site stats
बाह्रखरी :: Baahrakhari
विशेष
तृष्णाहरुलाई खोइ खोप ?
फाइल तस्बिर ।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५, नामीनगरकी ज्येष्ठ नागरिक तृष्णा योगीले मंगलबार खोप लगाउन पाइनन् । गत फागुनमा पहिलो चरणमा सरकारले ज्येष्ठ नागरिकलाई खोप लगाउँदा उमेर नपुगेर लगाउन नपाएकी तृष्णाले अहिले भने उमेर बढी भएको बताइएपछि खोप केन्द्रबाट फर्कनुपर्‍यो ।

“मेरो जन्ममिति वि.सं. २०१३ सालको असार महिना हो । फागुनमा खोप लगाउन जाँदा ६५ वर्ष उमेर नपुगेको भनेर फर्काइयो, अहिले खोप लगाउन जाँदा ६४ वर्ष नाघिसकेको भनेर फर्काइयो,” उनले भनिन्, “हामीलाई खोप कहिले दिइनेछ ?”

तृष्णा त्यो उमेर समूहकी एक्ली नागरिक होइनन्, अर्का ज्येष्ठ नागरिक पनि त्यसरी नै फर्काइए । जिल्लाका विभिन्न पालिकाहरुमा गरी कम्तीमा १०० भन्दा बढी यस्ता नागरिकहरु खोप लिनबाट वञ्चित भएका छन् ।

Argakhachi Cement Island Ad

“सामान्य विवेकले समाधान हुने यो विषयमा सरोकारवाला पक्षले कानुनी र नीतिगत अड्चन देखाएर यो समूहका ज्येष्ठ नागरिकलाई खोपबाट वन्चित गराउनु दुर्भाग्यको अवस्था हो,” ज्येष्ठ नागरिक सरोकार केन्द्र तुलसीपुरका एक अधिकारीले भने । स्थानीय जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले तत्काल समन्वयकारी भूमिका खेलेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

गत फागुनमा ज्येष्ठ नागरिकलाई खोप लगाउँदा ६५ वर्षमाथिकालाई लगाइने भनिएको थियो । अहिले ६२ वर्षदेखि ६४ वर्षसम्मकालाई मात्र खोप लगाउने नीति लिइएको छ । तर, फागुनमा उमेर नपुगेर वञ्चित भएका तथा हाल उमेर बढी भएर वञ्चित नागरिकलाई भने कसरी सम्बोधन गर्ने भन्नेमा सरकारले स्पष्ट नीति सार्वजनिक गर्न नसक्दा यो समस्या भएको हो । सरकारको यही नीतिका कारण ज्येष्ठ नागरिकहरु खोप केन्द्रबाट फर्काइका छन् । जसलाई अधिकारकर्मीहरुले दुर्भाग्यपूर्ण भनेका छन् ।

दाङमा कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाइँदै छ । यहाँका १० स्थानीय तहका कुल ६ लाख ५५ हजार ७६१ नागरिकमध्ये पहिलो चरणमा ६२ देखि ६४ वर्ष उमेरका आठ हजार ४१० जनालाई खोप लगाइने जनाइएको छ ।

‘छुट उमेर समूहका सबैलाइ खोप’
व्यापक रुपमा नागरिक गुनासो आएपछि उक्त समस्या सामान्य प्राविधिक समस्या मात्र भएको भन्दै सरोकारवाला निकायका अधिकारीहरुले छुट उमेर समूहका सबै ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने बताएका छन् ।

“यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भइसकेको छ, फागुनमा ६५ वर्ष नपुगेका र अहिले ६४ वर्षमाथि उमेर पुगेका सबै ज्येष्ठ नागरिकहरुलाई खोप उपलब्ध गराइनेछ,” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भने । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि सो उमेर समूहका सबै नागरिकलाई खोप उपलब्ध हुने बताएका छन् । तथ्यांक संकलनपछि उनीहरुलाई खोप लगाइने अधिकारीहरुको भनाइ छ ।

फागुमा पहिलो डोज खोप लगाएका नागरिकले दोस्रो डोज कहिले पाउने भन्नेबारेमा भने अझै अन्योल छ । सरकारी अधिकारीहरुले खोप आएपछि उपलब्ध गराइने बताउँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्