site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञामा कागतीका बोटसँग रमाउँदै नेता थापा

दाङ । घरको उत्तरतिर तीन कठ्ठा जग्गामा कागतीको बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् ।

घोराही उपमहानगरपालिका-१७, गुलरिया निवासी राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा निषेधाज्ञाको यो समयमा कागती बगैँचामा रमाउँदै दिनहरु बिताइरहेका छन् । उनी भन्छन्, "फूल र फल लागेका कागती बगैँचामा टहल्दा आनन्द अनुभूति हुन्छ । शरीरमा एक किसिमको ऊर्जा र पुनर्ताजगी पैदा हुन्छ ।"

करिब पाँच वर्षपहिले नेता थापाले तीन कठ्ठा जग्गामा स्थानीय जातको बाह्रमासे कागतीका ५५ बिरुवा रोपेका थिए । तर, राजनीतिमा पूर्णकालीन भएको हुँदा उनले कागती खेतीमा खास समय दिन सकेनन् । समयमा सिँचाइ, मल, औषधि, गोडमेललगायत अन्य हेरचाह गर्न नसक्दा कागतीका बिरुवा अपेक्षाकृत सप्रन सकेका थिएनन् । त्यसमा पनि उनलाई सुरुमा कागती खेतीबारे राम्रो ज्ञान पनि थिएन ।

कोरोना कहरसँगै जब पहिलोपटक देशमा 'लकडाउन' भयो, जिल्लाबाहिर रहेका नेता थापा घर आए र कागतीका बिरुवा स्याहार्न थाले । थापा भन्छन्, "गत वर्षको लकडाउनमा बल्ल मैले कागतीका बिरुवा स्याहार्न पाएँ । मल र औषधि हालेर गोडमेल गरेँ । त्यसपछि बल्ल कागती सप्रिए ।"

वि.सं २०४६ पछि राजनीतिमा सक्रिय नेता थापा यो वर्षको निषेधाज्ञामा फेरि आफ्नो कार्यक्षेत्रबाट घर फर्किएका छन् र कागती खेतीको स्याहारमा जुटेका छन् ।

सुरुका वर्षहरुमा त्यति राम्रो नभएका कागतीका बोट अहिले रहरलाग्दा भएका छन् । प्रायः सबै बोटहरुमा फल लागेका छन् । कागतीको व्यावसायिक खेती गर्ने योजना विस्तारै मूर्त बन्दै गएकोमा उनी केही हदसम्म सन्तुष्ट देखिन्छन् । आफ्नो अनुभव र केही सोधखोजले नेता थापाले अब कागती खेतीबारे धेरै ज्ञान हासिल गरिसकेका छन् । कागती खेतीबारे अब उनमा थप जाँगर र उत्साह बढेको छ । उनी थप दुई कठ्ठामा कागती रोप्दै छन् ।

"खाल्डा खनेर तयार गरिसकेको छु । अब केही दिनमै बिरुवा रोप्ने तयारीमा छु," नेता थापाले भने । करिब १० वर्षअघि तत्कालीन कृषि विकास कार्यालय घोराहीमा व्यावसायिक खेतीबारे बुझ्न गएका उनलाई वागबानी अधिकृत टिकाराम चौधरीले कागती खेती गर्न सल्लाह दिएका थिए ।

अधिकृत चौधरीले कागती खेतीका लागि दाङको माटो उपयुक्त भएको र बजार पनि राम्रो भएको बताएपछि नेता थापाले कागती खेती गर्ने सोच बनाए । कागती खेती गर्ने सोच १० वर्षअघि बने पनि उनले त्यसको पाँच वर्षपछि मात्र कागती खेती सुरु गरे ।

कागतीमा फल लाग्न सुरु गरेपछि उत्साहित र आनन्दित भएका उनलाई कागती बगैँचाको स्वच्छ र मनोरम वातावरणले निषेधाज्ञाको सकस पनि बिर्साएको छ । उनी अचेल श्रीमती कृष्णा रानासहित कागतीका बोटहरुसँग रमाउँदै दिन बिताइरहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro