक) अर्डर गरेअनुसार बेच्न सुरु गरेको यो एपले गत वर्ष लकडाउनमा ई–पुस्तक बेच्न सुरु गरेको थियो । विदेशी अंग्रेजी किताब डिजिटल संरचना (ई–भर्सन)मा पाइएता पनि नेपाली पुस्तक भने पाउन कठिन थियो । थुप्र्रैले चर्चित उपन्यास र गैरआख्यानका पुस्तकहरु ई–भर्सनमा ल्याएपछि हार्डकपीभन्दा सस्तोमा बेच्न सुरु गरेको छ ।
“उद्देश्य नै अनलाइनमा पढ्न रुचाउने पाठकको लागि बनाएको हो । उनीहरु जहाँ जसरी मन लाग्छ, त्यहाँ पढ्न सकून्,” थुप्रैका सहसंस्थापक दीपेश आचार्य भन्छन्, “धेरै किताब पनि बोक्नु परेन । विदेशमा हार्डकपी पु¥याउन नसक्ने अवस्थामा ई–पुस्तक उत्तम उपाय भएको छ ।”
उनले ई–पुस्तक र अडियो–पुस्तकको व्यावसायिकता खासै नभए पनि लेखक, प्रकाशक र वाचकले प्रतिलिपि अधिकारसहित आर्थिक अधिकार पाउन कानुनी रुपमा लैजान पहल गरेको बताए ।
विगतमा नेपाली पुस्तक सुन्न सीडी, रेडियो, युट्युबलगायत माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्याउने उपाए थिएन । थुप्रैले सुरु गरेको वास्तविक अडियो–पुस्तक (अडियोबुक)को परिकल्पना नेपालमा अडियोबुकको प्रवद्र्धनको लागि कोसेढुंगा साबित हुने आचार्य बताउँछन् । उनले भने, “यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ ।”
आचार्य अडियोबुकको उपभोक्ता बढ्दै गएको विश्वास गर्छन् । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेहरूका लागि अडियोबुक उपयुक्त हुने उनको भनाइ छ । भन्छन्, “सबै पाठकलाई पढ्न मन हुँदैन । कतिलाई सुन्न मनपर्ने हुन्छ । पुस्तकलाई सजिलै सुन्न मिल्ने अडियो भर्सनमा थुप्रैले यसपटक ल्याएको हो ।”
ई–पुस्तक हार्डकपीभन्दा पुस्तकानुसार ६० प्रतिशतसम्म सस्तो पर्ने बताइन्छ । अनलाइनमा किनेपछि तुरुन्त पढ्न पाइने र एकपटक किनेपछि सधैँभरि आफ्नै हुन्छ ।
धेरैजसो पुस्तकहरु लेखकको आफ्नै आवाजमा रेकर्ड गराइएको छ भने केही पुस्तक अरु व्यक्तिको आवाजमा रेकर्ड गराइएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवनकुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन् ।
युगकवि सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु भने रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा उपलब्ध छन् । हाललाई प्रतिअडियोबुक १०० रुपैयाँको हाराहारी पर्नेछ ।
स्वदेशी पाठकले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिङमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्प्युटरबाट सुन्न सकिनेछ । यात्राको बेला ब्लुटुथ वा एन्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी–साधनमा पनि अडियोबुक सुन्न सकिनेछ ।
भविष्यमा पुस्तकको स्वप्रकाशन गर्ने लक्ष्य लिएका आचार्य भन्छन्, “सबैको पुस्तक प्रकाशन हुँदैन । त्यसैले पुस्तकको स्वप्रकाशनको अवधारणा ल्याएका छौँ । वेबसाइटमै पुस्तकको पाण्डुलिपि पठाउन मिल्ने र छापेर बिक्री भएको लेखकलाई रोयल्टी दिने योजना छ । हेरौँ, यसका लागि लकडाउन कुर्न नपरोस् ।”